काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले तीज, दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै कृषि तथा साना तथा मझौला उद्यम (एसएमई) कर्जामा विशेष सुविधा सार्वजनिक गरेको छ । बैंकले कृषि, व्यवसाय तथा एसएमई क्षेत्रमा प्रवाह हुने विभिन्न प्रकारका कर्जामा आधार दरमा न्यूनतम ०.५० प्रतिशतसम्म प्रिमियम थप गरी कर्जा उपलब्ध गराउने जनाएको छ । त्यस्तै, कर्जा प्रवाहका क्रममा लाग्ने प्रशासनिक शुल्कमा २५ प्रतिशत छुट दिने व्यवस्था गरिएको बैंकले जनाएको छ ।
बैंकका अनुसार चाडपर्वको समयमा व्यवसाय विस्तार, उद्यम सञ्चालन तथा कार्यशील पुँजी व्यवस्थापनका लागि आवश्यक वित्तीय स्रोत जुटाउन यो योजनाले कृषि तथा साना तथा मझौला व्यवसायीलाई सहजता प्रदान गर्नेछ । योजनाअन्तर्गत कृषि तथा एसएमई व्यवसाय विस्तार, नयाँ उद्यम सञ्चालन, कार्यशील पुँजी व्यवस्थापनलगायतका प्रयोजनका लागि कर्जा लिन सकिनेछ । यसका साथै अन्य बैंक तथा वित्तीय संस्थाबाट लिएको कर्जा स्थानान्तरण गर्नसमेत यो सुविधा उपयोग गर्न सकिने बैंकले जनाएको छ ।
विशेष कर्जा सुविधा बैंकका देशभर रहेका १७६ वटै शाखाबाट उपलब्ध हुनेछ । इच्छुक ग्राहकले आफूलाई पायक पर्ने शाखामा सम्पर्क गरी कर्जाको प्रकार, लागू हुने ब्याजदर, आवश्यक कागजात तथा अन्य शर्तबारे जानकारी लिन सक्नेछन् । विशेष कर्जा योजना सीमित अवधिका लागि मात्र लागू हुने बैंकले जनाएको छ ।
नेपालपत्र संवाददाता