बुधबार, भाद्र ३ गते २०८३

नेपाल भाषा र नेपाली भाषाका प्रसिद्ध साहित्यकार श्रेष्ठकाे निधन


भाद्र ३, २०८३ बुधबार
नेपाल भाषा र नेपाली भाषाका प्रसिद्ध साहित्यकार   श्रेष्ठकाे निधन

काठमाण्डाै । नेपालका जन तथा राष्ट्र कबि एबं  वरिष्ठ साहित्यकार दुर्गालाल श्रेष्ठको ९३ वर्षको उमेरमा २०८३ गत भदौ १ गते (१७ अगस्ट २०२६) आइतबार राति बूढानीलकण्ठस्थित उहाँकै निवासमा निधन  भएकाे छ। उहाँको पुरानो निवास ठमेल नजिकै थियो । लामो समयदेखि उहाँ उपचाररत हुनुहुन्थ्यो।उहाँको निधनबाट देशले एकजना असल मृदुभाषी साहित्यकार र शिक्षासेवीलाई गुमाएको छ ।

देहाबसान भएका श्रेष्ठले विगत ६ दशकभन्दा बढी समयदेखि निरन्तर साहित्य सिर्जनामा योगदान पु¥याउदै  आउनु भएको थियो। नेपाल भाषा र नेपाली दुवै भाषामा उहाँका कविता, गीत र नाटकहरू अत्यन्त लोकप्रिय छन्। उहाँले रचना गर्नुभएको ’फूलको आँखामा फूलै संसार’ र ’सयथरी बाजा एउटै ताल’ अनि 'यो जितः नं देश यो तर जिं मखं जिगु देश गो' जस्ता  रचनाहरु कालजयी  छन्। उहाँले हरिबंश राय बच्चनको चर्चित कबिता 'मधुशाला' उही भाव र शैलीमा नेपाल भाषामा अनुबाद पनि गर्नु भएको थियो । 


 वि.सं. १९९२ साउनमा जन्मनुभएका साहित्यसेबी श्रेष्ठले लामो समय क्षेत्रपाटीस्थित कन्यामन्दिर विद्यालयमा अध्यापन गराएर शिक्षा क्षेत्रमा ठूलो योगदान पु¥याउनुभएको थियो ।नेपाल भाषा परिषद्ले उहाँलाई दुई दशकअघि ‘जनकवि’ को उपाधि प्रदान गरेको थियो। उहाँ मदन पुरस्कार गुठीको ‘जगदम्बा–श्री’ पुरस्कारबाट पनि सम्मानित हुनुहुन्थ्यो। उहाँको हस्तलेखन अत्यन्तै सुन्दर भएकोले  उहाँको सम्मानमा ‘दुर्गालाल फन्ट’ समेत प्रचलनमा ल्याइएको छ।