बुधबार, भाद्र ३ गते २०८३

हातेमालो साकोसकी व्यवस्थापक सापकोटालाई बागमती प्रदेशकै उत्कृष्ट व्यवस्थापकको रुपमा सम्मान


भाद्र २, २०८३ मंगलबार
हातेमालो साकोसकी व्यवस्थापक सापकोटालाई बागमती प्रदेशकै उत्कृष्ट व्यवस्थापकको रुपमा सम्मान

मकवानपुरको हेटौंडामा मुख्य कार्यालय रहेको हातेमालो बचत तथा ऋण सहकारी संस्थाकी व्यवस्थापक रमला कुमारी सापकोटा बागमती प्रदेशकै उत्कृष्ट व्यवस्थापकको रुपमा सम्मानित भएकी छिन् । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ(नेफ्स्कून) ले उनलाई बागमती प्रदेशकै उत्कृष्ट व्यवस्थापकको रुपमा सम्मानित गरेको हो । नेफ्स्कूनले ३९औं स्थापना दिवसको अवसरमा आयोजना गरेको एक कार्यक्रमकाबीच उनलाई सम्मान गरिएको थियो । 

२०६३ सालबाट सहकारी क्षेत्रमा प्रवेश गरेकी सापकोटाले सुरुका तीन बर्ष सञ्चालकको भूमिकामा रहेर काम गरिन् । त्यसपछि सोही संस्थाको कर्मचारी हुँदै हाल व्यवस्थापन प्रमुखको रुपमा काम गर्दै आएकी छिन् । उनले यो सम्मानले सहकारी क्षेत्रमा थप सक्रिय भएर लाग्न अभिप्रेरित गरेको बताइन् । आफ्नो सहकारी क्षेत्रप्रतिको लगाव र कामलाई नेफ्स्कूनले सम्मान गरेकोमा खुशीको सीमा नै नरहेको उनले प्रतिक्रिया दिइन् । संस्थागत सुशासन र सदस्यको हितको लागि काम गर्दै आएको कुरालाई यो सम्मानले प्रमाणित गरिदिएको र थप उर्जा मिलेको उनले सुनाइन् । 

हिजोको दिनमा सञ्चालकहरुले आफ्ना मान्छेलाई संस्थामा जागिर दिने र छनोट प्रक्रिया पनि सहज भएकाले  दक्ष र प्रतिस्पर्धी कर्मचारी सहकारीमा आउन नसकेको उनको भनाई छ । पछिल्लो समयमा भने नियामक निकायले समेत कर्मचारीको योग्यता र क्षमता तोकिदिएकाले सञ्चालकले सिधै कर्मचारी नियुक्त गर्न नसक्ने व्यवस्थापक सापकोटाले बताइन् । जसले गर्दा सहकारीमा काम गर्ने कर्मचारीको भविष्य उज्जवल देखेको र संस्थाहरुले समेत राम्रो सेवा सुविधा दिन थालेको सापकोटाले बताइन् । 

सहकारी बैंक भन्दा पनि फराकिलो क्षेत्र भएको र सहकारीमा आफ्नै सृजना र जोस जागँरले काम देखाउन सकिने उनको भनाई छ । समाजलाई अगाडि बढाउने उपयुक्त माध्यम सहकारी भएको र सीमित घेराभित्र मात्र बस्नु नपर्ने भएकाले समाज रुपान्तरणको सबैभन्दा राम्रो क्षेत्र सहकारी भएको उनको बुझाई छ । सहकारी व्यवसायसँगै समाज सेवा पनि भएको भन्दै उनले १६÷१७ बर्षदेखि राम्रो सम्भावना देखेर यही क्षेत्रमा काम गर्दै आएको प्रतिक्रिया दिइन् । सहकारी मार्फत् समाजलाई कसरी अगाडि बढाउने भनेर रचनात्मक तरिकाले काम गर्न सकिने भएकाले यो जागिर मात्र नभई सेवा समेत भएको उनको तर्क छ । ‘टोटल इफोर्ट’को ४० प्रतिशत पनि सहकारीमा खर्च नभएको भन्दै अझै शत्प्रतिशत इफोर्ट लगाउने हो भने परिणाम दिन सकिने उनको बुझाई छ । 

विगतमा सहकारी क्षेत्र भद्रगोलको अवस्था रहे पनि राष्ट्रिय सहकारी नियमन प्राधिकरणको स्थापनापछि यो क्षेत्र व्यवस्थित हुँदै गएको उनको भनाई छ । संस्थाले सदस्यलाई केन्द्रमा राखि सदस्यको सर्वोपरी हितका लागि काम गर्दै आएको र सोही अनुसार योजना बनाएर अगाडि बढेको उनले सुनाइन् । संस्था यस अघि पनि विभिन्न विधामा पुरस्कृत भएको, ५ हजार सदस्य पु¥याउने र संस्थाको आफ्नै भवन बनाउने योजना रहेको उनले जनाइन् । प्रविधि प्रयोगलाई उच्च प्राथमिकता दिई सदस्यको पहिलो रोजाईको संस्था बनाउन आफुहरु लागेको उनको भनाई छ ।

तीनै तहका सरकारले निर्देशन दिने गरेको भन्दै उनले बचत ऋण सहकारीलाई प्राधिकरणले मार्गदर्शन गरे उपयुक्त हुने धारणा राखिन् । मुलुकमा भएका सबै सहकारी समस्यामा छैनन् भन्नेसन्देश दिने गरी सरकारले काम गर्न उनको आग्रह छ । मुलुकको संविधानले अर्थतन्त्रको तीनमध्ये एउटा खम्बाको रुपमा सहकारीलाई लिएको र सोही अनुसार सहकारीको महत्वलाई बुझेर सहकारीमैत्री नीति निमार्ण गर्न उनको सुझाव छ । सबै सहकारीलाई एउटै डालोमा हालेर हेर्ने भन्दा पनि समुदायमा योगदान गरेका संस्थाहरुको संरक्षण गर्दै गलत गर्ने संस्थालाई कारवाही गरी यो क्षेत्रमा शुद्धिकरण ल्याउन उनको माग छ । सहकारी अभियान मर्न नदिने गरी ऐन नियमका साथै क्रार्यक्रम ल्याउन सके सहकारीले मुलुकको आर्थिक सामाजिक रुपान्तरण गर्न सक्ने उनको भनाई छ । 

गत असार मसान्तम्म संस्थाको शेयर पुँजी ६ करोड ७२ लाख, बचत संकलन ५९ करोड, ऋण लगानी ५८ करोड गरी कुल कारोबार ८० करोड पुगेको छ । संस्थामा ३ हजार १ सय सदस्य आवद्ध रहेका छन् भने एउटा सेवा केन्द्र स्थापना गरी सदस्यलाई सेवा प्रदान गर्दै आएको छ ।