कर्णालीमा निर्माण हुने ४२० मेगावाटको तिला–२ जलविद्युत् आयोजनाले निर्माणका लागि बैंकहरुले सयुक्त रुपमा लगानी भएका छन। आयोजना प्रवर्द्धक तिला पावर कम्पनीले बैंक तथा वित्तीय संस्थासँग वित्तीय व्यवस्थापन सम्झौता गरेसँगै ७० अर्ब ७ करोड रुपैयाँ लागतको आयोजना निर्माण अघि बढाउन बाटो खुलेको हो ।
आयोजनाको कुल लागतको ७५ प्रतिशत अर्थात् ५२ अर्ब ५५ करोड रुपैयाँ ऋणबाट र बाँकी २५ प्रतिशत अर्थात् १७ अर्ब ५२ करोड रुपैयाँ स्वपुँजीबाट जुटाइनेछ। एभरेस्ट बैंकको अगुवाइमा ऋण लगानी संरचना तयार गरिएको छ। सानिमा बैंक सहअगुवा तथा प्राइम कमर्सियल बैंक, एनआईसी एसिया बैंक र ग्लोबल आईएमई बैंक सह–अगुवा बैंकका रूपमा सहभागी छन्। सिद्धार्थ बैंक, नबिल बैंक, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, कृषि विकास बैंक, मुक्तिनाथ विकास बैंक र कामना सेवा विकास बैंक पनि आयोजनामा लगानी गर्ने बैंकका रूपमा रहेका छन्।
आयोजनाबाट वार्षिक २ हजार ३१८.७९ गिगावाट आवर विद्युत् उत्पादन गर्ने लक्ष्य छ। त्यसमध्ये सुक्खायामको उच्च मागको समयमा ४५१.०५ गिगावाट आवर, सोही मौसमको कम मागको समयमा २०५.४५ गिगावाट आवर र वर्षायाममा १ हजार ६६२.२९ गिगावाट आवर विद्युत् उत्पादन हुने प्रक्षेपण गरिएको छ। उत्पादित विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिनेछ। आयोजना निर्माण सुरु भएको चार वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
नेपालपत्र संवाददाता