काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) को ३९औँ स्थापना दिवसका अवसरमा बचत तथा ऋण सहकारी अभियानमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा योगदान पुर्याएका विभिन्न व्यक्ति, संस्था, संघ तथा कर्मचारीलाई विभिन्न विधामा सम्मान तथा पुरस्कार प्रदान गरिएको छ ।
बचत तथा ऋण अभियानको विकास, प्रवर्द्धन, संस्थागत सुदृढीकरण तथा अभियानमा पुर्याएको योगदानको कदरस्वरूप नेफ्स्कूनले विभिन्न विधामा सम्मान प्रदान गरेको हो । स्थापना दिवसका अवसरमा जीवनपर्यन्त उपलब्धिदेखि संस्थागत उत्कृष्टता, व्यवस्थापन, पत्रकारिता, प्रविधि तथा प्रदेशस्तरीय योगदानसम्मलाई समेटेर सम्मान तथा पुरस्कार प्रदान गरिएको छ ।
स्थापना दिवसका अवसरमा नेफ्स्कूनले संस्थापक अध्यक्ष पुरस्कारबाट दोलखाका एकीकृत फ्रेण्डसिप साकोसका अध्यक्ष भूमिराज खड्कालाई सम्मान गरेको छ । त्यसैगरी नेफ्स्कूनका पूर्वअध्यक्ष, पूर्वसल्लाहकार तथा सहकारी अभियानका अग्रणी व्यक्तित्व स्व। कैलाशभक्त प्रधानाङ्गलाई मरणोपरान्त नेफ्स्कून जीवनपर्यन्त उपलब्धि सम्मान प्रदान गरिएको छ । नेफ्स्कून विद्वत्ता सम्मानबाट डा. रुपा जोशी सम्मानित हुनुधएको छ भने अन्तर्राष्ट्रिय सहकारी क्षेत्रमा योगदान पु¥याउनु भएका भारतका सिक्ट्याबका निर्देशक डा.डी. रबीलाई नेफ्स्कून राइफाइसन क्रेडिट युनियन पुरस्कार प्रदान गरिएको छ ।
त्यस्तै नेफ्स्कून अग्रज व्यक्तित्व सम्मानबाट नेफ्स्कूनका पूर्वसञ्चालक तथा चिनारी साकोस काठमाडौंका न्हुच्छे नारायण श्रेष्ठ र नेफ्स्कूनका पूर्व लेखा सुपरिवेक्षण समिति सदस्य शुभद्रा देवी महतो सम्मानित भएका छन् । नेफ्स्कून सर्वोत्कृष्ट संघ सम्मान रौतहट जिल्ला बचत संघले प्राप्त गरेको छ । यसैगरी प्रदेशगत रूपमा उत्कृष्ट कार्यसम्पादन गर्ने जिल्ला बचत संघहरूलाई नेफ्स्कून संघ उत्प्रेरणा सम्मान प्रदान गरिएको छ । कोशी प्रदेशबाट झापा जिल्ला बचत संघ, मधेशबाट पर्सा जिल्ला बचत संघ, बागमतीबाट धादिङ जिल्ला बचत संघ, गण्डकीबाट स्याङ्जा जिल्ला बचत संघ, लुम्बिनीबाट नवलपरासी (पश्चिम) जिल्ला बचत संघ, कर्णालीबाट सुर्खेत जिल्ला बचत संघ र सुदूरपश्चिमबाट दार्चुला जिल्ला बचत संघ सम्मानित भएका छन् ।
त्यसैगरी नेफ्स्कून सर्वोत्कृष्ट व्यवस्थापक सम्मान धादिङको स्रोत परिचालन साकोसका व्यवस्थापन प्रमुख दयानिधी नेपालले प्राप्त गरेका छन् । त्यस्तै नेफ्स्कून सर्वोत्कृष्ट साकोस सम्मान नवलपुरको मध्यनेपाल साकोस तथा सर्वोत्कृष्ट साकोस सम्मान–राष्ट्रिय महिला मकवानपुरको महिला सेवा साकोसलाई प्रदान गरिएको छ । प्रदेशस्तरीय उत्कृष्ट संस्थातर्फ कोशी प्रदेशमा सुनसरीको गोरखा साकोस, मधेशमा बाराको पालनपोषण साकोस, बागमतीमा चितवनको सुरक्षित साकोस, गण्डकीमा नवलपुरको पौरखी साकोस, लुम्बिनीमा बर्दियाको किसान कमैया साकोस, कर्णालीमा सुर्खेतको शुभसेभिङ साकोस र सुदूरपश्चिममा कञ्चनपुरको कञ्चनझलारी साकोस सम्मानित भएका छन् ।
प्रदेशस्तरीय उत्कृष्ट व्यवस्थापकतर्फ कोशीबाट समसेवन साकोस, मोरङकी जर्मन कुमारी राई, मधेशबाट चन्द्रोदय साकोस, रौतहटका शुभ नारायण चौधरी, बागमतीबाट हातेमालो साकोस, मकवानपुरकी रमला कुमारी सापकोटा, गण्डकीबाट सार्दीखोला साकोस, कास्कीका गोबिन्दराज आचार्य, लुम्बिनीबाट लुम्बिनी साकोस (बुटवल), रुपन्देहीका बिनोद प्रताप जबरा, कर्णालीबाट भविष्य उज्जवल साकोस, सुर्खेतका बिनोद ओली तथा सुदूरपश्चिमबाट एकता साकोस, कञ्चनपुरकी चित्रकुमारी पाण्डे सम्मानित भएका छन् ।
त्यस्तै संघमा कार्यरत उत्कृष्ट कर्मचारी पुरस्कारबाट नेफ्स्कूनका व्यवसाय अधिकृत राजेन्द्र ढकाल सम्मानित भएका छन् । नेफ्स्कून पत्रकारिता पुरस्कार राजधानी दैनिकका पत्रकार अमृतनाथ तिमल्सिनालाई प्रदान गरिएको छ । प्रविधिको प्रभावकारी प्रयोग तथा सदस्य सेवामा उत्कृष्ट योगदान पु¥याएको भन्दै भक्तपुरको झझल्को साकोसलाई नेफ्स्कून उत्कृष्ट सेवा सञ्चालन प्रशंसा (प्रविधि) प्रदान गरिएको छ ।
नेपालपत्र संवाददाता