बुधबार, भाद्र ३ गते २०८३

अनावश्यक ग्यास मौज्दात राख्नेलाई कारबाही हुन्छः निगम


श्रावण २८, २०८३ बिहीबार
अनावश्यक ग्यास मौज्दात राख्नेलाई कारबाही हुन्छः निगम

नेपाल आयल निगमले खाना पकाउने ग्यासको कृत्रिम अभाव सिर्जना हुने गरी आवश्यकताभन्दा बढी सिलिन्डर मौज्दात राख्ने व्यावसायिक प्रतिष्ठानलाई कारबाही गर्ने जनाएको छ। निगमले  एक सूचना जारी गर्दै ३१ असारदेखि बजारमा १४.२ किलोका भरिएका ग्यास सिलिन्डर बिक्री–वितरण भइरहेको जनाएको छ।

साविकको तुलनामा करिब २० प्रतिशत बढी ग्यास आयात तथा वितरण भइरहे पनि उपभोक्ताले सहज रूपमा ग्यास नपाएको गुनासो बढेपछि बजार अनुगमन तीव्र बनाइएको निगमले जनाएको छ। निगमको द्रुत प्रतिकार्य डेस्कमा प्राप्त उजुरी तथा सूचनाका आधारमा गरिएको अनुगमनका क्रममा केही होटल, रेस्टुरेन्ट तथा पार्टी प्यालेसले आफ्नो आवश्यकताभन्दा बढी ग्यास सिलिन्डर मौज्दात राखेको पाइएको छ।

निगमले व्यावसायिक प्रतिष्ठानलाई आवश्यकताभन्दा बढी ग्यास मौज्दात नराख्न आग्रह गरेको छ। यसअघि नै बढी सिलिन्डर राखिएको भए तत्काल सम्बन्धित डिपोमार्फत सर्वसाधारण उपभोक्तालाई बिक्री–वितरण गर्नसमेत निगमले निर्देशन दिएको छ। निगमको निर्देशन अवज्ञा गरी ग्यास सिलिन्डर लुकाएर वा अनावश्यक रूपमा मौज्दात राखेको पाइए प्रचलित कानुनबमोजिम कडा कारबाही गरिने चेतावनी निगमले दिएको छ