बुधबार, भाद्र ३ गते २०८३

स्थिर सरकार र स्पष्ट नीतिबिनाको अर्थतन्त्रमा लगानी आउँदैन : पाण्डे


श्रावण २६, २०८३ मंगलबार
स्थिर सरकार र स्पष्ट नीतिबिनाको अर्थतन्त्रमा लगानी आउँदैन : पाण्डे

 नेपाल उद्योग परिसंघ (सीएनआई) का अध्यक्ष वीरेन्द्रराज पाण्डेले स्थिर सरकार, स्थिर प्रशासनिक संयन्त्र र स्पष्ट नीतिबिनाको अर्थतन्त्रमा पर्याप्त लगानी आकर्षित गर्न कठिन हुने बताएका छन् ।

नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले आयोजना गरेको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ को उद्घाटन समारोहमा बोल्दै उनले लगानीकर्ताको विश्वास जित्न नीतिगत स्थिरता र सुशासन अपरिहार्य रहेको बताए ।

पाण्डेका अनुसार नेपालले विगतका आर्थिक चुनौती र अनुभवबाट पाठ सिक्दै अब लगानीमैत्री वातावरण निर्माणलाई प्राथमिकता दिनुपर्छ । सरकार परिवर्तनसँगै नीति, प्राथमिकता र कार्यान्वयनका ढाँचामा हुने परिवर्तनले लगानीकर्तामा अन्योल सिर्जना गर्ने भएकाले दीर्घकालीन र पूर्वानुमान गर्न सकिने नीतिको खाँचो रहेको उनले बताए ।

‘निजी क्षेत्रले लगानी गर्दा दीर्घकालीन योजना बनाउँछ। तर सरकार फेरिँदा नीति फेरिने र प्राथमिकता बदलिने अवस्था रहिरहँदा लगानीकर्ताले भविष्यप्रति विश्वास गर्न सक्दैनन,‘ उनले भने । उनले कानुनी सुधार, पारदर्शिता र सुशासनमार्फत निजी क्षेत्रलाई लगानीका लागि प्रोत्साहित गर्नुपर्ने बताए । निजी क्षेत्रले वर्तमान सरकारबाट स्पष्ट नीति, प्रभावकारी कार्यान्वयन र व्यवसायमैत्री वातावरणको अपेक्षा गरेको उनको भनाइ छ ।

पाण्डेले नेपालको सबैभन्दा ठूलो शक्ति युवा जनशक्ति भएको उल्लेख गर्दै ठूलो संख्यामा युवा रोजगारीका लागि विदेशिनु अर्थतन्त्रका लागि चुनौतीपूर्ण अवस्था भएको बताए । स्वदेशमै उद्योग, पर्यटन, हरित प्रविधि, अनुसन्धान तथा मोबिलिटी क्षेत्रका सेवामा लगानी बढाउन सके रोजगारीका पर्याप्त अवसर सिर्जना गर्न सकिने उनको धारणा छ ।