हरेक बर्ष अगष्ट महिना आउने बित्तिकै यस महिनाको ६ तारिक र ९ तारिक ती जापानमाथि अमेरिकाले खसालेका दुइ शक्तिशाली प्रलयकारी परमाणु बम र त्यसले मच्चाएको बिध्वंश र जनधनको अपूर्ब क्षतिको भयावह तस्वीर मानिसहरुको मन मस्तिष्कमा तरंगित हुन थाल्दछ । अनि आज बिश्वका शक्तिशाली देशहरुमा बढ्दो संख्यामा थुप्रिएको या खलियो लागेको परमाणु हात हतियारको बारेमा बिश्वभरी नै बिचार बिमर्श र चिन्ता ब्यक्त गरिने कर्मकाण्ड बढ्दो हात हातियारको उत्पादन, बितरण र दुरुपयोग बारे चर्चा परिचर्चा चल्ने चलाइने गरिन्छ । जापानको मुटु नै थर्काउने लाखौं मानिसहरुलाई हावामा उडिरहको कहालीलाग्दो धुवाँमा परिणत गर्ने त्यो नृशंश अपराध भएको दिनको औपचारिक बार्षिक चासो र चिन्ताको दिनकोरुपमा ‘हिरोशिमा दिवस’ कार्यक्रम आयोजन गरिन्छ र त्योसकिन्छ । अनि अर्को बर्ष पुनः त्यही प्रकृया दोहोरिने क्रम १९४५ देखि अहिलेसम्म चलिआएकै छ ।
हुन पनि मानब सभ्यताको इतिहासमा ‘६ अगष्ट १९४५’ हृदय बिदारक त्यो बिनाशारी दिन शायदै कसैले बिर्सेको होला । हुन त दोश्रो बिश्वको बेला जर्मनी, इटाली र जापानको फाशिष्ट धूरी खडा गरेर युद्धमा घोर अत्याचार नमच्चाएको होइन । निर्दोष किशोरीहरुलाई यौनदासी नबनाएको होइन, सर्ब साधारण जनतामाथि घोर अत्याचार नमच्चाएको पनि होइन । तर जतिबेला अमेरिकाले जापानमाथि हमला गर्यो ६ अगष्टमा त्योभन्दा अगाडि नै जापानले सबै युद्ध मोर्चामा हार स्वीकार गरेर पछ हटिसकेको थियो ।जापानी सेनालाई उसले युद्ध बन्दीकोरुपमा पक्रिन सक्थ्यो । बिभिन्न प्रतिबन्ध लगाउन सक्थ्यो ।तर एटम बम नै जापानको दुइटा घना जनसंख्या भएका शहरहरु हिरोशिमा र नागाशाकीमा खसाल्यो त्यो बिश्वमै घोर अमानबीय र त्रासद तथा बिध्वंशकारी घटना थियो ।

अनि हरेक बर्ष जब अगष्ट महिनाको ६ तारिक आउने गर्छ त्यतिबेला पुनः परमाणु हत्यारको बढ्दो संख्याका बारेमा बिश्व मञ्चहरुमा बिचार बिमर्श चल्ने पनि गर्दछ । त्यस क्रममा जापानको मुटु नै हल्लाउने त्यो बिभत्स र बिश्वभरीकै मानिसहरुको मनमा त्यो कहालीलाग्दो घटनाको स्मरण हुने गर्दछ । अनि परमाणु हतियार घटाउने, कुराकानी पनि चल्ने गर्दछ । अनि हिरोशिमा दिवसकोरुपमा हरेक बर्ष ६ अगष्टका दिन मनाउने र अब यस्तो घटना दोहोरिन नदिने परमाणु बम भएका शक्ति राष्ट्रहरुले यो त्राद घटना नदोर्याउने संकल्प पनि गर्ने गर्दछन् । हिंसा र त्रासदीको धम्कीलाई छोडेर भाइचारा अपनाउने र शान्तिको बाटोमा चल्ने संकल्प पनि गर्ने गर्छन् ।
निश्चय नै यो अमेरिकाले जापानका दुइ शहर –हिरोशिमा र नागाशाकीमा परमाणु बम खसालिएको कालो दिनलाई मानिसहरुले एउटा बिर्सिन नसकिने कालो अध्यायकोरुपमा त्यसबेलासम्म यसलाई सम्झना गर्ने छन् जबसम्म यस धरतीमा मानिसले बास गरिरहन्छन् । अनि जापानको अस्तित्व रहेसम्म अमेरिकाले माफी माग्नु पर्ने कुरा पनि उठाइरहने छ । हिरोशिमामा ६ अगष्टका दिन खसालिएको परमाणु बमलाई अमेरिकाका पूर्ब राष्ट्रपति फ्रेंकलिन डेलाना रुजवेल्टको सन्दर्भमा ‘लिटिल ब्वाय’ र नागशाकीमा ९ अगष्टका दिन खसालिएको परमाणु बमलाई तत्कालीन बृटिश प्रधानमन्त्री विस्टन चर्चिलको सन्दर्भमा ‘फ्याट म्यान’ संज्ञा दिएर मानब त्रासदी र क्रूरतामा पनि ठूलो घमण्ड गरिएको थियो । आज जापानमाथि बम खसालिएको ८१ बर्ष पुगिसकेको छ । तर अझै पनि बिश्व महाप्रलयकारी परमाणु शस्त्रास्त्रका होडबाजी चल्न छोडेको छैन ।
त्यस घटनाबाट अमेरिकाको नेतृत्वले कुनै पाठ सिकेको देखिएको छैन । कम्तिमा २ लाख ५० हजार मानिसको एकै चिहान बनाएको त्यस घटनयता पनि अमेरिकाले परमाणु धम्कीको त्रास फैलाउन छोडेको छैन । उसैसँग अहिले पनि सबैभन्दा बढी परमाणु अस्त्रशस्त्र रहेको तथ्यांक छ । त्यसैले अमेरिकाले त्यसपछि भियतनाममा नापाम बम खसाल्यो । अफगानिस्तानलाई तहस नहस पारेर छोड्यो । क्यूबालाई ६० बर्षदेखि नाकाबन्धी लगाइरहेको छ । ईराक, लिबिया, यमन, सीरिया सबै देशमाथि बिध्वंश मच्चायो । पछिल्लो समय भनेजुएलामा आतंक मच्चाएर त्यहाँका राष्ट्रपति दम्पतिलाई अपहरण गरेर अमेरिकामा झूटा मुद्दामा थुनामा राखेको छ । इज्रायलाई आडधाप दिएर प्यालेस्टिनहरुममाथि बर्षौबर्षदेखि अन्यायपूर्ण युद्ध थोपरिरहेको छ ।अनि पछिल्लो समय अहिले इरानमाथि हमला गरेर त्यहाँका सर्बोच्च नेता अली खोमेनाई लगायत परिबारका सदस्य समेत अन्य नेताहरुको हत्या गरेर थोपरेको युद्ध चलिरहेको छ । यसरी बिश्वका यी अनेक राष्ट्रमाथि दख्खल हस्तक्षेप गर्ने र त्यहाँका श्रोत साधनहरु कब्जा गर्ने कुम्ल्याउने गर्न छाडेको छैन । त्यो सबै परमाणु शस्त्रास्त्रकै तुजुक र दादागिरी हो भनेमा कुनै फरक पर्दैन । वास्तवमा आजको संसार परमाणु शस्त्रास्त्रको थुप्रोमाथि बसेको छ र कुनै पनि बेला त्यो बिध्वंशको शिकार हुन जाने बिनाशकारी खतराको स्थिति बिश्वमा बिद्यमान छ ।

हुन पनि बिश्वमा परमाणु शस्त्रास्त्रको यो जुन बिध्वंशकारी होड चलिरहेको आजको यो त्रासपूर्ण स्थितिबाट संसारलाई मुक्त गर्न र मानब सभ्यतालाई बचाउन तथा कुनै पनि अन्यायपूर्ण युद्ध हुन नदिन बिश्वमा पूँजीवादको अन्त्य र समाजबादको पुनरोदय हुनु अनिवार्य र अबश्यंभावी छ । बिश्वको भबिष्य र शान्ति पूँजीवादमा छैन केवल समाजबादमा मात्र छ भन्ने कुरा झनपछि झन प्रष्ट हुँदै गएको छ । यही एक बिकल्पले मात्र बिश्वलाई आशा र भरोसाको त्राण दिइरहेको छ । बिश्व शान्ति र सखद तथा सुरक्षित भबिष्यको यो बाटो हिड्न अग्रसर भएमा मात्र मानब सभ्यताको इतिहास कायम रहने नत्र सकिने संघारमा पुगेको आज टड्कारोरुपमा प्रतीत भइरहेको छ ।
तथर्स अपूर्ब त्रासद आणबिक बमको शिकार बनाइएका ‘हिरोशिमा’ र ‘नागशाकी’ का अप्रिय, अमानबीय र अकल्पनीय घटना पुनः बिश्वमा दोहोरिन नदिन बिश्वभरीमा मानिसहरु एकजुट भएर बिश्व शान्ति र बिश्व भबिष्यको सही बाटो पहिल्याउन राजनीतिक, आर्थिक, सामाजिक तथा साँस्कृतिक चौतर्फी रुपमा पहिले कहिल्यभन्दा बढी सजगताकासाथ संगठित भएर संघर्षशील आवाज उठाउन पर्ने आजको सर्बोपरी बिश्व आवश्यकता बनेको छ । परमाणु हतियारको प्रलयकारी त्रासबाट त्राण पाउने मूलबाटो यही हो । अरु कुनै बनी बनाउ बिकल्प बिश्वका सामुमा छैन र हुन पनि सक्दैन । आज बिश्व शान्ति चाहने सबैले हिरोशिमा र नागाशाकीबाट यही शिक्षा लिनु पर्दछ ।