काठमाण्डाै । देशका जिम्मेवार तीन प्रगतिशील किसान संगठनहरुले लघुबित्त शाेषण बिरुद्ध संघर्ष गरिरहेका पीडित किसानहरुको आन्दोलनप्रति दृढ ऐक्यबद्धता जनाउँदै आज माइतिघर मण्डलामा संघर्षरत किसानहरुलाई ऐक्यबद्धता पत्र हस्तान्तरण गरे ।
अखिल नेपाल किसान महासंघ (अप्फा)का अध्यक्ष भैरबराज रेग्मी, क्रान्तिकारी किसान माहासंघ, नेपालका अध्यक्ष सीताराम तामाङ्ग तथा अखिल नेपाल प्रगतिशील किसान संघका अध्यक्ष रामदुलार महतोले हस्ताक्षर गरेको ऐक्यबद्धता पत्रमा पटक पटक राजनीतिक परिबर्तन भएर एकपछि अर्को सरकार बन्दा पनि नेपाली किसानका भूमिसम्वन्धि आधारभुत समस्या हल नभएको र जमिनको स्वामित्व खास जोताहा किसान पाउने गरी क्रान्तिकारी किसान–मैत्री भूमिसुधार नभएकोले गर्दा बिभिन्न किसिमले किसान ऋणमा फस्ने र भएको जग्गा जमिन पनि गुम्ने दुष्चक्रमा पर्ने स्थिति बिद्यामान रहेको औल्याइए ।
ऐक्यबद्धता जनाउने संक्षिप्त कार्यक्रममा बोल्ने क्रममा किसान नेता भैरब रेग्मीले सशक्त र एकीकृत किसान आन्दोलन बिना किसानका समस्या हल नहुने कुरा प्रष्ट पार्दै हिजोका सरकारले पनि कुनै किसान–मैत्री कदम चालेर किसानको हितमा काम गरेनन् । किसान केन्द्रिय संघर्ष समितिले दिएको ६५ बुँदे किसानको माग पत्र पनि दराजमा थन्क्याए । बर्तमान सरकारले त झन सत्तासीन हुने बित्तिकै बिना बिकल्प सुकुम्बासी बस्तीमाथि डोजर आतंक मच्चाएर उनीहरुको उठीबास र बिचल्ली पार्ने क्रूर र अमानबीय कदम चाल्यो । किसान बिरोधी राज्य सत्ता र सरकारका बिरुद्ध किसानहरुको न्यायपूर्ण आन्दोलन अघि बढाउनु पर्ने कुरामा जोड दिदै उनले तीन किसान संगठनको एैक्यबद्धता पत्र लघुबित्त पीडित संघर्ष समितिका अध्यक्ष रमेश सेञ्चुरी र महासचिव दामोदर ढकाललाई हस्तान्तरण गरे ।
त्यस कार्यक्रममा बोल्दै नेपाल कम्युनिष्ट पार्टीका संयोजक लोकनारायण सुबेदीले लघुबित्त शोषण पीडित, मिटरब्याज पीडित, सहकारी ठगी पीडित किसानहरुका जायज र न्यायपूर्ण आन्दोलनप्रति कम्युनिष्ट पार्टीको सक्रिय समर्थन रहने र आन्दोलनलाई कमजोर पार्ने र बिभाजिन गर्ने षडयन्त्र बिरुद्ध सावधान हुनु पर्ने कुरा औंल्याउदै सबैलाई पाल्ने र जीवन बचाउने जीवनदायिनी शक्ति नेपाली किसानलाई कुनै पनि सरकारले वास्ता नगरेको र केवल टालटुले कुरा गरेर अल्मल्याएको तथा भोटर बनाउने काम मात्र गरेर किसानका समस्यालाई उपेक्षा गर्ने गरेको छ । यसमा हिजो र आजको सरकारको किसानप्रतिको रबैया एकै रहेको प्रष्ट पार्दै बर्तमान सरकार किसान समस्यलाई दमनद्वारा दबाउन अग्रसर रहेको औंल्याए । उनले किसानका समस्या हल नभइकन नेपालका राष्ट्रिय स्वाधीनता, जनतन्त्र र जनजीबिकाका समस्या पनि हल हुदैनन्, जीवनदायिनी शक्ति किासनको भबिष्य पनि सुरक्षित र सुनिश्चित हुन सक्तैन । त्यसैल सशक्त र संयुक्त किासन आन्दोलन आजको ज्वलन्त राष्ट्रिय आबश्यकता बनेको उल्लेख गर्दै यस दिशामा अग्रसर हुन सबैलाई आग्रह गरे ।

क्रान्तिकारी किसान महासंघ नेपालका महासचिव धनेश्वर पोखरेलले पनि किसानका समस्या समाधान नभई शोषित पीडित मजदुर किसान अर्थात श्रमजीबी जनताका कुनै पनि राष्ट्रिय समस्या हल नहुने यथार्थ वास्तबिकताप्रति सहमति जनाउदैन किसानका सबै तह र तप्काका समस्याहरु एकीकृत गरेर राष्ट्रब्यापी आन्दोलनेको सृष्टि गर्नुको कुनै बिकल्प छैन भन्ने कुरा जोडदाररुपमा ब्यक्त गरे ।
लघुबित्त पीडित किसान मजदुर संघर्ष समितिका महासचिव दामोदर ढकालले सञ्चालन गरेको कार्यक्रममा ऐक्यबद्धता जनाउन उपस्थित तीन किसान संगठनबम सहभागी नेताहरुप्रति आभार प्रकट गर्दै त्यस संघर्ष समितिका अध्यक्ष रमेश सेञ्चुरीले आफ्ना जायज माग पूरा नभएसम्म आन्दोलन जारी रहने भन्दै यो पीडित किसान मजदुरहरुको जीवन मरणको सबालसँग जोडिएको आन्दोलन हो भन्ने कुरा प्रष्ट पारेका थिए ।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य तथा संगठन बिभाग प्रमुख एबं अखिल नेपाल प्रगतिशील श्रमिक संगठनका संयोजक लक्षमण उपे्रती, नेपाल क्रम्युनिष्ट पार्टीका सचिवालय सदस्य तथा केन्द्रिय कार्यलय प्रमुख मुकुन्द आचार्य, पार्टी सचिवालय सदस्य तथा अखिल नेपाल प्रगतिशील बुद्धिजीबी संघका अध्यक्ष महादीप पोखरेल र पार्टी सचिवालय सदस्य तथा मोर्चा एबं एकता बार्ता समितिका संदस्य पुष्कर गौतमको पनि सक्रिय उपस्थिति रहेको थियो । गएको साउन १० गतेदेखि मिटर ब्याज पीडित मजदुर किसानहरु माइतीघर मण्डलामा धर्ना दिइरहेका छन् ।

नेपालपत्र संवाददाता