शुक्रबार, कार्तिक ७ गते २०८३

एलपीजी ग्यास अभावः आयात बढिरहँदा के कारणले बजारमा लामो लाइन ?


श्रावण २२, २०८३ शुक्रबार
एलपीजी ग्यास अभावः आयात बढिरहँदा के कारणले बजारमा लामो लाइन ?

 

काठमाडौं । केही दिनयता देशका विभिन्न स्थानमा खाना पकाउने एलपी ग्यासको अभाव देखिए पनि मुख्य आयात नाका वीरगन्जबाट ग्यास आपूर्ति भने नियमित रहेको नेपाल आयल निगमले जनाएको छ। निगमले बजारमा देखिएको समस्या आयात घटेर नभई उपभोक्ताको अत्यधिक सञ्चय (होर्डिङ) र केही वितरणसम्बन्धी अनियमितताका कारण मात्र उत्पन्न भएको जनाएको छ।

नेपालमा खपत हुने करिब ६० प्रतिशत खाना पकाउने ग्यास भित्रिने वीरगन्ज नाकाबाट चालु आर्थिक वर्षको साउन १ देखि २० गतेसम्म ९७९ वटा ग्यास बुलेट नेपाल भित्रिएका छन्। यो संख्या गत वर्षको सोही अवधिको ८५९ बुलेटभन्दा १२० ले बढी हो। यसले ग्यास आयातमा कमी नभई वृद्धि भएको देखाउँछ।

नेपाल आयल निगम वीरगन्ज कार्यालयका प्रमुख मोहनप्रसाद साहका अनुसार असारमा पूर्ण सिलिन्डर वितरण सुरु भएपछि मात्रै १,४२९ वटा ग्यास बुलेट भित्रिएका थिए। त्यसअघि आधा सिलिन्डर वितरण भइरहेको जेठमा ९३४ र वैशाखमा ९७४ बुलेट आयात भएका थिए। साउनको २० दिनमै थप ८२२ बुलेट आयातका लागि प्रोडक्ट डेलिभरी अर्डर जारी भइसकेको छ भने थप ८८ बुलेटका लागि पनि प्रक्रिया अघि बढाइएको छ।

निगमका अनुसार असार अन्त्यतिर भारतका दुर्गापुर र हल्दिया रिफाइनरीमा आगलागी भएपछि ती दुई केन्द्रबाट ग्यास आउन रोकिएको थियो। तर बरौनी र परादीपलगायत अन्य रिफाइनरीबाट आपूर्ति भइरहेकाले समग्र आयातमा ठूलो असर नपरेको दाबी गरिएको छ।

बजारमा अभाव देखिनुको मुख्य कारण भने उपभोक्ताले आवश्यकताभन्दा बढी सिलिन्डर भरेर घरमै सञ्चय गर्नु रहेको निगमको भनाइ छ। केही समयअघि आधा सिलिन्डर वितरण भएपछि धेरैले थप खाली सिलिन्डर जम्मा गरेका र अहिले पूर्ण सिलिन्डर उपलब्ध हुन थालेपछि सबै सिलिन्डर एकैपटक भरेर राख्न खोज्दा कृत्रिम चाप सिर्जना भएको प्रमुख साहले बताए। उनका अनुसार अहिले आएको सबै ग्यासको पीडीओ जारी भइरहेकाले केही दिनभित्र बजार अवस्था सामान्य हुने अपेक्षा गरिएको छ।

यता, ग्यास उद्योगहरूलाई दैनिक आयात–वितरणको विवरण जिल्ला प्रशासन कार्यालय र नेपाल आयल निगममा अनिवार्य रूपमा बुझाउन निर्देशन दिइएको छ। सरोकारवाला निकायले आयात पर्याप्त रहेको र बजारमा कृत्रिम अभाव सिर्जना नगर्न तथा आवश्यकताभन्दा बढी ग्यास सञ्चय नगर्न उपभोक्तासमेतलाई आग्रह गरेका छन्।