बुधबार, भाद्र ३ गते २०८३

नागरिक विकासको दोश्रो सेवा केन्द्र ललितपुरको लामाटारमा

मंसिर २१, २०७८ मंगलबार
नागरिक विकासको दोश्रो सेवा केन्द्र ललितपुरको लामाटारमा

 

नागरिक विकास बचत तथा ऋण सहकारी संस्थाले ललितपुरको लामाटारमा सदस्य सेवा केन्द्र विस्तार गरेको छ । संस्थाले सदस्यहरुको आवश्यकतालाई महशुस हालै मात्र सेवा केन्द्र थप गरेको हो । भक्तपुरको सागबारीमा प्रधान कार्यालय रहेको संस्थाले यस अघि ललितपुरको इमाडोलमा पहिलो सेवा केन्द्र सञ्चालनमा ल्याएको थियो । लामाटारमा शुरु गरिएको सेवा केन्द्र दोश्रो भएको संस्थाका अध्यक्ष नुनम सुब्बाले बताए । सहकारी अभियन्ता हरि बाशिष्ठ र अध्यक्ष सुब्बाले संयुक्त रुपमा सेवा केन्द्रको उद्घाटन गरेका थिए । 

त्यसैगरी संस्थाले १२औं बार्षिक साधारणसभा समेत सम्पन्न गरेको छ । सभामा बोल्दै अध्यक्ष सुब्बाले विश्वव्यापी रुपमा फैलिएको कोभिड महामारीका कारण मानव स्वास्थ्य एवं अर्थतन्त्रमा पर्न गएको प्रभावले सहकारी संस्थालाई असर पु¥याएको बताए । महामारीबाट श्रृजित विषम परिस्थितिमा पनि सदस्यहरुले गरेको विश्वास र नियमित कारोबारका कारण संस्थाको कारोबार सन्तोषजनक रहेको उनले जनाए । 

संस्थाले गत असार मसान्तसम्म ३ करोड २६ लाख शेयरपुँजी, ६४ करोड ३५ लाख बचत संकलन र ६५ करोड ३४ लाख ऋण लगानी गरी २१ लाख २८ हजार मुनाफा आर्जन गरेको छ । संस्थाका सम्पूर्ण सेवा विद्युतीय माध्यमबाट छिटोछरितो र भरपर्दो बनाउने योजना रहेको उनले जनाए । त्यसैगरी चालु आ.व.मा शेयरपुँजी वृद्धि गरी ५ करोड, बचत संकलन ९० करोड र ऋण लगानी १ अर्ब पु¥याउने लक्ष्य संस्थाले लिएको छ । 

संस्थाले साधारण, आवधिक, बालशिक्षा, नागरिक विशेष, किसान, नारी उत्थान, हाम्रो योजना, नागरिक कल, नागकि बेलन, कर्मचारी विशेष, सरल तथा सहुलियत बचत जस्ता योजना सञ्चालमा ल्याई सदस्यबाट ससानो रकम बचतको रुपमा संकलन गर्दै आएको छ । त्यसैगरी सदस्यहरुको माग र आवश्यकता अनुसार व्यवसायिक, हायरपर्चेज, सामुहिक, घर कर्जा र लघुकर्जा शीर्षकमार्फत ऋण उपलब्ध गराउँदै आएको छ । संस्थाले सदस्यहरुलाई प्रभु हिमाल, सिटी, आइएमई लगायतका रेमिट्यान्स कम्पनीहरुसँग सम्झौता गरी विप्रेषण सेवा समेत दिँदै आएको छ ।

संस्थाले केहि वर्ष अगाडि आफ्नै सुविधासम्पन्न भवन निर्माण गरी सदस्यहरुलाई वित्तीय तथा अन्य सेवाहरु प्रवाह गर्दै आएको छ । संस्थाले काेराेना भाइरसबाट सिर्जित असहज अवस्थामा रक्तदान कार्यक्रम गर्नुका साथै, सेनिटाइजर तथा मास्क बितरण लगायतका गतिविधि गर्दै आएकाे छ ।