बिहीबार , श्रावण २१ गते २०८३

एसईई उत्तीर्ण विद्यार्थीलाई सम्मान गर्दै टल्कु साकोसले मनायो २४औँ स्थापना दिवस


श्रावण २१, २०८३ बिहीबार
एसईई उत्तीर्ण विद्यार्थीलाई सम्मान गर्दै टल्कु साकोसले मनायो २४औँ स्थापना दिवस

 

काठमाडौं  टल्कु बचत तथा ऋण सहकारी संस्था लिमिटेड (टल्कु साकोस) ले आफ्नो २४औँ स्थापना दिवसको अवसरमा एसईई–२०८२ उत्तीर्ण गरेका संस्थाका बालबचतकर्ता तथा शेयर सदस्यका सन्तानलाई सम्मान गरेको छ।

दक्षिणकाली नगरपालिका–९ स्थित संस्थाको आफ्नै भवनमा आयोजित कार्यक्रममा दक्षिणकाली नगरपालिकाका प्रमुख मोहन बस्नेतले उद्घाटन गर्दै द्वन्द्वकालीन कठिन परिस्थितिमा स्थापना भएको संस्थाले सदस्यकेन्द्रित सेवा, वित्तीय अनुशासन, सुशासन र पारदर्शितालाई निरन्तरता दिँदै सदस्यको विश्वास कायम राख्न सफल भएको बताए। उनले सहकारीले वित्तीय साक्षरता, उद्यमशीलता, स्वास्थ्य बीमा तथा स्थानीय विकासका क्षेत्रमा अझ प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिँदै एसईई उत्तीर्ण विद्यार्थीलाई उच्च शिक्षासँगै बचत संस्कृतिमा आबद्ध हुन आग्रह गरे।

कार्यक्रममा नगर प्रवक्ता तथा वडा नं. ९ का अध्यक्ष अमृका बलामीले सहकारीले ऋण लगानी गर्दा सदस्यको आर्थिक अवस्था, सामाजिक चरित्र र ऋण तिर्न सक्ने क्षमताको वस्तुगत मूल्याङ्कन गरी उत्पादनशील क्षेत्रमा मात्र लगानी गर्नुपर्ने धारणा राखे। नगर सदस्य विक्रम तामाङले यस वर्षदेखि सुरु गरिएको एसईई सम्मान कार्यक्रमले विद्यार्थीलाई प्रोत्साहन मिल्नुका साथै बालबालिकामा बचत, मितव्ययिता र वित्तीय साक्षरताको संस्कार विकास गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।

संस्थाका सचिव कृष्णकुमार तामाङले प्रविधिमैत्री, पारदर्शी तथा सदस्यमुखी वित्तीय सेवा विस्तारलाई प्राथमिकता दिँदै संस्थालाई दक्षिणकाली नगरपालिकाकै नमुना सहकारीका रूपमा विकास गर्ने लक्ष्यसहित काम भइरहेको जानकारी दिए। कार्यक्रममा एसईई–२०८२ उत्तीर्ण गरेका संस्थाका ३८ जना बालबचतकर्तालाई सम्मान गरिएको थियो। साथै सदस्यकेन्द्रित वित्तीय सेवा, सुशासन, सहकारी शिक्षा तथा समयानुकूल व्यवस्थापनका विषयमा समेत छलफल भएको थियो।

संस्थाका अध्यक्ष पूर्णबहादुर बलामीको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्थानीय जनप्रतिनिधि, विभिन्न सहकारी संस्थाका प्रतिनिधि, विद्यालयका प्रधानाध्यापक, संस्थाका सल्लाहकार, शेयर सदस्य तथा शुभेच्छुकको सहभागिता रहेको थियो। समापनका अवसरमा अध्यक्ष बलामीले स्थापना दिवसलाई सदस्य सम्मान, सहकारी शिक्षा र संस्थागत विकाससँग जोड्दै आगामी वर्षमा अझ प्रभावकारी रूपमा निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरेका थिए।

गत असारमसान्तसम्म संस्थाको शेयर पुँजी २ कराेड ३७ लाख, जगेडा काेष १ कराेड ४१ लाख, बचत ३९ कराेड ४८ लाख र ऋण लगानी २७ कराेड ९६ लाख पुगेकाे छ । संस्थामा २ हजार २ सय २२ सदस्य रहेका छन् । संस्थाकाे कुल सम्पत्ति ४५ करोड ७४ लाख पुगेकाे छ । 

talku samman.jpg