शुक्रबार, कार्तिक ७ गते २०८३

तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले ८५ अर्बको निक्षेप संकलन गर्दै


श्रावण २०, २०८३ बुधबार
तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले ८५ अर्बको निक्षेप संकलन गर्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न ८५ अर्ब रुपैयाँको ३ महिने निक्षेप संकलन उपकरण बोलकबोल गर्ने भएको छ। राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागका अनुसार २०८३ साउन २० गते दिउँसो ३ बजेसम्म निक्षेप संकलन उपकरणको बोलकबोल हुनेछ। बोलकबोल अनलाइन बिडिङ सिस्टममार्फत् मात्र गर्न सकिनेछ।

निक्षेप संकलन उपकरणको अवधि ९० दिन रहनेछ। यसको साँवा तथा ब्याज २०८३ कात्तिक १७ गते भुक्तानी हुनेछ। ब्याजदर भने बोलकबोलबाट निर्धारण हुने राष्ट्र बैंकले जनाएको छ। बोलकबोलमा न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतम आह्वान रकमसम्म सहभागी हुन सकिनेछ। बोल गरिएको रकम ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने हुनुपर्नेछ।

यस उपकरणलाई नेपाल राष्ट्र बैंकबाहेक अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा समेत प्रयोग गर्न सकिनेछ। निक्षेप संकलनको बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन्। एउटै संस्थाले बहुब्याजदरमा एकभन्दा बढी बोलसमेत गर्न सक्ने राष्ट्र बैंकले जनाएको छ।