शुक्रबार, कार्तिक ७ गते २०८३

डिजिटल कारोबार बढेसँगै पासवर्ड, पिन र ओटीपी सुरक्षामा राष्ट्र बैंकको जोड


श्रावण १९, २०८३ मंगलबार
डिजिटल कारोबार बढेसँगै पासवर्ड, पिन र ओटीपी सुरक्षामा राष्ट्र बैंकको जोड

 

काठमाडौं । डिजिटल बैंकिङ तथा विद्युतीय भुक्तानीको प्रयोग बढ्दै गएसँगै आफ्ना बैंकिङ तथा वित्तीय विवरणको सुरक्षा स्वयं प्रयोगकर्ताले सुनिश्चित गर्नुपर्नेमा नेपाल राष्ट्र बैंकले जोड दिएको छ । इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, क्यूआर कोड भुक्तानी र डिजिटल वालेट प्रयोग गर्दा डिजिटल वित्तीय अनुशासन पालना गर्न राष्ट्र बैंकले आग्रह गरेको हो ।

नेपाल राष्ट्र बैंकको वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाले जारी गरेको सूचनामा डिजिटल कारोबार सहज, छिटो र कम लागतमा हुने भएकाले यसको प्रयोग तीव्र रूपमा बढिरहेको उल्लेख गर्दै प्रयोगकर्तालाई सुरक्षा सावधानी अपनाउन आग्रह गरिएको छ ।

राष्ट्र बैंकका अनुसार युजरनेम, पासवर्ड, पिन, ओटीपी जस्ता संवेदनशील विवरणको सुरक्षा प्रयोगकर्ता स्वयंको जिम्मेवारी हो । बैंकिङ तथा वित्तीय खाताका लागि बलियो पासवर्ड प्रयोग गर्न, अक्षर, अंक र चिह्नको संयोजन गर्न तथा सजिलै अनुमान गर्न सकिने नाम, जन्ममिति वा अन्य व्यक्तिगत विवरणलाई पासवर्ड वा पिनका रूपमा प्रयोग नगर्न राष्ट्र बैंकले सुझाव दिएको छ ।

त्यस्तै, बैंकिङ खाताको पासवर्ड इमेल, मेसेन्जर तथा सामाजिक सञ्जालजस्ता गैर–बैंकिङ खाताभन्दा फरक राख्न र सम्भव भएसम्म सबै खातामा मल्टी–फ्याक्टर अथेन्टिकेसन प्रयोग गर्न आग्रह गरिएको छ । बैंक खाता, मोबाइल बैंकिङ, डिजिटल वालेट, इमेल, सामाजिक सञ्जालसँगै मोबाइल तथा कम्प्युटरको सुरक्षामा समेत पासवर्ड, पिन, ओटीपी र बायोमेट्रिक प्रमाणीकरण प्रयोग गर्न राष्ट्र बैंकले सुझाएको छ ।

राष्ट्र बैंकले आधिकारिक वेबसाइट तथा एप्लिकेसनबाट मात्रै वित्तीय सेवा प्रयोग गर्न र ब्राउजरमा वित्तीय विवरण तथा पासवर्ड सेभ नगर्न पनि सचेत गराएको छ । प्रयोगकर्ताले समय–समयमा पासवर्ड परिवर्तन गर्न, अनधिकृत एप्लिकेसन डाउनलोड वा इन्स्टल नगर्न र त्यस्ता एपलाई अनावश्यक ‘एक्सेस परमिसन’ नदिनुपर्ने राष्ट्र बैंकको सुझाव छ ।

अपरिचित व्यक्तिसँग स्क्रिन सेयर नगर्न र स्क्रिन सेयरमार्फत वित्तीय कारोबार नगर्न पनि राष्ट्र बैंकले आग्रह गरेको छ । त्यस्तै, सार्वजनिक वा असुरक्षित वाईफाई प्रयोग गरेर वित्तीय कारोबार नगर्न तथा ‘किस्ट्रोक क्याप्चर’ र ‘स्क्रिन क्याप्चर’ जस्ता माध्यमबाट संवेदनशील विवरण चोरी हुनसक्ने जोखिमबाट सचेत रहनुपर्ने जनाएको हो ।

यसरी चोरी हुन सक्छ पासवर्ड

– सजिलै अनुमान गर्न सकिने पासवर्ड राख्दा ‘गेसिङ’ मार्फत पासवर्ड पत्ता लाग्न सक्ने, नक्कली वेबसाइट वा एपमा पासवर्ड प्रविष्ट गर्न लगाएर ‘हार्भेस्टिङ’ मार्फत विवरण चोरी हुन सक्छ ।

– त्यस्तै, इन्क्रिप्ट गरिएका पासवर्डलाई ‘क्रयाकिङ’ गरी वास्तविक पासवर्ड पत्ता लगाउने प्रयास हुन सक्ने, एउटै पासवर्ड विभिन्न खातामा प्रयोग गर्दा ‘स्प्रेइङ’ तथा एउटा उपकरण वा खातामा प्रयोग गरिएको पासवर्ड अर्को खाता वा उपकरणमा समेत प्रयोग गर्दा ‘स्टफिङ’ मार्फत जोखिम बढ्ने हुन्छ।

डिजिटल वित्तीय सेवाको प्रयोग बढ्दै गएकाले प्रविधिको सुविधा उपभोगसँगै डिजिटल साक्षरता र वित्तीय अनुशासनलाई पनि प्राथमिकता दिनुपर्ने राष्ट्र बैंकको भनाइ छ । सुरक्षित डिजिटल कारोबारका लागि प्रयोगकर्ताले आफ्ना पासवर्ड, पिन, ओटीपी तथा अन्य संवेदनशील विवरण गोप्य राख्दै डिजिटल सुरक्षा सावधानी अपनाउन राष्ट्र बैंकले आग्रह गरेको छ ।