कमरेड पुष्पलालको नीति, विचार सिध्दान्त आत्मसात गरी पार्टीमा आवद्ध हुन आह्वान गर्दै नेपाल कम्युनिस्ट पार्टी सर्लाही जिल्ला सम्मेलन तयारी कमिटीको बिस्तार तथा प्रशिक्षण बयलबासमा सम्पन्न भएको छ ।
पार्टीका केन्द्रिय सहसंयोजक लोकनारायण सुबेदी र केन्द्रिय सचिवालय सदस्य रामदुलार महतोको उपस्थितिमा जिल्ला तयारी कमिटीका संयोजक सन्तोस साह तेलीको अध्यक्षतामा भेला आयोजना भएको हो ।
सम्पन्न भेलाले जिल्ला तयारी समितिको थप विस्तार र पुनर्गठन गरेको छ भने जिल्लाब्यापीरुपमा पार्टी संगठन बिस्तार गर्ने निर्णय लिएको छ ।
भेलाले सन्तोस साहलाई पूर्ववत् अध्यक्षमा तथा उपाध्यक्षमा धुपनारायण सिंह दनुवार तथा सचिबमा सुरेन्द्र यादवलाई चयन गरेको छ भने सदस्यहरुमा किशोरी सिंह दनुवार, बेचन महतो, ललितमान पाख्रिन, बिनोद यादव, तिर्थलाल महतो, रमेश घिमिरे, अञ्जान महतो, रामदयाल ठाकुर, कुशेश्वर महतो, नजाम शेख, कामेश्वर पासवान, बिनोद यादव र सबद राउत चयन गरिएका छन् ।
पुनर्गठित कमिटी तथा भेलामा उपस्थित महानुभवहरुलाई सम्बोधन गर्दै पार्टीका केन्द्रिय सहसंयोजक लोकनारायण सुवेदीले नेपाली जनता र राष्ट्रको मुक्ति र प्रगतिको निम्ति कमरेड पुष्पलालले अघि सारेको सही दृष्टिकोण, विचार, सिध्दान्त र नीतिले मात्र सही मार्गदर्शन गर्न सक्ने उल्लेख गरे ।
नेपाल तथा नेपाली जनतामाथिको सामन्ती, भारतीय एकाधिकार पूँजीवादी र साम्राज्यवादी शोषण उत्पीडनलाई समूल नष्ट गर्न सक्ने यथार्थको पुनर्पुष्टी भएको आजका घटनाक्रमले प्रष्ट पारेको उदाहरण सहित औंल्याएका थिए । कम्युनिष्ट आन्दोलनमा देखापर्ने गरेका बिभिन्न खाले दक्षिणपन्थी र उग्रबामपन्थी अवसरवादी भड्काउबाट पनि कामरेड पुष्पलालको नीतिले मात्र यस आन्दोलनलाई बचाउन सक्ने र शोषित पीडित जनतामा ऊर्जा र आत्मबल बढाउन र उनीहरुको भूमिकालाई सशक्त किसिमले सकृय तुल्याउन सक्छ भन्ने कुरा पनि उनले प्रष्ट पारे ।
कार्यक्रममा बोल्दै पार्टीका केन्द्रिय सचिवालय सदस्य तथा प्रदेश नम्बर २ का अध्यक्ष रामदुलार महतोले एमसिसी जस्तो राष्ट्रघाती र जनविरोधी सम्झौता गर्ने कुनै पनि रङरुपको पार्टी कम्युनिष्ट पार्टी नहुने भन्दै ती सामान्य लोकतान्त्रिक पार्टी समेत हुन नसक्ने औंल्याए । सम्पूर्ण शोषित पीडित जन समुदाय कमरेड पुष्पलालको बिचार बोकेको नेपाल कम्युनिष्ट पार्टीको वरिपरी गोलबन्द भएर मात्र आफ्नो वर्तमान उज्वल तुल्याउन र भविष्य सुनिश्चित बनाउन सक्छ भन्ने उनले बताए ।
कार्यक्रममा अध्यक्षको आसनबाट बोल्दै सर्लाही जिल्ला समितिका संयोजक सन्तोष साहले सही नीति र नेतृत्व नहुदा जनताले पटकपटक गम्भीर धोका पाएको अनुभव सुनाउँदै कमरेड पुष्पलालको सही नीति लिएको नेपाल कम्युनिष्ट पार्टीमा आवध्द र संघर्षशील हुन सम्पूर्ण शोषित पीडित जन समुदायलाई जोडदार आग्रह गरेका थिए ।