शुक्रबार, कार्तिक ७ गते २०८३

खाना पकाउने ग्यासको अभाव छैन, अनावश्यक खरिद नगर्नुस्: निगम


श्रावण १७, २०८३ आइतबार
खाना पकाउने ग्यासको अभाव छैन, अनावश्यक खरिद नगर्नुस्: निगम

 

काठमाडौं । नेपाल आयल निगमले बजारमा खाना पकाउने एलपी ग्यासको अभाव नरहेको स्पष्ट गर्दै उपभोक्तालाई आवश्यकताअनुसार मात्र ग्यास खरिद गर्न आग्रह गरेको छ।

निगमले जारी गरेको विज्ञप्तिमा १४.२ केजी क्षमताको एलपी ग्यास सिलिन्डरको बिक्री–वितरण खुला गरिएपछि दैनिक मागअनुसार आपूर्ति भइरहेको जनाएको छ। बजारमा ग्यास अभाव भएको भन्ने समाचारप्रति ध्यानाकर्षण भएको उल्लेख गर्दै निगमले ग्यास उद्योग, बिक्रेता र ढुवानी व्यवसायीसँग समन्वय गरी नियमित आपूर्ति भइरहेको स्पष्ट पारेको हो।

काठमाडौं उपत्यकामा केही ग्यास उद्योगले वर्गीकरणका कारण वितरणमा असहजता भएपछि निगमले शनिबारदेखि आफ्नै टेकुस्थित कार्यालयबाट पनि नेपाल ग्यास, एनपी ग्यास, एस्ट्रल ग्यास, सुगम ग्यास र श्रीराम ग्यासका सिलिन्डर बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म सम्बन्धित उद्योगमार्फत बिक्री–वितरणको व्यवस्था मिलाएको जनाएको छ।

निगमले एलपी ग्यासको आयात र आपूर्ति नियमित रहेको उल्लेख गर्दै अफवाहमा नलाग्न तथा अनावश्यक भण्डारण नगर्न उपभोक्तासँग आग्रह गरेको छ।