शुक्रबार, कार्तिक ७ गते २०८३

साउन २१ देखि करदाता उपहार योजना, सहजीकरणका लागि राष्ट्र बैंकको आग्रह


श्रावण १५, २०८३ शुक्रबार
साउन २१ देखि करदाता उपहार योजना, सहजीकरणका लागि राष्ट्र बैंकको आग्रह

 

नेपाल राष्ट्र बैंकले ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम, २०८३’ प्रभावकारी रूपमा कार्यान्वयन गर्न भुक्तानी सेवा प्रदायक संस्थालाई आवश्यक तयारी गर्न निर्देशन दिएको छ। केन्द्रीय बैंकले साउन १६ गतेदेखि ग्राहकलाई कार्यक्रमबारे सूचना प्रवाह गर्न तथा आवश्यक परे मोबाइल एप अद्यावधिक गर्न जानकारी दिन आग्रह गरेको छ। साथै, मोबाइल एपमा कार्यक्रमसम्बन्धी बारम्बार सोधिने प्रश्न समावेश गर्न पनि अनुरोध गरिएको छ।

सरकारले कर तिर्ने बानीको विकास, बिल लिने–दिने संस्कृतिको विस्तार र कर प्रणालीमा नागरिकको सहभागिता बढाउने उद्देश्यले साउन २१ गतेदेखि यो योजना सञ्चालन गर्दैछ। कार्यक्रमअन्तर्गत रु १०० वा सोभन्दा बढीको सामान वा सेवा खरिद गर्दा सक्कली बिल लिने र प्यान/भ्याटमा आबद्ध कारोबार गर्ने उपभोक्ता उपहार योजनामा सहभागी हुनेछन्।

योजनाअनुसार हरेक दिन एक जना विजेताले रु १ लाख ३३ हजार ३३३ प्राप्त गर्नेछन् भने हरेक पन्ध्र दिनमा एक जनालाई रु १० लाखको बम्पर उपहार प्रदान गरिनेछ। प्रत्येक योग्य खरिद बिजक वा विद्युतीय भुक्तानीबाट गरिएको खरिदबापत एउटा डिजिटल उपहार टिकट स्वतः प्राप्त हुनेछ।

तर व्यावसायिक प्रयोजनका खरिद, सरकारी निकायका नाममा जारी बिजक, टेलिफोन, इन्टरनेट, विद्युत्, सवारी तथा ढुवानी सेवा, हवाई टिकटको बिजक तथा प्यान नभएका व्यक्तिका बिजक भने कार्यक्रममा सहभागी हुने छैनन्।

कार्यक्रमको सञ्चालन आन्तरिक राजस्व विभागले गर्नेछ। विजेताको नाम विभागको वेबसाइट र सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिनेछ भने उपहार रकम कर कट्टीपछि सिधै विजेताको बैंक खातामा जम्मा गरिने व्यवस्था गरिएको छ।