बिहीबार , श्रावण २१ गते २०८३

आवश्यकता परे पूर्ण सहकारी बैंकको प्रत्याभूति दिन नेफ्स्कून तयार छः अध्यक्ष ढकाल


श्रावण १४, २०८३ बिहीबार
आवश्यकता परे पूर्ण सहकारी बैंकको प्रत्याभूति दिन नेफ्स्कून तयार छः अध्यक्ष ढकाल

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून ) का अध्यक्ष चन्द्रप्रसाद ढकालले आवश्यकता परे पूर्ण सहकारी बैंकको प्रत्याभूति दिन नेफ्स्कून तयार रहको बताएका छन् । सरकारले सहकारी ऐन संशोधन गरी संघहरुले बचत तथा ऋणको कारोबार गर्न नपाउने र संघहरु मिलेर सहकारी बैंक खोल्न पाउने व्ववस्था गरेसँगै अध्यक्ष ढकालले सो कुरा बताएका हुन् ।

बागमती प्रोस्कूनले ७ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यसका लागि संघकी उपाध्यक्ष शान्ति अधिकारीको संयोजकत्वमा एक समिति गठन गरेको र आवश्यकता र औचित्यताका आधारमा पूर्ण बैकिङ्ग सेवा दिन साकोस बैंक स्थापना गर्न समेत पछि नपर्ने जिकिर गरे । राष्ट्रि सहकारी बैंकले उद्धारता देखाउँदा मर्जका लागि पनि छलफल गर्न सकिने भन्दै उनले सिङ्गो साकोस अभियान अटाउने बैंक खोलेर जान समेत तयार रहेकोे सुनाए । बचत ऋण अभियानमा लागेका  सबैलाई नेफ्स्कूनले जोडेर जाने उनको भनाई छ । सहकारी महासंघले फेड्ररेशनहरुकोे विषयमा वसह चलाउन  जोड दिँदै उनले यसका लागि नेतृत्व लिन समेत आग्रह गरे । 

संघहरुकै कारण सहकारी अभियान गतिशिल बनेको भन्दै  प्रारम्भिक सहकारी संस्थाहरुको विकासमा योगदान पुगेको उनको भनाई छ । संघहरुकै कारण संस्थाहरु पुरस्कृत र सम्मानित हुनुका साथै सदस्यहरुलाई वित्तीय रुपमा रुपान्तरण गर्न सक्ने काम भएको उनको दावी छ । उनले भने,‘ आफुले देखिराखेको कुरा सत्य नहोस्,संघहरुले गलत काम गरेर छायाँमा परेको हो की, कसैको आवेगमा आएर गरिएको निर्णयले छायाँमा परेको हो ? यो  छलफलको विषय बन्नुपर्छ र यसको नेतृत्व राष्ट्रिय सहकारी महासंघले गर्नुपर्छ । ’ हिजोको दिनमा जस्तै आजको दिनमा संघहरुको आवश्यकता अभियानमा नपर्ने हो त भन्दै उनले प्रश्न गरे । संघहरुलाई वित्तीय कारोबारमा रोक्न लगाउनुमा संघका सञ्चालक वा सदस्य संस्था को दोषी हुन भन्दै उनले अनुत्तरित प्रश्नले ठुलो प्रमाणलाई नै अलमल्याउने उल्लेख गरे ।

अहिले सिङ्गो सहकारी अभियान अलमलको अवस्थामा रहेको र अब अभियानको भविष्य के हुन्छ होला भन्ने  चिन्ताले  सबैलाई पिरोलेको उनको भनाई छ । सहकारी अभियानमा बचत फिर्ता र ऋण असुलीले मात्र प्राथमिकता पाएको भन्दै अन्य विषय ओझेलमा परेको उनको दुखेसो छ । सहकारी भनेको बचत फिर्ता र ऋण असुलीको मात्र विषय हो त भन्दै अध्यक्ष ढकालले सहकारी त्यो भन्दा बढी प्राथमिकताको विषय बन्नुपर्नेमा जोड दिए । समुदायका जनतालाई फेड्ररेशनहरुले बचत गर्ने पद्धति सिकाउँदै आएको र जसको परिणाम स्वरुप देशभर ३५० संघहरु बनेको उनले जानकारी दिए । संघले प्रारम्भिक सहकारी संस्थासँग भएको बचतको व्यवस्थापन गर्ने गरेको  र त्यो काम संघहरुले गर्दै आएको उल्लेख गरे । अभियानकै पहलमा राष्ट्रिय सहकारी बैंक स्थापना भएको र यसलाई पूर्ण सहकारी बैंक बन्नु पर्नेमा आफुले आवाज उठाउँदै जनाए ।

उनले भने,आज पनि सहकारी बैंकले सीमित वित्तीय कारोबार गरी राखेको छ,  सधै सीमित कारोबार भन्ने हुँदैन होला नि? पूर्ण  बैकिङ्गका लागि पहल गर्नुपर्ने होइन् ?   त्यो विषयभित्र जानका लागि किन छलफल हुँदैन ? ’ संशोधित सहकारी ऐनले संघहरु मिलेर नयाँ बैंक खोल्ने वा भइराखेका सहकारी बैंकमा एकीकरण गर भन्ने आएको बताउँदै उनले भने,‘ फेड्ररेशनहरु बैंक बनिरहँदा फेड्ररेशनले के गर्ने भन्ने विषय पनि त्यहाँ निर्धारण हुनुपर्ने होइन र ? यदी फेड्ररेशनहरुको व्यवस्थापन वा पूर्ण बैकका लागि भनिएको हो भने थप छलफल गर्न आवश्यक छ । ’ पछिल्लो पटक ऐनमा आएको व्यवस्थालाई आफुहरुले निकाशको रुपमा लिएको भए पनि फेड्ररेशनहरुले  अहिले गर्दै आएको विजनेशलाई विश्राम  लिएर विकल्पको रुपमा बैंक नमागेको उनले प्रष्ट पारे ।

अभियानले मागेको पूर्ण बैंकिङ्ग भएको र सदस्य संस्थाले त्यहाँभित्र पुँजीको सुरक्षा खोजेको उनले जनाए । सहकारी क्षेत्रमा रहेको समस्या बाबजुद पनि समाधान गर्नेतर्फ आफुहरु क्रियशिल रहेको उनले जानकारी दिए । सबै संघहरु नेफ्स्कून जतिकै उत्तरदायी हुनुपर्ने र एउटै पङ्तिमा अभियान उभिनुको विकल्प नरहेको उनले प्रष्ट पारे । जिल्ला, प्रदेश र संघीय संघबिच आन्तरिक प्रतिस्पर्धा भन्दा पनि  सहकार्य आवश्यक रहेको अध्यक्ष ढकालले जोड दिए । एकले अर्कालाई प्रतिस्पर्धी देख्न थाल्दा अभियान बलियो हुन्छ भन्दै उनले प्रश्न गरे । व्यक्तिगत रुपमा आफुले प्रतिस्पर्धाको कल्पना समेत नगरेको तर अभियानभित्र यति धेरै प्रश्नहरु उठेको प्रति आफु गम्भिर भएको उनले सुनाए । बचत तथा ऋणको कारोबार गर्ने संघ र संस्थाहरुको उचित व्यवस्थापन गर्न नेफ्स्कून  तयार रहेको उनले प्रष्ट पारे ।

उनले सबै संघ संस्थाको पुँजीको व्यवस्थापन गर्न जस्तोसुकै परिस्थितिमा दरिलो साथ दिन सबै फेड्ररेशन तयार रहेको उनले  जनाए । आफुलाई सहकारीकर्मीको रुपमा रुपान्तरण गर्ने गरी तयार भएका कुनै पनि संस्थालाई बाइपास गनुपर्ने अवस्था नआउने उनले जनाए । बचत ऋणको कारोबार गर्ने तर जिल्ला प्रदेशका संघमा आवद्ध नहुने र स्तरीकरणका कार्यक्रममा भाग नलिने संस्थाहरु कै कारण अभियानमा समस्या आएको उनको दावी छ । सहकारीमार्फत् सदस्य र समुदायको आर्थिक सामाजिक रुपान्तरण गर्न चाहनेहरु एक भएर अघि बढ्न उनको अपिल छ ।