काठमाण्डाै । राष्ट्रिय सहकारी नियमन प्राधिकरणले ५ हजार ३ सय सहकारी संस्थालाई संस्था सञ्चालन इजाजत दिएको छ । प्राधिकरणको एनसीआरए प्रणालीमा १३ हजार सहकारी संस्था दर्ता अभिलेखिकरणका लागि आएको र त्यस मध्ये सम्पूर्ण प्रक्रिया पुरा गरेका ५ हजार माथि संस्थाहरुलाई लाइसेन्स प्रदान गरिएको हो ।
६ हजार सहकारी संस्थाको विवरण अपुरो रहेको र सम्पूर्ण विवरण पुरा गरेपछि मात्र प्राधिकरणले लाइसेन्स दिने जनाएको छ। त्यसैगरी १ हजार ५ सय सहकारी संस्थाको भेरिफिकेशनको काम बाँकी रहेको र ती संस्थाहरुको प्रक्रिया पुरा गरी लाइसेन्स दिइने भएको छ। प्राधिकरणका कार्यकारी निर्देशक राम कुमार महतोले बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको दर्ता अभिलेखिकरण गरी संस्था सञ्चालन इजाजत प्रदान गर्दै आएको जानकारी दिए । दर्ता अभिलेखिकरणपछि नियमित रुपमा संस्थाहरु एनसीआरए प्रणालीमा अध्यावधिक हुने र सम्पूर्ण विवरणहरु उपलब्ध हुने भएकाले वास्तविक अवस्था थाहा गर्न सकिने उनको भनाई छ ।
गत असार २५ गते सहकारी ऐन संशोधन भएको र ऐन जारी भएको एक बर्षभित्र लाइसेन्स दिइसक्नु पर्ने भनेकाले २०८४ असार २४ गतेसम्मका लागि समय थप गरिएको उनको भनाई छ । यस अघि गत असार मसान्तसम्म समयदिएर संस्था अभिलेखिकरणको काम भइराखेकोमा ऐन संशोधन भएर आएकाले एक बर्षको समय थप गरिएको उनले प्रष्ट पारे । प्राधिकरणबाट लाइसेन्स लिइसकेका संस्थाहरुको नविकरण यही साउनदेखि नै गर्नुपर्ने भए पनि दर्ता अभिलेखिकरणको काम भइराखेकाले केही समयपछि सुरु हुने उनले जानकारी दिए । उनले थपे,‘ दर्ता अभिलेखिकरणको काम ठुलो संख्यामा बाँकी छ, ६ हजार सहकारीको सम्पूर्ण विवरण प्रविष्ट पश्चात लाइसेन्स दिनुपर्नेछ । त्यसपछि मात्र संस्था नविकरणमा जान्छौं । नविकरणको व्यवस्था ऐनमा नै छ, केही समय ढिला होला तर नविकरण भने गर्नैपर्छ ।’
लाइसेन्स लिइसकेका संस्थाहरुले तत्काल नविकरण गर्नु नपर्ने र प्राधिकरणले सूचना जारी गरेपछि मात्र नविकरण कार्य अगाडि बढाइने छ । इजाजत दिनै बाँकी रहेकाले नविकरण सुरु गर्दा थप काम थपिने र कामको बोझ समेत बढ्ने भएकाले संस्थाहरुलाई इजाजत दिने काम अझ प्रगति भएपछि नविकरणतर्फ जाने उनले जनाए । नविकरण गर्दा संस्थाहरुबाट कति शुल्क लिने भन्ने विषयमा समेत प्राधिकरणले छलफल गरी राखेको र कति शुल्क लिँदा संस्थाहरुलाई सहज हुन्छ भन्ने विषयमा ध्यानकर्षण भएको कार्यकारी निर्देशक महतोले बताए । प्राधिकरणले गत मंसिर १० गतेबाट संस्था दर्ता अभिलेखिकरणको काम सुरु गरेको हो । पटक –पटक समय थप गरी प्राधिकरणले संस्थाहरुको अभिलेखिकरणको काम गर्दै आएको छ ।
नेपालपत्र संवाददाता