काठमाडौं । आन्तरिक राजस्व विभागले असार महिनामा खपत भएको विद्युत महशुलमा मूल्य अभिवृद्धि कर (भ्याट) नलाग्ने स्पष्ट पारेको छ। नेपाल विद्युत् प्राधिकरणले असारको खपतको बिल साउनमा जारी गर्दा भ्याट समावेश गरेपछि उपभोक्ताबाट गुनासो आएसँगै विभागले आर्थिक ऐन, २०८३ अनुसार विद्युत् सेवामा भ्याट साउन १ गतेदेखि मात्र लागू हुने भएकाले ३२ असारसम्मको खपतमा भ्याट नलाग्ने जनाएको हो। यदि असारसम्मको खपतमा भ्याट असुल गरिएको भए त्यसको समायोजन गरिने विभागले स्पष्ट पारेको छ।
सरकारले आर्थिक ऐनमार्फत ५० युनिटभन्दा बढी विद्युत् खपत गर्ने घरायसी उपभोक्तालाई ५ प्रतिशत तथा व्यावसायिक र अन्य उपभोक्तालाई १३ प्रतिशत भ्याट लगाउने व्यवस्था गरेको छ। यो व्यवस्था लागू हुने मितिबारे अन्योल भएपछि नेपाल विद्युत् प्राधिकरणले आन्तरिक राजस्व विभागसँग औपचारिक राय मागेको थियो।
विभागका अनुसार साउन १ गतेदेखि भएको विद्युत् खपतमा मात्र नयाँ व्यवस्था लागू हुनेछ। प्राधिकरणले स्वीकृत ट्यारिफअनुसार असुल गर्ने न्यूनतम चार्ज र डिमान्ड चार्ज पनि विद्युत् सेवाकै शुल्क भएकाले ती रकममा समेत सम्बन्धित दरअनुसार भ्याट लाग्नेछ। प्राधिकरणले विभागको आधिकारिक रायका आधारमा आगामी बिलमा आवश्यक समायोजन गर्ने जनाएको छ।
नेपालपत्र संवाददाता