नेपाल राष्ट्र बैंकले बढ्दो डिजिटल कारोबारसँगै वित्तीय ठगी (स्क्याम) को जोखिम पनि बढ्दै गएको भन्दै सर्वसाधारणलाई सचेत रहन आग्रह गरेको छ। बैंकका अनुसार नयाँ प्रविधि, डिजिटल सेवा र सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै ठगीका तरिका पनि परिष्कृत बन्दै गएका छन्। त्यसैले ठगीका सुरुआती संकेत (रेड फ्ल्याग्स) समयमै पहिचान गर्न सके आर्थिक क्षतिबाट बच्न सकिने जनाइएको छ।
राष्ट्र बैंकका अनुसार अपरिचित व्यक्ति वा संस्थाले पठाएका लिंक तथा फाइल खोल्न आग्रह गर्नु, अस्वाभाविक शैलीमा पैसा माग्नु, अपरिचित खातामा रकम पठाउन दबाब दिनु, सामाजिक सञ्जालमार्फत मात्र वित्तीय कारोबार गर्न खोज्नु वा प्रयोगकर्ता नाम, पासवर्ड, पिन र ओटीपी जस्ता गोप्य विवरण माग्नु ठगीका प्रमुख संकेत हुन्। त्यसैगरी तत्काल निर्णय गर्न दबाब दिने, नयाँ खाता खोल्न वा विवरण अद्यावधिक गर्न आग्रह गर्ने तथा कम जोखिममा अत्यधिक नाफाको प्रलोभन देखाउने प्रस्तावप्रति पनि विशेष सावधानी अपनाउन बैंकले सुझाव दिएको छ।
राष्ट्र बैंकले यस्ता स्क्याममा परे पीडित आफैंले ठगको खातामा रकम पठाउने, बैंकिङ विवरण चोरी हुने तथा मोबाइल वा कम्प्युटरमा रिमोट एक्सेस वा स्क्रिन सेयरिङमार्फत ठगले नियन्त्रण स्थापित गर्न सक्ने चेतावनी दिएको छ।
शंकास्पद गतिविधि देखिएमा कारोबार तत्काल रोक्न, सम्बन्धित व्यक्ति वा संस्थाको आधिकारिकता पुष्टि गर्न तथा आवश्यक परे साइबर ब्युरो, प्रहरी, सम्बन्धित वित्तीय संस्था र नियामक निकायलाई तुरुन्त जानकारी गराउन राष्ट्र बैंकले आग्रह गरेको छ। साथै वित्तीय सेवासम्बन्धी गुनासो राष्ट्र बैंकको अनलाइन पोर्टलमार्फत पनि दर्ता गर्न सकिने जनाएको छ।
नेपालपत्र संवाददाता