सोमबार, श्रावण ११ गते २०८३

नेफ्स्कूनका अधिकृतलाई उद्यम–उद्यमी म्याट्रिक्ससम्बन्धी अनुशिक्षण


श्रावण १०, २०८३ आइतबार
नेफ्स्कूनका अधिकृतलाई उद्यम–उद्यमी म्याट्रिक्ससम्बन्धी अनुशिक्षण

 

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) ले उद्यम विकास तथा प्रवर्द्धनका कार्यक्रमलाई थप प्रभावकारी र परिणाममुखी बनाउने उद्देश्यले आफ्ना १५ जना अधिकृतस्तरका कर्मचारीलाई उद्यम–उद्यमी म्याट्रिक्स तथा नक्साङ्कनसम्बन्धी अनुशिक्षण प्रदान गरेको छ।

श्रावण ८ गते आयोजित अनुशिक्षणमा उद्यमी छनोट प्रक्रिया, व्यवसायको प्रारम्भिक छनोट, सम्भावित उद्यमीको पहिचान तथा छनोटका आधार, उद्यम–उद्यमी म्याट्रिक्सको प्रयोग, नक्साङ्कन प्रक्रिया र फिल्डमा यसको व्यावहारिक प्रयोगबारे प्रशिक्षण दिइएको नेफ्स्कूनले जनाएको छ।

कार्यक्रममा स्थानीय स्रोत–साधनको पहिचान, बजार सम्भाव्यता विश्लेषण, व्यवसाय सञ्चालनका अवसर र चुनौती, लक्षित समूहको छनोट तथा उद्यम विकासका विभिन्न चरणबारे पनि छलफल गरिएको थियो। उद्यम प्रवर्द्धन कार्यक्रम प्रभावकारी बनाउन कर्मचारीको व्यावसायिक दक्षता, समन्वय र कार्यक्षमता अभिवृद्धिमा समेत जोड दिइएको थियो।

अनुशिक्षणको सहजीकरण नेफ्स्कूनका वरिष्ठ अधिकृत नवीन राज दाहालले गरेका थिए। उनले उद्यम–उद्यमी म्याट्रिक्स र नक्साङ्कनले सम्भावित उद्यमीको वैज्ञानिक तथा वस्तुगत मूल्याङ्कन गर्न, उपयुक्त व्यवसाय छनोटमा सहजीकरण गर्न र उद्यम विकास कार्यक्रमको प्रभावकारिता बढाउन सहयोग पुग्ने बताए।

सहभागी अधिकृतहरूले अनुशिक्षणबाट प्राप्त ज्ञानलाई आगामी कार्यक्रम तथा फिल्डस्तरीय कार्यसम्पादनमा प्रयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। नेफ्स्कूनले यस्ता क्षमता अभिवृद्धिमूलक कार्यक्रमले कर्मचारीको व्यावसायिक दक्षता विकाससँगै उद्यम प्रवर्द्धनसम्बन्धी सेवाको गुणस्तर सुधारमा योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।

 

nefscun 1.jpg