अमेरिकाले चीनसहित ६० व्यापारिक साझेदारमाथि नयाँ आयात शुल्क लागू गरेपछि विश्वका दुई ठूला अर्थतन्त्रबीचको व्यापारिक तनाव फेरि चर्किने संकेत देखिएको छ। वासिङ्टनले चीनमाथि सबैभन्दा उच्च १२.५ प्रतिशत शुल्क लगाएपछि बेइजिङले त्यसलाई “एकपक्षीय कदम” भन्दै कडा विरोध जनाएको हो।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले व्यापार युद्ध कसैको हितमा नहुने चेतावनी दिँदै अमेरिकालाई द्वन्द्वको बाटो नसमाउन आग्रह गरे । उहाँले नयाँ शुल्कले विश्व व्यापारमा थप अनिश्चितता र तनाव सिर्जना गर्ने जनाए।
अमेरिकी प्रशासनले भने जबरजस्ती श्रमबाट उत्पादित वस्तुको आयात रोक्न नयाँ नीति आवश्यक रहेको दाबी गरेको छ। अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रियरका अनुसार व्यापारिक साझेदारहरूले पनि मानवअधिकारसम्बन्धी समान प्रतिबद्धता देखाउनुपर्ने समय आएको छ।
शुक्रबारदेखि लागू भएको नयाँ व्यवस्थाअनुसार क्यानाडा, युरोपेली सङ्घ र बेलायतलाई १० प्रतिशत शुल्क लगाइएको छ भने चीन, भारत र जापानजस्ता प्रमुख व्यापारिक साझेदार १२.५ प्रतिशतसम्मको शुल्क दायरामा परेका छन्।
गत वर्ष ट्रम्प र सी जिनपिङबीचको भेटपछि केही मत्थर बनेको व्यापार विवाद ट्रम्प प्रशासनको पछिल्लो निर्णयसँगै फेरि बल्झिने संकेत देखिएको छ। केही महिनाअघि दुवै देशले शुल्क घटाउने संकेत दिएका भए पनि नयाँ कदमले अमेरिका–चीन व्यापार सम्बन्ध फेरि कठिन मोडमा पुगेको विश्लेषण गरिएको छ।
नेपालपत्र संवाददाता