बुधबार, भाद्र ३ गते २०८३

नेपालको प्रगतिशील परराष्ट्र नीति निर्माणमा कमरेड पुष्पलालको योगदान : हिरण्यलाल श्रेष्ठ


श्रावण ७, २०८३ बिहीबार
नेपालको प्रगतिशील परराष्ट्र नीति निर्माणमा कमरेड पुष्पलालको योगदान : हिरण्यलाल श्रेष्ठ

sachetna-1-1536x864.jpg
हिरण्यलाल श्रेष्ठ
१.बिषय प्रबेश :
१.१ राणाशाहीको परराष्ट्र नीति
राणा कालको परराष्ट्र नीति एंग्लो–अमेरिकी साम्राज्यबादपरस्त थियो । २००५ सालमा कम्युनिष्ट पार्टीक संस्थापक महासचिव कमरेड पुष्पलालले मार्क्स-एंगेल्सको बिश्व प्रसिद्ध ‘कम्युनिष्ट घोषणापत्र’ नेपालीमा अनुबाद गरी प्रकाशित गरेको पुस्तकको भूमिकामा लेख्नु भएको थियो – ‘‘नेपाली जनतको दुश्मन केवल नेपाली सामन्त राणा मात्र होइन,वास्तवमा यो सामन्त राणालाई भरोसा टेवा दिने भारतीय पूजीपति र बिश्व प्रतिकृयाबादीहरुको नेता एंग्लो–अमेरिकी साम्राज्यबाद पनि हो ।(पुष्पलाल ः ‘नेपाल कम्युनिष्ट पार्टीको संक्षिप्त इतिहास’ पृष्ठ २९)  । यसरी नेपाली भाषामा अनुदित यो नै पहिलो माक्र्सबादी साहित्य हो । यसको भूमिकामा देखाइएको नेपाली जनताका मूल शत्रु राणाका पृष्ठपोषक एंग्लो–अमेरिकी साम्राज्यबाद र भारतीय एकाधिकार पूँजीको बिस्तारबाद हो, त्यसको बिरोध गरौं भन्ने बैकल्पिक सोच हो । यो बैकल्पिक सोच प्रचार प्रसार नभएको भए २००७ साल पछिको नेपालको परराष्ट्र नीति असंलग्न हुने थिएन ।
१.२ बैकल्पिक परराष्ट्र नीति
त्यस्तै नेपाल कम्युनिष्ट पार्टी स्थापना पछि प्रकाशित २४ अप्रिल १९४९ को प्रथम पर्चामा उल्लिखित नारामा यस्तो लेखिएको थियो – ‘‘सामन्त शासन ब्यवस्थालाई चकनाचुर गर,बिदेशी साम्राज्यबाद र भारतीय पूजीवादको घेरा र प्रभावदेखि अलग होउ’’(कमरेड पुष्पलाल कम्युनिष्ट आन्दोलनको संंक्षिप्त इतिहास पृष्ट ३९) नेपाल कम्युनिष्ट पार्टीबाट १९४९ सेप्टेम्बर १५मा प्रकाशित घोषणापत्रमा परराष्ट्र नीतिसिद्ध सम्वन्धित हुन आउने निम्न बूँदाहरु उल्लेख गरिएका थिए :
१.सामन्तबादी निरंकूश राजसत्ता र बिदेशी शोषणको जुवालाई एकदम सफचट गरी नेपाललाई पूर्ण तथा वास्तबिकरुपमा स्वतन्त्र गराउने
२.मजदुर, पसिना चुहाउने किसान र शोषित तथा दलित निम्न बर्गलाई प्रतिनिधित्व गर्ने एउटा प्रजातान्त्रिक सरकारको जग बसाउने । अग्रेज–अमेरिकन साम्राजयबादसँग नाता तोडी सबै जाति(राष्ट्र)को स्वतन्त्रता र शान्तिका निम्ति लडिराखेका प्रजातान्त्रिक राष्ट्रहरुसँग नाता जोड्ने’’। प्रस्तुत मागहरुमा  ‘‘बिदेशी साम्राज्यबादी देशहरुका फौजमा रहेका हाम्रा खसम र छोराहरु फिर्ता देउ, नेपाललाई स्वतन्त्र, नेपालका जनताको प्रजातन्त्र’’ नारा समेत समावेश गरिएको छ ।(कमरेड पुष्पलाल छानिएका रचनाहरु भाग १ पृष्ठ ४१–४६) नेपालका कम्युनिष्टहरुले २००७ सालका क्रान्तिमा भाग लिएका थिए । तर भारतको मध्यस्थतामा राजा, राणा र काग्रेस बीच क्रान्तिलाई बिचैमा संझौतामा टुँग्याइयो । उक्त धोकापूर्ण दिल्ली सम्झौता बिरुद्ध नेपाल कम्युनिष्ट पार्टीले ‘‘दिल्ली सम्झौता धोका हो’’ भनी राजनैतिक अभियान चलायो । त्यसबेलादेखि आन्तरिक मामिलामा बिदेशी हस्तक्षेपको बिरोध गर्ने प्रचलन चल्यो ।
२.परराष्ट्र नीति बारेको सोच :
क. पुष्पलालले परराष्ट्र नीतिको सोच बिभिन्न दस्ताबेजहरुमा प्रस्तुत गर्नु भएको देखिन्छ । उहाँका ती सोचहरुलाई निम्न बूँदाहरुमा प्रस्तुत गरिन्छ

२.१.एंग्लाे -अमेरिकी साम्राज्यबादकाे बराेध :– कमरेड पुष्पलालले एंग्लो–अमेरिकी साम्राज्यबादको बिरोध प्रष्टरुपमा गर्दै आउनु भयो । उहाँले नेपाल अग्रेज युद्ध पछिको सुगौली सन्धिको समीक्षा गर्दै लेख्नु भयो – नेपालमाथि सन् १८१६ मा सुगौली सन्धि लादियो । त्यस सुगौली सन्धिको फलस्वरुप नेपालमा अग्रेजी दूतावास रहने भयो र नेपालले अग्रेजी साम्राज्यबादको अनुमति बिना अन्य कुनै शक्तिसँग सम्बन्ध राख्न नपाउने भयो । नेपालले आफ्नो इतिहासमा पहिलो पटक आफ्नो प्रभुसत्तामा आँच आएको देख्नुप¥यो ।(क. पुष्पलाल ‘नेपाली जन आन्दोलन एक समीक्षा’ पृष्ठ ९) दरबार भित्र गुट उपगुटका बिभाजन र द्वन्द्वहरुमा अग्रेज साम्राज्यबादी शक्तिले खेल्ने र खेलाउने मौका पायो । कोत पर्बपछि राणाशाहीको उदय भयो । अग्रेजको आशिर्बाद पाएको राणाशाहीले ‘‘अग्रेजी साम्राज्यबादको फैलावट र टिकाउनमा नै आफ्नो अस्तित्व देख्यो ।’’(क. पुष्पलाल ः ‘नेपाली जन आन्दोलन एक समीक्षा पृष्ठ १३) यसरी समीक्षा गर्ने पुष्पलालले साम्राज्यबाद बिरुद्ध जीवनभर संघर्ष गर्नुभयो ।
२.२ भारतीय एकाधिकार पूँजी बिस्तारको बिरोध – नेपालको अर्थतन्त्रमा राष्ट्रिय पूँजीको बिकास हुन थाल्दा सन् १९०४मा चन्द्र समशेरले अग्रेजलाई तिब्बतमा ब्यापार बिस्तार गर्न नेपाल भएर जाने बाटोको बदला सिक्किमको बाटो खुलाउन योङ्गहस्बेण्ड मिसनलाई सहयोग गरेको मात्र होइन, नेपाल भित्र भारतीय पूँजीपतिहरुलाई प्रबेश गर्न दिए । त्यसै बेलादेखि भारतीय एकाधिकार पूँजी बिस्तारको काम शुरु भयो  कमरेड पुष्पलालका शब्दमा ‘नेपाली समन्तको स्वार्थ अग्रेजी साम्राज्यबादको अतिरिक्त भारतीय एकाधिकार पूँजीपतिसँग पनि अभिन्नरुपले गाँसिन पुग्यो’। (क. पुष्पलाल : नेपाली जन आन्दोलन एक समीक्षा’ पृष्ठ १७)।
२.३ गोर्खा भर्तिकेन्द्रको बिरोध : नेपाल अग्रेज युद्धको बेलानै गोर्खाली युद्धबन्दीहरुलाई बृटिश–भारतीय सेनामा संगठित गरियो ।पछि राणा कालमा औपचारिकरुपमा गोर्खा भर्ति गर्ने सम्झौता गरे । यसरी एशियाली बिरुद्ध एशियालीहरुलाई प्रयोग गर्ने अग्रेजको नीति कार्यान्वयन भयो । प्रथम र दोश्रो बिश्व युद्धहरुश्रमा समेत गोर्खाली सेनाको प्रयोग भयो । नेपाल अमेरिकासँग पनि युद्धमा जोडिन पुग्यो ।१९४९ मा भारत, बेलायत र नेपाल त्रि–पक्षीय सम्झौता गरी नेपाली सेनाको बाँडफाँड भयो । कमरेड पुष्पलालले निरन्तर गोर्खा भर्तिको बिरोध गर्नुभयो ।(हिरण्यलाल श्रेष्ठ शान्ति सेना र बिदेशी सेनाहरुमा नेपाली÷गोर्खाली २०७३ साल पृष्ठ ५८)
२.४ अन्तर्राष्ट्रिय मित्र शक्तिहरुको पहिचान : कमरेड पुष्पलालले नयाँ जनबादी कार्यक्रममा  अन्तर्राष्ट्रिय मित्र शक्तिहरुको प्रष्ट उल्लेख गर्नुृ भएको छ । उहाँकै शब्दमा ‘‘अन्तराष्ट्रिय बिश्व समाजबादी ब्यवस्था, अन्तराष्ट्रिय मजदुर आन्दोलन, अन्तराष्ट्रिय नवजात राष्ट्रका जनबादी आन्दोलन बिशेषगरी भारतीय जनबादी आन्दोलन र प्रबासी नेपालीहरु पनि जनवादी क्रान्तिका सहायक शक्ति हुन् । (पुष्पलाल नयाँ जनबादी कार्यक्रम)। यसै आधारमा उहाँले समाजबादी देशहरुसँग सम्वन्ध गाँस्न आह्वान गर्नुभयो, भारतीय जनबादी शक्तिहरुसँग सम्पर्क र सहयोग बढाउनु भयो ।
२.५ असमान सन्धिहरुको बिरोध – कमरेड पुष्पलालले बिदेशीहरुसँग नेपालले गरेका असमान सन्धिहरुको खारेज गर्न माग गर्नु भयो । १९४७ को गोर्खा भर्ति सन्धि,१९५० को नेपाल भारत मैत्री तथा शान्ति सन्धि, ब्यापार तथा पारबाहन सन्धिहरुको बिरोध उहाँले गर्नुभयो । ब्यापार र पारबाहन सन्धिलाई अलग गर्नुपर्ने बिचार प्रकट गर्नु भयो । ब्यापार तथा बाणिज्य नीति अस्थाई हुन्छ तर पारबाहनको नीति स्थाई हुन्छ (नेपाल सम्वन्धमा कमरेड पुष्पलालका लेख रचनाहरु पृष्ठ १५) । कसैसँग बिशेष सम्वन्ध हैन, सबैसँग समान सम्वन्ध गास्नु पर्छ पनि उहाँले भन्नु भएको छ ।
३.कार्यान्वयन गर्ने संयन्त्र र माध्यमहरु :
३.१ पार्टीको संयन्त्र – कमरेड पुष्पलालले पार्टीको केन्द्रिय तहका बैठक, सम्मेलन, प्लेनम र अधिवेशनहरुमा प्रस्तुत गरेका दस्ताबेजहरुमा सन्दर्भ अनुसार परराष्ट्र नीति बारे उल्लेख गर्नु भएको छ । कार्यान्वयन गर्दा स्थानीय तह र समितिहरुलाई परिचालन गरी सडकबाट समेत दबाब दिनु भएको छ ।
३.२ संयुक्त मोर्चाबाट दबाब परिचालन – परराष्ट्र मामिलाका मुद्धाहरुलाई कार्यान्वयन गराउन बेला बखत संयुक्त मोर्चाहरु गठन गरेका उद्धाहरणहरु पनि छन् । क. पुष्पलालकै पहलमा नेपाल कम्युनिष्ट पार्टी र नेपाल प्रजापरिषद बीच ‘जातीय जनतान्त्रिक संयुक्त  मोर्चा’ गठन गरी त्यसमा जन बर्गीय संगठनहरुलाई समेत समावेश गरेर नेपालको आन्तरिक मामिलाहरुमा बाह्य हस्तक्षेप बिरुद्ध आन्दोलन समेत सञ्चालन गरेको थियो (अरबिन्द रिमाल १९९७ सालदेखि २०१७ सालसम्म पृष्ठ १७७—१८०)।
३.३ जनबर्गीय संगठनमार्फत अभियान – क.पुष्पलालको पहलमा बिभिन्न जन बर्गीय संगठनहरुको निर्माण र सञ्चालन गरिएका थिए । अखिल नेपाल किसान संघ,नेपाल राष्ट्रिय बिद्यार्थी फेडरेशन, नेपाल यूवा संघ, अ.ने.रा.ट्रेड यूनियन र नेपाल योङ्ग कम्युनिष्ट लीग जस्ता जन बर्गीय र भातृ संगठनहरु गठन गरी आफ्ना भगिनी संगठनहरु मार्फत बिबिध सवालहरु उठाउनुको साथै दिल्ली सम्झौता लगायत असमान सन्धिहरुको बिरोध गराएको थियो ।
३.४ भाइचारा पार्टीहरु मार्फत – कमरेड पुष्पलालले भाइचारा पार्टीहरुसँग सम्बन्ध गाँसेर खाशगरी कम्युनिष्ट पार्टीहरुसित ती पार्टीहरु मार्फत त्यहाँका सरकारहरुलाई नेपालसँग औपचारिक दौत्य सम्वन्ध स्थापना गर्न पहल गरेको पनि उल्लेखनीय छ । भारतका पार्टीहरुसँग सम्पर्क गरी त्यहाँको सरकारलाई नेपालमाथि अन्याय नगर्न सुझाव दिन समेत पहल गरेको थियो । 
३.५ संसद मार्फत – क. पुष्पलालको पहलमा २०१५ सालको आम निर्बाचनबाट स्थापित संसदमा आफ्नो पार्टीका सांसदहरुलाई परराष्ट्र बिषयमा बोल्न लगाउनु भएको थियो । पार्टीको संसदीय समिति बनाएर त्यसको लागि सन्दर्भ सामाग्रीहरु जुटाइदिएको थियो । त्यो संसदीय समितिको सचिवमा लक्ष्मण राजबंशीलाई नियुक्त गरिएको थियो । कोशी, गण्डक सम्झौताहरुको बिरोध,डाल्डा घिउ आयातको बिरोध जस्ता धेरै राष्ट्र र जन हितका सवाल उठाउन लगाएको थियो । 
३.६ बिशेषिकृत संस्थाहरुको स्थापना – क. पुष्पलालको पहलमा परराष्ट्र मामिलामा सघाउन कबिवर सिद्धिचरण श्रेष्ठको अध्यक्षतामा नेपाल बिश्व शान्ति समिति, पूर्णबहादुर एमएको अध्यक्षतामा नेपाल अफ्रो–एशियाली जन एकता समितिहरु गठन गरिएका थिए । बिश्व शान्तिका मुद्धाहरु उठाउने र अफ्रो–एशियाली देशहरुका बीच ऐक्यबद्धता प्रकट गराउने कार्य गरिएको थियो ।
३.७ प्रवासमा संगठन – क. पुष्पलालकै पहलमा भारतको प्रवासमा आप्रवासी नेपालीहरुका बीच संगठन निर्माण गर्ने र त्यस फोरमबाट जनमैत्री अभिबृद्धि गर्ने कार्य गरिएको थियो ।
३.८ जन मैत्री संघको निर्माण – क. पुष्पलालले भारतमा नेपालको सीमाना नजिकैका बिश्वबिद्यालयका प्राज्ञहरु र सार्वजनिक क्षेत्रका ब्यक्तित्वहरुलाई नेपाल–भारत जन मैत्री संघमा संगठित गरी मित्रताको प्रबद्र्धन गर्न यस्तो सफ्टपावर(नरम शक्ति)को परिचालन समेत गर्नु भएको थियो ।
४.दुइ पक्षीय मैत्री तथा साँस्कृतिक संघहरु :
४.१ नेपाल चीन मैत्री संघ – कमरेड पुष्पलालको पहलमा पूर्णबहादुर एमको अध्यक्षतामा नेपाल चीन मैत्री संघ स्थापना गरी दुइ देश बीच दौत्य सम्वन्ध स्थापना गर्न सरकारमाथि दबाव सिर्जना गरेको थियो । पार्टीका पोलिट ब्यूरो सदस्य गौरीभक्त प्रधानलाई मुस्ताङ्गबाट हिमाल पार गराएर चिनीयाँ कम्युनिष्ट पार्टीसँग भाइचारा सम्वन्ध गाँसिएको थियो र यसरी दुइ पक्षीय मैत्री सम्वन्ध प्रबद्र्धन गरिएको थियो ।
४.२ नेपाल–सोभियत मैत्री संघ – यसरी नै कमरेड पुष्पलालकै पहलमा नेपाल प्रजापरिषदका नेताहरु रामहरि शर्मा र हरिकृष्ण श्रेष्ठलाई अघि सारेर नेपाल–सोभियत मैत्री संघ गठन गरी जन स्तरमा मित्रता प्रबद्र्धन गरिएको थियो ।
४.३ नेपाल–कोरिया मैत्री संघ – त्यसरी नै कमरेड पुष्पलालको पहलमा प्रेमबहादुर कंसाकारको अध्यक्षतामा नेपाल–कोरिया मैत्री संघको गठन गरेर जन–मैत्री प्रबद्र्धन गरिएको थियो । 
४.४ नेपाल–भियतनाम मैत्री संघ – कमरेड पुष्पलालकै पहलमा निरञ्जन गोबिन्द बैद्यको अध्यक्षतामा नेपाल–भियतनामा मैत्री संघ पनि गठन गरिएको थियो ।
५ सारांश 
५.१ समग्रमा क.पुष्पलालले राष्ट्रिय हितको प्रबर्ध्दन र सर्बहारा अन्तर्राष्ट्रबादी कर्तब्य पूरा गर्न सदनदेखि सडकसम्म देशभक्तिपूर्ण जनमतको यसरी निर्माण गर्नु भएको थियो । 
५.२ कमरेड पुष्पलाल परराष्ट्र मामिलामा सफ्ट पावर (नरम शक्ति) परिचालन गर्न निपुण हुनुहुन्थ्यो । नयाँ नयाँ संयन्त्र र माध्यमहरु निर्माण गर्न सिपालु हुनुहुन्थ्यो ।
५.३ कमरेड पुष्पलाल नै नेपालमा साम्राज्यबाद, प्रभूत्वबाद, बैदेशिक हस्तक्षेपको बिरुद्ध लेख्ने,बोल्ने पहिलो ब्यक्ति हुनुहुन्थ्यो परराष्ट्र मामिलामा बर्गीय दृष्टिकोण राखेर ब्याख्या गर्ने र अभियान चलाउने अग्रणी हुनुहुन्थ्यो ।
५.४ राणाशाहीको एंग्लो–अमेरिकी–भारतीय एकाधिकार पूँजी बिस्तार गर्ने नीतिको बिकल्पमा राष्ट्रिय जनमुक्ति आन्दोलनको पक्षपोषण गर्ने सिद्धान्तकार र त्यसलाई कार्यान्वयन गर्ने सर्बहारा अन्तर्राष्ट्रबादी अभियानका अगुवा हुनुहुन्थ्यो । यसरी प्रगतिशील परराष्ट्र नीति निर्माणमा कमरेड पुष्पलालको योगदान ठोस र दुरगामी रहेको छ ।