बुधबार, भाद्र ३ गते २०८३

एक खर्ब निक्षेप तान्दै राष्ट्र बैंक, तरलता व्यवस्थापन गर्न ८३ दिने उपकरण जारी


श्रावण ६, २०८३ बुधबार
एक खर्ब निक्षेप तान्दै राष्ट्र बैंक, तरलता व्यवस्थापन गर्न ८३ दिने उपकरण जारी

 

काठमाडौं, नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्ने उद्देश्यले बुधबार रु एक खर्ब बराबरको निक्षेप सङ्कलन गर्ने भएको छ। राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले ८३ दिन अवधिको निक्षेप सङ्कलन उपकरण मार्फत उक्त रकम सङ्कलन गर्न बोलकबोल आह्वान गरेको हो। बोलकबोल आज अपराह्न ३ बजेसम्म अनलाइन बिडिङ प्रणालीमार्फत हुनेछ भने उपकरणको निष्कासन पनि आजै गरिनेछ।

राष्ट्र बैंकका अनुसार उपकरणको ब्याजदर प्रतिस्पर्धात्मक बोलकबोलबाट निर्धारण हुनेछ। साँवा र ब्याज २०८३ असोज २७ गते एकमुष्ट भुक्तानी गरिनेछ। बोलकबोलमा न्यूनतम रु १० करोडदेखि आह्वान गरिएको कुल रकमसम्म आवेदन दिन सकिनेछ। सहभागी संस्थाले फरक–फरक ब्याजदरमा एकभन्दा बढी बोलसमेत पेश गर्न पाउनेछन्। यसमा राष्ट्र बैंकबाट इजाजत प्राप्त 'क', 'ख' र 'ग' वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन सक्नेछन्।

राष्ट्र बैंकले कम ब्याजदर प्रस्ताव गर्ने बोललाई प्राथमिकता दिँदै आह्वान गरिएको रकमसम्म स्वीकृत गर्ने जनाएको छ। समान ब्याजदरमा माग बढी भए प्रो–राटा आधारमा बाँडफाँट गरिनेछ। सम्पूर्ण वा आंशिक बोल स्वीकृत वा अस्वीकृत गर्ने अधिकार भने खुला बजार कारोबार सञ्चालन समितिमा रहनेछ।

केन्द्रीय बैंकले निक्षेप सङ्कलन उपकरणलाई लगानी पोर्टफोलियोका रूपमा गणना गरिने जनाएको छ। यसमा राखिएको रकम अनिवार्य नगद मौज्दात (सीआरआर) मा गणना नहुने भए पनि वैधानिक तरलता अनुपात (एसएलआर) तथा तरलता अनुपात मा भने गणना गर्न मिल्नेछ।