बुधबार, भाद्र ३ गते २०८३

परियोजना बढे पनि वैदेशिक लगानी प्रतिबद्धता घट्यो, कृषिमा सबैभन्दा धेरै रकम


श्रावण ४, २०८३ सोमबार
परियोजना बढे पनि वैदेशिक लगानी प्रतिबद्धता घट्यो, कृषिमा सबैभन्दा धेरै रकम

 

गएको आर्थिक वर्ष २०८२/८३ मा वैदेशिक लगानीका परियोजनाको संख्या उल्लेखनीय रहे पनि कुल लगानी प्रतिबद्धता भने अघिल्लो वर्षको तुलनामा घटेको छ। उद्योग विभागका अनुसार आर्थिक वर्षभर एक हजार ११६ परियोजनामार्फत ५८ अर्ब १० करोड रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिवद्धता आएको छ। अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा भने ६४ अर्ब ९६ करोड रुपैयाँ बराबरको प्रतिबद्धता आएको थियो। यसअनुसार एक वर्षमै वैदेशिक लगानी प्रतिबद्धता करिब ६ अर्ब ८६ करोड रुपैयाँ ले घटेको देखिन्छ।

यद्यपि आर्थिक वर्षको अन्तिम महिना असारमा मात्रै २०२ परियोजनामार्फत १० अर्ब ३८ करोड ४१ लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ। विभागको तथ्याङ्कअनुसार अन्य महिनाको तुलनामा असारमा नै सबैभन्दा धेरै लगानी प्रतिबद्धता आएको हो।

क्षेत्रगत रूपमा हेर्दा कृषिक्षेत्रले सबैभन्दा ठूलो लगानी आकर्षित गरेको छ। १८ वटा कृषिसम्बन्धी परियोजनामा २३ अर्ब १८ करोड रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको छ, जुन कुल प्रतिबद्धताको करिब ४० प्रतिशत हो। त्यसपछि पर्यटन क्षेत्रका २२७ परियोजनामा १३ अर्ब ९९ करोड ७४ लाख ५० हजार रुपैयाँ र ऊर्जा क्षेत्रका चार परियोजनामा ७ अर्ब १६ करोड ८६ लाख रुपैयाँ बराबरको प्रतिबद्धता आएको विभागले जनाएको छ।

परियोजनाको संख्याका आधारमा भने सूचना प्रविधि (आईटी) क्षेत्र अग्रस्थानमा रहेको छ। विभागमा दर्ता भएका कुल १,११६ परियोजनामध्ये ७२७ वटा आईटी क्षेत्रका छन्, जुन कुल परियोजनाको करिब ६५ प्रतिशत हो। यस्तै सेवामूलक ७१ परियोजनामा ४ अर्ब ९१ करोड ४० लाख रुपैयाँ, पूर्वाधारका दुई परियोजनामा १ अर्ब ८० करोड ४४ लाख रुपैयाँ तथा खनिज क्षेत्रका चार परियोजनामा १८ करोड ५० लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ।

विभागका अनुसार गत आर्थिक वर्षमा १,०९२ साना, १२ मझौला र १२ ठूला उद्योग दर्ता भएका छन्। कुल लगानी प्रतिबद्धतामध्ये कृषिक्षेत्रले ४० प्रतिशत, पर्यटनले २४ प्रतिशत, ऊर्जाले १२ प्रतिशत, सेवाक्षेत्रले नौ प्रतिशत र उत्पादनमूलक क्षेत्रले सात प्रतिशत हिस्सा ओगटेका छन्।