बुधबार, भाद्र ३ गते २०८३

महिला उद्यमी कर्जामा ३० हजार ऋणी, सहुलियतपूर्ण कर्जा ७८ अर्ब नाघ्यो


श्रावण ४, २०८३ सोमबार
महिला उद्यमी कर्जामा ३० हजार ऋणी, सहुलियतपूर्ण कर्जा ७८ अर्ब नाघ्यो

 

सरकारको सहुलियतपूर्ण कर्जा कार्यक्रममा महिला उद्यमी कर्जा सबैभन्दा प्रभावकारी योजनाका रूपमा देखिएको छ। नेपाल राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्ष २०८२/८३ को ११ महिनासम्म ३० हजार महिला उद्यमीले २९ अर्ब ७९ करोड रुपैयाँ कर्जा प्राप्त गरेका छन्। यो सहुलियतपूर्ण कर्जा कार्यक्रमअन्तर्गत लाभग्राही संख्या र कर्जा प्रवाह दुवै हिसाबले सबैभन्दा ठूलो हिस्सा हो। दलित समुदाय व्यवसाय विकास कर्जातर्फ भने २९३ जनाले २१ करोड १७ लाख रुपैयाँ कर्जा लिएका छन्।

राष्ट्र बैंकका अनुसार हालसम्म ५२ हजार ११९ जना ऋणीले कुल ७८ अर्ब २५ करोड रुपैयाँभन्दा बढी सहुलियतपूर्ण कर्जा प्राप्त गरेका छन्। यस कार्यक्रम सञ्चालनका लागि सरकारले ३९ अर्ब २७ करोड रुपैयाँ ब्याज अनुदान उपलब्ध गराइसकेको छ। सबैभन्दा धेरै व्यावसायिक कृषि तथा पशुपन्छी कर्जामा ४७ अर्ब ५१ करोड रुपैयाँ प्रवाह भएको छ, जसमा १ अर्ब ८८ करोड रुपैयाँ बिनाधितो र ४५ अर्ब ६३ करोड रुपैयाँ धितोसहितको कर्जा रहेको राष्ट्र बैंकले जनाएको छ।

अन्य शीर्षकका कर्जामा भने आकर्षण न्यून देखिएको छ। शिक्षित युवा स्वरोजगार कर्जा केवल ४५ जनाले १ करोड ९२ लाख रुपैयाँ, वैदेशिक रोजगारीबाट फर्केका युवा परियोजना कर्जा १६० जनाले १२ करोड ६ लाख रुपैयाँ, उच्च तथा प्राविधिक शिक्षा कर्जा २६ जनाले, भूकम्पपीडित निजी आवास निर्माण कर्जा पाँच जनाले, कपडा उद्योग सञ्चालन कर्जा ६० जनाले र युवा वर्ग स्वरोजगार कर्जा ४७ जनाले लिएका छन्। सीटीईभीटीबाट मान्यताप्राप्त संस्थामा तालिम लिन दिइने सहुलियतपूर्ण कर्जाको उपयोग भने शून्य रहेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ।

सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने बैंकमध्ये कृषि विकास बैंक अग्रस्थानमा रहेको छ। बैंकले ६ हजार २३४ ऋणीलाई १० अर्ब २२ करोड रुपैयाँभन्दा बढी कर्जा उपलब्ध गराएको छ। राष्ट्रिय वाणिज्य बैंकले ७ अर्ब ६१ करोड रुपैयाँ, नेपाल बैंक लिमिटेडले ६ अर्ब ७३ करोड रुपैयाँ, लक्ष्मी सनराइज बैंकले ६ अर्ब ५५ करोड रुपैयाँ र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले ६ अर्ब १२ करोड रुपैयाँ सहुलियतपूर्ण कर्जा प्रवाह गरेका छन्।