कुमारी बैंकले इएमआईमा फोनलोन भुक्तानीको सुविधा ल्याएको छ । यो नेपालमा पहिलो पटक भएको बैंकको दाबी छ ।
बैंकले गत वर्षदेखि फोनलोन सुविधा सञ्चालनमा ल्याएपछि यो वर्ष एफवान सफ्टको सहकार्यमा इएमआईमा फोनलोन भुक्तानी गर्न सकिने व्यवस्था सञ्चालनमा ल्याएको हो ।
कुमारी बैंकमा विभिन्न तलब खाता भएका ग्राहकहरुले न्यूनतम १ हजार रुपैयाँदेखि अधिकतम २ लाख रुपैयाँसम्म कुमारी स्मार्ट मोबाइल बैंकिङबाट कुनै धितो वा आवश्यक प्रक्रिया बिनानै फोनलोन सुविधा प्राप्त गर्न सक्नेछन् ।
उक्त कर्जा आयस्रोतका आधारमा एक महिना, तीन महिना, ६ महिना, ९ महिना र १२ महिनामध्ये कुनै एक अवधि छनोट गरी भुक्तानी गर्न सकिने बैंकको भनाइ छ ।
यसका अतिरिक्त योजना अन्तर्गत फोनपे नेटवर्कमा आबद्ध विभिन्न मर्चेन्ट आउटलेटमा उपभोग्य वस्तु खरिद गर्दा तथा सेवासुविधा उपभोग गर्दा क्यूआर कोड स्क्यान गरी सोको बाइ नाओ, पे लेटर अवधारणामा किस्ताबन्दीमा पनि रकम भुक्तानी गर्न सकिनेछ ।