बागमती प्रदेश बचत तथा ऋण सहकारी संघको प्रथम बार्षिक साधारण सभा सम्पन्न भएको छ ।संघका अध्यक्ष उद्धव सापकोटाको अध्यक्षता एवं बागमती प्रदेश सभाका सभामुख सानुकुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा सभा सम्पन भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेश सभामुख श्रेष्ठले सहकारीले गरिबी निवारणमा मुख्य भूमिका खेल्नु पर्ने बताए । आफैले कानुन बनाउदै तोड्दै जाने प्रवृति देखिएको भन्दै सभामुख श्रेष्ठले सुशासन महत्वपूर्ण कुरा भएको स्पष्ट पारे । सदस्यले सहकारीको आवश्यकता महसुस हुनेगरी काम गर्नु पर्छ नत्र सहकारीको आवश्यकता छ की छैन सोच्नु पर्ने दिन आउँने तर्फ उनले सचेत गराए । सहकारीले बचत तथा ऋणको मात्र काम गरेर ब्याजमात्र कमाउने नभइ उत्पादन तथा रोजगारसँग जोडेर जानुपर्ने उनको भनाइ थियो ।
त्यसैगरी बागमती प्रदेश सहकारी रजिष्ट्रार नारायण ज्ञवालीले सबै सहकारीहरुले बचत तथा ऋणको मात्र काम गरेकोमा आपत्ति जनाउँदै मुख्य उद्धेश्यअनुरुप काम गर्न आग्रह गरे । सबैले बचत तथा ऋणको मात्र काम गरेकोले आफ्नो मुख्य विषय र मुख्य उद्धेश्य अनुरुप काम गर्नुपर्नेमा उनको जोड छ ।
संघका अध्यक्ष उद्धव सापकोटाले संघ दर्ताको समयमा प्रदेशका ८२ वटा संस्था बागमती प्रोस्कूनमा आबद्ध रहेको र संघले सहकारीमा सुशासन ल्याउन महत्वपूर्ण भूमिका खेलेको बताए । बागमती प्रदेश बचत संघले स्थानीय तहहरुमा सहकारी ऐन नियम निर्माणका लागि सहयोग गरेको बताउर्दै उनले सहकारीले सदस्यको धितो दृष्टिबन्धक गर्दा लाग्ने शुल्क महंगो भएको कारण संस्था र सदस्य मर्कामा परेको भन्दै प्रमुख अतिथि र अतिथिहरुको ध्यानाकर्षण गराएका थिए । २५ सय शुल्क लाग्ने ठाँउमा हाल ८ हजार, ५ हजार शुल्क लाग्नेमा ५० हजार र ६५ हजार शुल्क लाग्ने ठाँउमा १ लाख २५ हजार शुल्क लिने गरेको भन्दै उनले ध्यानाकर्षण गराए ।
यसैबीच साधारण सभाको अवसरमा संघले विभिन्न संघरसंस्था तथा व्यक्तिलाई प्रमुख अतिथिबाट सम्मानित समेत गरेको छ । संघले जिल्ला संघहरुमा काभ्रेपलाञ्चोक जिल्ला बचत संघ, प्रदेश उत्कृष्ट संस्थामा सामुदायिक साकोस र उत्कृष्ट संस्थामा दोलखाको जिरीस्थित एकिकृत फ्रेण्डसिप बचत तथा ऋण सहकारी संस्थालाई सम्मानित गरेको छ । यस्तै, नेफ्स्कूनका पूर्व प्रमुख कार्यकारी अधिकृत शिवजी सापकोटालाई सहकारी विद्वता व्यक्तित्वबाट सम्मानित गरिएको थियो । संघका कोषाध्यक्ष टापबहादुर श्रेष्ठले संघको आर्थिक प्रतिवेदन तथा लेखा सुपरिवेक्षण समितिका संयोजक केशवप्रसाद दंगालले लेखा समितिको प्रतिवेदन सभामा प्रस्तुत गरेका थिए ।