शुक्रबार, कार्तिक ७ गते २०८३

सदस्य सशक्तीकरण देखि डिजिटल रूपान्तरणसम्म: हातेमालो साकोसको फड्को


आषाढ ३०, २०८३ मंगलबार
सदस्य सशक्तीकरण देखि डिजिटल रूपान्तरणसम्म: हातेमालो साकोसको फड्को

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–२ मा अवस्थित हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेडले समुदायमा आधारित वित्तीय सहकारीको अवधारणालाई व्यवहारमा उतार्दै सदस्यको आर्थिक तथा सामाजिक रूपान्तरणमा उल्लेखनीय सफलता हासिल गरेको जनाएको छ।

सहकारी संस्थाकी व्यवस्थापक रमला कुमारी सापकोटाले संस्थाले सबै उमेर समुहका सदस्यहरुलाई सेवा प्रदान गर्दै आएको बताइन् ।  २०६३ साल जेठ १४ गते सहकारी डिभिजन तथा प्रशिक्षण कार्यालय, भरतपुरमा दर्ता भई केवल २६ जना सदस्यबाट सुरु भएको संस्थाले अहिले कार्यक्षेत्रलाई उल्लेखनीय रूपमा विस्तार गर्दै हेटौंडा उपमहानगरपालिकाका वडा नं. १ देखि १९, गढी गाउँपालिकाका वडा नं. १ देखि ४ तथा बकैया गाउँपालिकाका वडा नं. ३ देखि ७ सम्म सेवा विस्तार गरेको छ। संस्थाले ९ वटा सेवा केन्द्रमार्फत हाल ३ हजार १०५ सदस्यलाई वित्तीय सेवा प्रदान  गर्दै आएको उनको भनाई छ ।

"समुदायमा आधारित गुणस्तरीय, आत्मनिर्भर एवं प्रतिस्पर्धी वित्तीय सहकारी संस्था" बन्ने परिकल्पना र उद्यमशीलता विकासमार्फत सदस्यको समृद्ध जीवनस्तरका लागि आधुनिक प्रविधिमा आधारित प्रभावकारी वित्तीय सेवा प्रदान गर्दै आर्थिक, सामाजिक, सांस्कृतिक तथा पर्यावरणीय सन्तुलन कायम गर्ने ध्येयसहित अघि बढेको संस्थाले वित्तीय सुरक्षा र पहुँच विस्तार, गुणस्तरीय सेवा, कुशल सञ्चालन तथा निरन्तर सिकाइ र स्वनियमनलाई आफ्नो रणनीतिक उद्देश्य बनाएको छ।

hatemalo photo.jpg

बचतको बानी विकास गर्दै सदस्यको आयआर्जन क्षमता वृद्धि गर्ने लक्ष्यअनुसार संस्थाले १२ प्रकारका बचत योजना र ११ प्रकारका ऋण सुविधा सञ्चालन गरेको छ। संस्थाको सुशासनलाई थप सुदृढ बनाउन १३ वटा कार्यविधि र १९ वटा निर्देशिका कार्यान्वयनमा ल्याइएको छ भने डिजिटलाइजेशन, क्लाउड डाटा ब्याकअप तथा नेफ्स्कुनको स्क्यान कार्यक्रममा आबद्ध रहेकाे छ । 

वित्तीय रूपमा पनि संस्था सुदृढ अवस्थामा रहेको छ। हाल संस्थाको शेयरपुँजी ६ करोड ८९ लाख ११ हजार, जगेडा कोष ४ करोड ८२ लाख ६८ हजार, बचत संकलन ५८ करोड ७८ लाख २१ हजार रहेकाे छ । त्यसैगरी कर्जा लगानी ५८ करोड ५४ लाख ८५ हजार रुपैयाँ तथा कुल सम्पत्ति ७८ करोड ६१ लाख ५ हजार रुपैयाँ पुगेको छ।

सदस्यको विश्वास, वित्तीय अनुशासन र प्रभावकारी व्यवस्थापनका कारण संस्थाले राष्ट्रिय सहकारी बैंक, नेफ्स्कुन तथा राष्ट्रिय सहकारी महासंघबाट उत्कृष्ट व्यवस्थापक तथा उत्कृष्ट साकोससहित विभिन्न सम्मान प्राप्त गरेको छ। बचत र कर्जामा मात्र सीमित नरही हातेमालो साकोसले सदस्य तथा समुदायको सामाजिक र आर्थिक सशक्तीकरणलाई पनि प्राथमिकतामा राखेको छ।

संस्थाले युवा तथा महिलामुखी आयआर्जन तालिम, नेतृत्व विकास कार्यक्रम, स्वास्थ्य शिविर, राहत वितरण, खेलकुद प्रतियोगिता, अवलोकन भ्रमण तथा विभिन्न सामाजिक सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै सहकारीलाई समुदाय विकासको अभियानसँग जोडेको छ। यसरी वित्तीय सेवासँगै सामाजिक उत्तरदायित्वलाई समान प्राथमिकता दिँदै अघि बढेको हातेमालो बचत तथा ऋण सहकारी संस्था सदस्यको समृद्धि र दिगो समुदाय निर्माणतर्फ उन्मुख सहकारी संस्थाका रूपमा स्थापित हुँदै गएको छ।