बुधबार, भाद्र ३ गते २०८३

विप्रेषण आप्रवाहमा उल्लेख वृद्धि, जेठसम्म २१ खर्ब २० अर्ब माथि


आषाढ ३०, २०८३ मंगलबार
विप्रेषण आप्रवाहमा उल्लेख वृद्धि, जेठसम्म २१ खर्ब २० अर्ब   माथि

चालु आर्थिक बर्षको जेठ मसान्तसम्ममा विप्रेषण आप्रवाह ३८.२ प्रतिशतले वृद्धि भई रु.२१ खर्ब २० अर्ब ८० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १५.६ प्रतिशतले बढेको थियो ।  नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको देशको बर्तमान आर्थिक तथा वित्तीय  स्थिति अनुसार विप्रेषण आप्रवाह वृद्धि भएको देखाएको छ । २०८३ जेठ महिनामा विप्रेषण आप्रवाह रु.२०३ अर्ब ८९ करोड रहको छ । अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह रु.१७६ अर्ब ३२ करोड रहेको थियो ।

समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २९.६ प्रतिशतले वृद्धि भई १४ अर्ब ५९ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १२.८ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) रु.२३२१ अर्ब ७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय रु.१६६९ अर्ब ५१ करोड रहेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या ३,६७,२११ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ३,५५,७३५ रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः ४,५२,३२४ र ३,०८,०६७ रहेको थियो । त्यसैगरी समीक्षा अवधिमा चालु खाता रु.८०२ अर्ब ६ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु.३२१ अर्ब ७४ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब ३७ करोडले चतमा रहेको चालु खाता समीक्षा अवधिमा ५ अर्ब ५३ करोडले बचतमा रहेको छ । समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर रु.१७ अर्ब ३ करोड रहेको छ ।

अघिल्लो वर्षकोसोही अवधिमा यस्तो ट्रान्सफर रु.८ अर्ब ९६ करोड रहेको थियो । यसैगरी, समीक्षा अवधिमा रु.२२ अर्ब ८२ करोड प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी (क्विटी मात्र) रु.११ अर्ब ७ करोडरहेको थियो । समीक्षा अवधिमा शोधनान्तर स्थिति रु.९२६ अर्ब ६ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु.४९१ अर्ब ४४ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ३ अर्ब ६२ करोडले बचतमा रहेकोशोधनान्तर स्थिति समीक्षा अवधिमा ६ अर्ब ३९ करोडले बचतमा रहेको छ ।  २०८२ असार मसान्तमा रु.२६७७ अर्ब ६८ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ४०.३ प्रतिशतले वृद्धि भई २०८३ जेठ मसान्तमा रु.३७५५ अर्ब ६४ करोड पुगेको छ ।

अमेरिकी डलरमा यस्तो सञ्चिति २०८२ असार मसान्तमा १९ अर्ब ५० करोड रहेकोमा २०८३ जेठ मसान्तमा २६.५ प्रतिशतले वृद्धि भई २४ अर्ब ६८ करोड पुगेको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८२ असार मसान्तमा रु.२४१४ अर्ब ६४ करोड रहेकोमा २०८३ जेठ मसान्तमा ३७.९ प्रतिशतले वृद्धि भई रु.३३३० अर्ब ७ करोड पुगेको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८२ असार मसान्तमा रु.२६३ अर्ब ४ करोड रहेकोमा २०८३ जेठ मसान्तमा ६१.८ प्रतिशतले वद्धि भई रु.४२५ अर्ब ५७ करोड कायम भएको छ । 

२०८३ जेठ  मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१.५ प्रतिशत रहेकोछ । आर्थिक वर्ष २०८२÷८३ को दश महिनासम्मको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति २२.५ महिनाको वस्तु आयात र १९.१ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । २०८३ जेठ मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरू क्रमशः ६१.५ प्रतिशत, १५९.५ प्रतिशत र ४३.७ प्रतिशत रहेका छन् । २०८२ असार मसान्तमा उक्त अनुपातहरू क्रमशः ४३.८ प्रतिशत, १२८.१ प्रतिशत र ३४.१ प्रतिशत रहेका थिए ।