भक्तपुर, सहकारी ऐन २०७४ को हालैको संशोधनले सहकारी संस्थाको सञ्चालन, सुशासन र नियमनमा नयाँ चुनौती थपेको भन्दै त्यसलाई संस्थागत सुधार र सदस्यको विश्वास अभिवृद्धि गर्ने अवसरका रूपमा उपयोग गर्नुपर्नेमा सहकारी क्षेत्रका नेतृत्वले जोड दिएका छन्।
भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडको भक्तपुर नगर सहकारी समन्वय उपसमितिले आयोजना गरेको ‘सदस्य सक्षमता विकास तालिम’मा वक्ताहरूले संशोधित ऐनले बचत फिर्ता, ऋण असुली, आन्तरिक नियन्त्रण र कानुनी अनुपालनलाई थप कडाइका साथ कार्यान्वयन गर्नुपर्ने व्यवस्था गरेको उल्लेख गर्दै सहकारी संस्थाले पारदर्शिता र सुशासनलाई प्राथमिकतामा राख्नुपर्ने बताएका हुन्।
संघका अध्यक्ष हरिकृष्ण बल्लले संशोधित कानुनी व्यवस्थाले सहकारी संस्थामाथि जिम्मेवारी बढाएको भए पनि त्यसले संस्थागत सुधारको अवसर सिर्जना गरेको बताए। प्रारम्भिक सहकारी संस्थाको सबलीकरण नै सहकारी अभियानको आधार भएकाले तिनको क्षमता अभिवृद्धिमा संघ निरन्तर सक्रिय रहने उहाँको भनाइ थियो। सहकारी संघलाई बैंकमा रूपान्तरण वा मर्ज गर्ने अवधारणाले प्रारम्भिक संस्थालाई कमजोर बनाउने धारणा पनि उनले राखे।
तालिममा उपाध्यक्ष तथा नगर सहकारी समन्वय उपसमितिका संयोजक जगनाथ प्रजापतिले नवनिर्वाचित सञ्चालक तथा लेखा सुपरिवेक्षण समितिका पदाधिकारीलाई लक्षित गरी प्रभावकारी नेतृत्व, सुशासन र कानुनी दायित्वबारे व्यावहारिक ज्ञान प्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो।
कार्यक्रममा संघका निवर्तमान अध्यक्ष कृष्णगोविन्द लाखाजुले आन्तरिक नियन्त्रण प्रणाली, प्रभावकारी बैठक सञ्चालन तथा निर्णय लेखनबारे प्रशिक्षण दिनुभएको थियो भने प्रमुख कार्यकारी अधिकृत बालकृष्ण धोजुले सहकारी सिद्धान्त, सञ्चालक समितिको भूमिका, अधिकार र जिम्मेवारीका विषयमा अभ्यासमूलक प्रशिक्षण दिए।
तालिममा विभिन्न सहकारी संस्थाका सञ्चालक तथा लेखा समितिका गरी २४ जना पदाधिकारीको सहभागिता रहेको थियो। सहभागीहरूले तालिमलाई समयसान्दर्भिक र व्यवहारिक भएको भन्दै सिकेका ज्ञानलाई संस्थागत सुधारमा प्रयोग गर्ने प्रतिबद्धता जनाएका छन्।
नेपालपत्र संवाददाता