काठमाडौं । नेपालको पहिलो निजी क्षेत्रको वाणिज्य बैंक नबिल बैंकले स्थापनाको ४२औं वार्षिकोत्सव मनाउँदै ‘बैंकिङ एण्ड बियोन्ड’ अवधारणासहित कृत्रिम बौद्धिकता (एआई) मा आधारित भविष्यको बैंकिङ प्रणालीको नेतृत्व गर्ने प्रतिबद्धता जनाएको छ। बैंकले परम्परागत बैंकिङको सीमाभन्दा माथि उठेर प्रविधिमैत्री, समावेशी र ग्राहककेन्द्रित वित्तीय सेवा विस्तार गर्ने लक्ष्य सार्वजनिक गरेको हो।
वार्षिकोत्सवका अवसरमा अध्यक्ष निर्वाणकुमार चौधरीले विश्वास नवप्रवर्तन बैंककाे डीएनएमा नै रहेको उल्लेख गर्दै एआईमार्फत बैंकिङ सेवालाई थप स्मार्ट, व्यक्तिगत र सुरक्षित बनाइने बताए। प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले नबिल केवल बैंकिङ सेवा दिने संस्था नभई ग्राहकको सपना र सफलताको यात्रामा साथ दिने भरोसायोग्य साझेदार भएको उल्लेख गर्दै बैंकलाई ‘नेपालको सबैभन्दा विश्वासिलो, भरपर्दो र भविष्यका लागि तयार बैंक’ बनाउने लक्ष्य दोहोर्याए।
बैंकका अनुसार हाल कृषि क्षेत्रमा ५३ अर्ब ३१ करोड, ऊर्जा क्षेत्रमा ५१ अर्ब ६ करोड, एमएसएमई क्षेत्रमा ४५ अर्ब ९२ करोड तथा पर्यटन क्षेत्रमा ११ अर्ब १० करोड रुपैयाँ कर्जा प्रवाह गरिएको छ। चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म बैंकको नेटवर्थ ७० अर्ब ८३ करोड, निक्षेप ५ खर्ब ८८ अर्ब ८५ करोड, कर्जा ४ खर्ब ६४ अर्ब १० करोड र कुल सम्पत्ति ७ खर्ब १८ अर्ब ४२ करोड रुपैयाँ पुगेको छ। देशभर २६४ शाखा, ३१५ एटीएम, १८ एक्सटेन्सन काउन्टर र २,४६९ कर्मचारीमार्फत २६ लाखभन्दा बढी ग्राहकलाई सेवा दिइरहेको बैंकले वार्षिकोत्सवका अवसरमा ४२ दिनसम्म घर कर्जा, लकर, ई–पेमेन्ट गेटवे तथा कार्ड सेवामा विशेष छुटसहितका ग्राहकमुखी योजना पनि सार्वजनिक गरेको छ।
नेपालपत्र संवाददाता