काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा बढ्दै गएका निष्क्रिय (डर्मेन्ट) खाताको संख्या घटाउन नयाँ व्यवस्था लागू गरेको छ। ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थालाई २०८३ पुस मसान्तभित्र निष्क्रिय खाता न्यूनीकरणका लागि कार्ययोजना बनाएर कार्यान्वयन गर्न निर्देशन दिइएको हो।
संशोधित निर्देशनअनुसार खाता निष्क्रिय हुनुअघि ग्राहकलाई फोन, एसएमएस वा इमेलमार्फत नियमित सूचना दिनुपर्नेछ। निष्क्रिय भइसकेका खातालाई पुनः सञ्चालन गराउन कम्तीमा प्रत्येक ६ महिनामा ग्राहकसँग सम्पर्क गर्नुपर्ने व्यवस्था गरिएको छ। साथै ग्राहकले देशभरका जुनसुकै शाखा वा मोबाइल तथा वेब एपमार्फत सहज रूपमा खाता बन्द वा पुनः सञ्चालन गर्न सक्ने व्यवस्था मिलाउन बैंकहरूलाई निर्देशन दिइएको छ।
राष्ट्र बैंकले निष्क्रिय खाताको दुरुपयोग रोक्न थप निगरानी बढाउन पनि निर्देशन दिएको छ। पुनः सञ्चालन भएका खातामा अस्वाभाविक कारोबारको निगरानी, मनि म्युलमार्फत् हुने वित्तीय अपराधबारे जनचेतना अभिवृद्धि तथा कर्मचारीको क्षमता विकास गर्नुपर्ने व्यवस्था गर्दै राष्ट्र बैंकले वित्तीय प्रणालीलाई सुरक्षित र ग्राहकमैत्री बनाउने लक्ष्य अघि सारेको छ।
नेपालपत्र संवाददाता