कमरेड पुष्पलाल
नेपाल हजारौ बर्ष पुरानो सम्यता र परम्परामा हुर्केको समाजबादी चीन र गणतन्त्र भारतको बिचमा पर्दछ । अतः नेपालको इतिहासमा पनि त्यत्तिकै पुरानो छ, जत्तिको समाजबादी चीन र गणतन्त्र भारतको छ । नेपाल दुइ महान छिमेकी राष्ट्रहरुको सभ्यता र सँस्कृतिको मिलनको बिन्दू हुनाको साथै दुबै राष्ट्रहरुलाई मितेरीको गाँठोमा बाँध्ने थलाको रुपमा देखापर्दै आएको छ ।त्यसो भएको हुनाले नेपाल आदि कालदेखि चीन र भारत हुँदै समस्त एशियामा पुगेको थियो । नेपाल आदिकालदेखि नै भारत, चीन र मध्य एशियाको एक प्रमुख ब्यापार केन्द्र र मार्गको रुपमा रहेर आएको छ । त्यसको साथै धर्म र सँस्कृतिको आदान प्रदानको मार्ग पनि रहेर आएको छ । मध्य एशियामा बुद्ध धर्मको प्रवेश नेपालबाट नै भएको हो ।
प्राचीन कालदेखि नेपाल दुइ महान राष्ट्रहरु – चीन र भारतको सभ्यताको संगमस्थल भएको हुनाले नेपालको इतिहासिमा चीन या भारतीय सभ्यताको दृष्टिले मात्र हेर्ने तरीका गलत हो । बिश्वको कुनै पनि राष्ट्र एक अर्काेबाट प्रभावित नभई रहन सक्दैनन् । यो ध्रुब सत्य छ । तर यसको मतलब यो कदापि होइन कि हाम्रा पूर्बजहरुले आफ्नै सभ्यता र सँस्कृतिको बिकास गरेरनन् । अतः हामीले आफ्नै देशको समाजको ऐतिहासिक सर्बेक्षण गर्दा केवल दस्ताबेजको मात्र आधारमा नगरी मूख्य रुपले मानब समाजले कुन कुन ऐतिहासिक अबस्थालाई पार गरेर आएको छ भन्ने कुरामा दृष्टि दिई त्यसै अनुसार नेपाली समाजको सर्बेक्षण गर्नु आवश्यक छ । मानब समाजको सर्बेक्षण गर्दै मार्क्स र एंगेल्सले भनेका छन् कि सभ्य तथा असभ्य जातिहरु सबैले मातृ सत्तात्मक समाज पार गर्दै दास, सामन्ती र पूँजीवादी समाजमा पुगेका हुन् । यही बिकासको नियम हाम्रो नेपाली समाजको निम्ति पनि लागु हुन्छ । अतः हाम्रो नेपाली समाजको शुरुवात पनि मातृ सत्तात्मक समाजबाट भएको कुरा निसन्देह छ ।
हाम्रो समाजको इतिहास हजारौ बर्ष पूरानो भए तापनि हाम्रा पूर्बजहरुले आफ्नो काम कारबाहीको लोखाजोखा(शिलापत्र) तथा ताम्रपत्रको रुपमा छोड्न थालेको सन् ७९६ देखि मात्र हो अर्थात् करीब १५ सय बर्षजति भयो । मानदेब प्रथमले चाँगुमा आफ्नो पूर्ब पश्चिम बिजयपछि छोडेका शिलालेखबाट यो क्रम शुरु हुन्छ । पछि मल्ल राजाहरुको पालामा बंशाबलीकोरुपमा आफ्ना पूर्बहरुको खोज गर्ने परम्परा शुरु भयो । त्यसमा सबभन्दा पहिलो बंशावली गोपाल बंशावली हो । त्यसका साथै स्वयम्भू पुराण र पशुपति पुराण तथा नेपाल माहात्म्य लेखिन थाले । तिनका लेखहरु सामन्ती शोषक बर्गबाट आएका गुरु ,परोहित, गुभाज्यू आदि भएका हुनाले उनीहरुको सृष्टिको सिद्धान्त स्वभाबिकरुपमा आदर्शबादी नै थियो, भौतिकबादी होइन । अतः बिश्व र समाजको बिकासलाई द्वन्द्वात्मक भौतिकबादी तरीकाले नहेरी ईरश्वरीय देनका रुपमा हेर्नु अर्थात् सृष्टि, स्थिति र प्रलयको कारण ईश्वर देख्नु स्वभाविक थियो । यसै दृष्टिकोणका आधारमा उनीहरुले आ–आफ्नो धार्मिक दृष्टिकोणका अनुसार बुद्धमार्गीहरुले आदि बुद्ध, शिबमार्गी हिन्दूहरुले ज्योतिर्मय लिंगलाई प्रधान गरी हेरे र त्यसै अनुसार नेपालको बसोबासो गराउने कुराको श्रेय बुद्धमार्गीहरुले बोधिसत्वहरुलाई र हिन्दूमार्गीहरुले कृष्णलाई दिन थाले ।उनीहरुको एक सम्प्रदायले अर्को सम्प्रदायलाई नेपाली समाजको निर्माणमा नकार गरी आ–आफ्नो सम्प्रदायको ईश्वरको कृपा तथा करुणा र दयाले ताल उपत्यकामा परिणत भई बसोबासो भएको हो भन्ने गलत समझदारी दिए । समाजबिना कुनै इतिहास हुँदैन । यो सबैलाई बिदित भएकै कुरा हो । तर हाम्रा यी इतिहासकारहरुले इतिहासको मूख्य आधार समाजलाई बिल्कुलै नकार गरी नेपालको इतिहासलाई पुराण र बंशावलीको रुपमा पेश गरे । पुराण र बंशावलीका लेखकहरुले नेपाली समाजको उत्पत्ति र बिकास कसरी भयो भन्ने कुराको उल्लेखै नगरी नेपालको इतिहासलाई ईश्वर, ऋषिमुनि तथा राजाहरुबाट शुरु भएको भन्ने देखाउँदछन् । त्यसले गर्दा अहिलेसम्म पनि नेपालका इतिहासकारहरुले नेपाली समाजको उत्पत्ति र बिकासलाई बैज्ञानिक दृष्टिकोणले नहेरी तिथि र बंशमा बिशेषरुपले बहस चलाउँदछन् । बर्गयुक्त समाजका बर्ग संघर्ष नै समाज बिकासको मूख्य नियम हो भन्ने कुरालाई यसले नकार गर्दछ ।
त्यति मात्र होइन, जनतालाई आफ्नो संघर्षबाट बञ्चित र बिचलित पार्नका निम्ति उनीहरुले नेपाललाई चार युगमा बिभक्त् गरिदिएका छन् । ती युग हुन् (क) सत्य युग, (ख)द्वापर युग,(ग)त्रेता युग र (घ) कलि युग । त्यसपछि यस कलियुगलाई नाश गरेर पुनः सत्य युगको सुत्रपात हुन्छ । यसलाई बिकासको चक्र सिद्धान्त भनिन्छ । यस सिद्धान्तलाई गीतामा उनीहरु यसरी राखेका छन् ।
‘यदा यदा हि धर्मस्य ग्लानि र्भबति भारत ।
अभ्युत्थानम धर्मस्य तदात्मानम् सृजाम्यहं ।’
जहिले धर्मको ग्लानी पापको बृद्धि देख्दछु
त्यसै बखतमा पार्थ ? अबतार म धर्दछु।’
गीताको यो उक्ति कृष्णले अर्जुनलाई भनेको उक्ति हो । यसबाट स्पष्ट हुन्छ कि उनीहरुले इतिहासको निर्माणमा जनताको कुनै पनि भूमिका हुँदैन, केवल ईशवरको मात्र हुन्छ भन्ने देखाउन चाहन्छन् । त्यसैले गर्दा ‘भगवान कहाँ देर हुन्छ, अन्धेर हुँदैन’ भन्ने उक्ति चलेको हो । यसले इतिहासलाई जनता प्रधान गरी हेर्ने दृष्टिकोण नभई ब्यक्ति प्रधान गरी हेर्ने सिद्धान्तको बिकास भएको हो । यसै ब्यक्ति प्रधान दृष्टिकोणले गर्दा बंशावलीकार र इतिहासकारहरुले पनि समाजमा नियम तथा थिति बाँध्ने ब्यक्तिकोरुपमा धर्माकर, ने मुनी, अंशु बर्मा, जयदेव द्वितीय, स्थिति मल्ल, राम शाह, आदिलाई मानेका छन् ।यस्तो दृष्टिकोणले गर्दा कुन ऐतिहासिक तथा सामाजिक कारणले गर्दा सामाजिक नियम कानुन बनाउन परेको हो भन्ने कुरामा दृष्टि नदिई ब्यक्तिको कृपाकोरुपमा लिनुको मूख्य कारण यही हो । कुनै पनि सामाजिक नियम कानुन एकाध ब्यक्तिको देन नभई समाजमा जुन बर्गको बिजय हुन्छ त्यसै बर्गको आवश्यकता र फाइदाका निम्ति रीति–थिति, तथा सामाजिक बन्देजहरु बन्दछन् – जसलाई हामी सामाजिक नियम कानुन भन्दछौं । सामाजिक परिबर्तनका नियमहरु समाजभित्रै हुन्छन् । समाजभन्दा बाहिर होइन ।ब्यक्तिको भूमिका समाजमा भएको अस्ताउँदो र उदाउदो कुरालाई बुझ्नुमा नै छ ।
यसरी ऐतिहासिक भौतिकबादको आधारमा सामाजिक परिबर्तनलाई नहेरी ऋतु परिबर्तनकोरुपमा सामाजिक परिबर्तनलाई हेर्दा इतिहासलाई एक चक्रकोरुपमा हेर्ने दृष्टिकोढा आएको हो । जसरी एक ऋतुपछि अर्को ऋतु आउँछ र अन्त्यमा पुन बसन्त ऋतु आउँछ, त्यसैगरी एक समाज पछि अर्को समाज आउँछ । अतः साम्यबादबाट समाज अगाडि नबढी समाजमा पुनः दास समाजको प्रादुर्भाब हुन्छ । अतः यस्तो सिद्धान्तले समाज बिकासको बैज्ञानिक नियमबाट जनतालाई बञ्चित गरी भाग्यको भरोसा गराउँदछ ।
बंशावलीले नेपालको समाजलाई चार युगमा बिभक्त गरेको छ । त्यसमा सत्य युगको अबधि २७२८०००, त्रेताको १२९६०००, द्वापरको ८३४००० र कलिको ४३२०० बर्ष छुट्याएको छ । यसरी नेपालको समाजलाई ४२९००० बर्ष पुरानो बनाएको छ । यत्रो पछाडि फर्कदा पनि हाम्रो बंशावलीकारहरुले नेपालमा मातृ सत्तात्मक समाजको त कुरै छोडौं पितृ सत्तात्मक र दास समाजसम्मको पनि कुनै उल्लेखै नगरी सिदा ईश्वर, बोधिसत्व तथा राजा आदिबाटगरिएको छ । यी समस्त कुराहरु बिज्ञानसम्मत नभए ता पनि हजारौं बर्षको प्रचार प्रसारले गर्दा अधिकांश नेपाली समाजमा जरो गाडेको छ । त्यो मात्र होइन, नेपाली इतिहासकारहरुले तथाकथित लिच्छिबी काललाई नेपालीको स्वर्ण युग मानी जुन उल्लेख गरेका छन् त्यसैलाई अचेल नेपाली इतिहासको अन्बेषण गर्ने बिद्वानहरुले त्यस बखत नेपालमा पञ्चायती ब्यवस्थाकोरुपमा स्वायत्त शासन थियो भनी प्रचार गर्न थालेका छन् । यस्तो प्रचारले एकातिर लिच्छिबी युगमा भूमिमा ब्यक्तिगत सम्पत्तिको उदयले गर्दा समाज उत्तरोत्तर बर्गयुक्त हुँदै गइरहेको थियो त्यसमा पर्दा हाल्दछ । अर्कोतिर आजको पञ्चायती ब्यबस्था नेपालको राष्ट्रिय परम्पराको ब्यवस्था हो भन्ने आजको सामन्तबादी सिद्धान्तका प्रबर्तकहरुको पक्षमा मद्दत गर्दछ र देशको जनवादी आन्दोलनलाई कमजोर पार्दछ ।
नेपालका बंशावलीकार तथा बिदेशी र देशी इतिहासकारहरुले नेपालको इतिहासलाई एक बंशपछि अर्को बंशको इतिहासको रुपमा पेश गरेका छन् । आज पनि यो चलन छँदैछ । त्यस अनुसार नेपालको इतिहासमा सबभन्दा पहिलो धर्माकर अनि क्रमिकरुपमा गोपाल, महिपाल, सोमबंशी(राजपूत) लिच्छबी, ठकुरी राजबंश(नुवाकोट), मल्ल, शाह, राणा तथा पुनः शाह बंश । कुनै पनि देशको समाजको इतिहासलाई कुनै एक बंशपछि अर्को बंशको इतिहासकोरुपमा पेशगर्नु इतिहासप्रति गलत समझदारी राख्नु हो । कारण बंश बद्ले तापनि उत्पादनको ब्यवस्था बद्लिदैन । अतः बंश बद्ले तापनि उत्पादनको ब्यवस्थामा परिबर्तन नआउने हुनाले समाजको इतिहास मूलतः त्यही रहन्छ । कारण इतिहासको सही धारणा हो – समाजले आफ्नो गास, बास र कपासको निम्ति सामुहीकरुपले गरेको उत्पादनको पद्धति । फेरि बंशप्रधान गरी कुनै पनि देशको इतिहालाई पेश गर्दा त्यसले सांप्रदायिक भावना फैलाउँछ र राष्ट्रिय एकतामा बाधा पु¥याउँछ । इतिहासप्रतिको यस्तो साम्प्रदायिक दृष्टिकोण शोषक बर्गको पुरानै चालबाजी हो । हाम्रो देशमा एक सम्प्रदायले स्वयम्भू पुराण रचे भने अर्कोले पशुपति पुराण रचेर जनतामा साम्प्रदायिक भावना फैलाई उनीहरुले जनताको शोषण गरे । अहिले आई केही भारतीय इतिहासकारहरुले नेपालको इतिहास लेख्दा यहाँसम्म लेख्न पुगेका छन् कि नेपालको इतिहास एक किसिमले हिन्दू धर्मको इतिहास हो ।
सन् १९५० मा नेपाली मध्ययुगीन सामन्ती ब्यवस्थाको प्रतीक र अग्रेजी साम्राज्यबादीको दलालको रुपमा रहेको राण शाहीको अन्त्य भए पछि एकातिर नेपालमा शिक्षा दीक्षाको बाटो खुल्यो भने अर्कोतिर नेपाल पनि सिधै अन्तर्राष्ट्रिय रंगमञ्चमा आइपुग्यो । यसले गर्दा नेपाललाई राष्ट्रिय जागरणलाई प्रोत्साहन ग¥यो । यस राष्ट्रिय जागरणको युगमा हामी नेपालीको ध्यान आफ्ना पूर्बजहरुपट्टी आकर्षित हुनु स्वभाविकै हो । हामी नेपाली जाति न स्वर्गबाट झरेका हौं, न त जमिनबाट उब्जेका हौं, न त कुनै राजाको बिजयको फलस्वरुप नै निर्माण भएका हौं । हामी नेपाली जातिको निर्माण हाम्रा पूर्बजहरुले जो बिभिन्न कबिला ,बिभिन्न भाषाभाषी, धर्मकर्म र सम्प्रदायका थियौं, एक थालोमा बसी सामाजिक जीवनको निम्ति सामुहीरुपले उत्पादनको प्रकृया गर्दा भएको हो । यसै संघर्षको दौरानमा हाम्रा बीचका बेमेलका तत्वहरु बिघटन हुँदै गए मेलका तत्वहरु एकत्रित भएको फलस्वरुप नै नेपाली राष्ट्रको निर्माण भएको हो । अतः आजको राष्ट्रिय जागरणको युगमा हाम्रो राष्ट्रको निर्माण यसरी भएर आएको हो भन्ने कुराप्रति बैज्ञानिक समझ हुनु अत्याबश्यक छ ।
यस सम्वन्धमा हामीले पाश्चात्य इतिहासकारहरुको कृतिको बिषयमा केही उल्लेख गर्नु अति आबश्यक छ । मल्ल काल पछि नेपालको इतिहासको खोजबिन कसैबाट पनि भएन । नेपाली राष्ट्रको एकीकरणपछि शाह राजपरिवार र नयाँ भाइभारदार बर्गको नेपाली समाजमा आ–आफ्नो स्वार्थका पञ्जा बलियो गर्ने कलहमै ब्यस्त थिए । अतः नेपालको राजनीतिक एकीकरण पछि जुन राष्ट्रिय जागरण आउनु पर्ने हो, सो आएन । त्यसको अर्को मूख्य कारण भारतमा अग्रेजी साम्राज्यबादको प्रभूत्व कायम हुनु पनि थियो। अग्रेजी साम्राज्यबादले नेपाली मार्गबाट मध्य एशिया र चीनसँगको ब्यापारमा आँखा गाडी बसेको थियो । त्यसका निमित नेपालको इतिहास तथा राजनीति लगायत सम्पूर्ण कुराको जानकारीको आवश्यकता अग्रेजी साम्राज्यबादलाई पर्न गएको थियो । यस कारण मल्ल युग पछिको नेपालको खोजबिनका काम बिशेषरुपले अग्रेजी साम्राज्यबादी बिद्वानहरुले नै गरे । अतः पाश्चात्य इतिहासकारहरुले नेपालको बिषयमा जुन ऐतिहासिक तथा राजनीतिक साहित्यहरुको रचना गरेका छन् – त्यस सम्बन्धमा पनि केही स्पष्ट गर्नु आवश्यक छ । यो यस निम्ति पनि आवश्यक छ कि अहिलेसम्म पनि उनीहरुका गलत भनाई तथा सारांशहरुलाई उद्धरण गरी आफ्नो संकुचित स्वार्थ सिद्ध गर्ने चलन नेपालका बुद्धिजीवीहरुमा पाइएको छ । जसरी हिन्दूहरुका निमित शास्त्र बचन अकाट्य थिए, त्यसैगरी पाश्चात्य बिद्वानहरुको भनाइ अकाट्य हुन्छ ।
यस क्रमलाई जारी गर्दा कर्णेल कक प्याट्रिकको नाम सबभन्दा पहिला आउँछ । मल्ल कालमा पाश्चत्य देशका पादरीहरु चीनबाट तिब्बतको बाटो गरी नेपाल पसेका, नेपाल उपत्यकामा गिर्जाघर खोली बसेका, पृथ्वीनारायण शाहले कीर्तिपुरमा हमला गर्दा उपस्थित भएका र नेपालको राजनीतिक एकीकरण पछि नेपालबाट निष्काशित गरिएका पादरीहरुले नेपालको तत्कालीन अबस्थाको बिषयमा केही टिप्पणीहरु छोडेका छन् । तर यिनमध्ये कसैले पनि नेपाली राज्यको इतिहास तथा बिवरण लेखेका छैनन् । यस क्षेत्रमा सबभन्दा पहिले कर्क प्याट्रिकले नै कलम उठाएका छन् । नेपालको राजनीतिक एकीकरण भएको २४ बर्ष पछि सन् १७८३ मार्च ३ मा उनी आफ्नो मण्डलसहीत काठमाण्डौ पुगे ।
नेपालको एकीकरण भएको २२ बर्ष पछि अर्थात् सन् १८७१मा नेपाली फौजले तिब्बतको दिगार्चेका प्रसिद्ध गुम्बाहरुको सम्पत्ति लुट्दा तिनको रक्षाका निम्ति जुन चिनीयाँ फौज आएको थियो त्यसबाट भयभीत भई नेपाल सरकारले इष्ट इण्डिया कम्पनीसँग सहायताको अपिल गरेको थियो ।त्यसैका निम्ति कम्पनीसरकारले कर्क प्याट्रिकको नेतृत्वमा एक प्रतिनिधि मण्डल नेपाल पठाएको थियो । तर उनी पुग्नुभन्दा पहिने नेपाल – चीनका बीच शान्ति सम्झौता भइसकेको हुनाले उनी पुगेको २१ दिन भित्रै अर्थात मार्च २४ तारिखका दिन उनी काठमाण्डौबाट फर्के । यसै बीच उनले नेपालका बहादुर शाह लगायत अन्य उच्च अधिकारी तथा गुरु पुरोहित र गुभाजुहरुसँग भेटघाट गरी नेपालको इतिहास र तत्कालीन राजनीतिक स्थिति बुझ्ने कोशिश गरेर भबिष्यका निम्ति सम्पर्कको बाटो बनाए । यसै दौरानमा उनले नेपालको एक बंशावली पनि हात पारे । उनले सन् १८११ मा लण्डनबाट नेपाल राज्यको एक बिवरण ‘एन एकाउण्ट अफ द किङ्गडम अफ नेपाल(An Account Of The KIngdom On Nepa)नामक पुस्तक छपाए । यसै पुस्तकमा उनले उक्त बंशावलीको अग्रेजी अनुबाद पनि छपाए । यस पुस्तकले ततकालीन राजदरबारिया राजनीतिको झलक दिन्छ । नेपालप्रति अग्रेजी साम्राज्यबादको नीतिको बोध गराउँदछ । यसमा केवल नेपाल उपत्यकाको मात्र बिशेष बर्णन छ । सुगौलीदेखि काठमाण्डौ जाँदा बाटोमा पर्ने स्थानहरुको पनि बेलिबिस्तार बयान गरेका छन् ।
कर्क प्याट्रिकको प्रतिनिध मण्डल फर्केको आठ बर्षपछि कम्पनी सरकारको दूतकोरुपमा नेपाल दरबारमा प्रतिनिधित्व गर्नका निम्ति सन् १८०२को अप्रिल महिनमा कप्तान बक्स आफ्नो दलकोसाथ काठमाण्डौ आइपुगे । त्यसै दलमा डा. बचानर्न ह्यामिल्टन पनि थिए । यसको एक बर्ष पछि अर्थात् १८०३को मार्चको अन्ततिर बक्स साहब निराश भई फर्के तर अब एक बर्षको अबधिमा डा. ह्यामिल्टनले नेपालका धेरै उच्च अधिकारीहरु तथा बिद्वानहरुसँग भेटघाट गर्नुका साथै नेपालको बाईसे र चौबिसे राज्यका बिभिन्न ब्यक्तिहरुसँग पनि भेटघाट गरी नेपाल राज्यको बिवरण ‘एन एकाउण्ट अफ दि किङ्गडम अफ नेपाल( An Account Of The Kingdom Of Nepal)आठ बर्ष पछि अर्थात १८१९ मा बेलायतको एडिनबेराबाट उक्त पुस्तक छपाए । यसमा नेपाल उपत्यकाको इतिहासका अतिरिक्त नेपालका बाईसे चौबिसे राज्यहरुको बिषयमा पनि बयान गरिएको छ ।
त्यसपछि नेपालमा लामो समयसम्म, सन् १८२० –१८५०सम्म बसी नेपालको बिषयमा गहिरो अध्ययन गर्ने ब्यक्तिको नाम हड्सन हो ।नेपाल आउनुभन्दा पहिले उनी कुमाऊँको कमिश्नरका सहायकारुपमा काम गरेको हुनाले नेपालको बिषयमा उनलाई जानकारी नै हुने भयो ।कारण नेपालले एकैचोटि आफ्नो साँध सतलजसम्म पु¥याएको थियो । नेपालमा उनी रेजिडेण्ट गर्भनरको सहायकोरुपमा आए र पछि उनी आफै पनि रेजिडेण्ट भए । भिमसेन थापाको पत्तन र जंगबहादुरको उत्थानको सम्वन्धमा उनका रिपोर्टहरु अति रोचक छन् । नेपाललाई ब्यापारमा लगाउने र नेपालको बढी जनसंख्यालाई गोर्खा पल्टनमा भर्ना गरी नेपाललाई अग्रेजको अधिनमा गर्नमा उनको बिशेष हात छ। नेपालको जातिको सम्वन्धमा सबभन्दा पहिलो पटक रिपोर्ट गर्ने ब्यक्ति पनि यिनै हुन् । त्यसको साथै नेपालका धेरै नै बहुमूल्य हस्तलिखित ग्रन्थहरुको संकलन गरी लण्डन र पेरिसको म्युजियमा पनि पठाए । त्यसले गर्दा नेपाली इतिहासको अनुशीलनमा उनको बिशेष नाम छ ।
त्यसपछि डा. डेनियल राइटको नाम आउँछ ।उनी नेपालमा दश बर्षसम्म रेजिडेण्ट भइसकेका थिए । उनले पनि नेपालको एक बंशावली फेला पारे । यो बंशावली सँस्कृत र नेवारी मिसिएको छ । यसको उल्था अग्रेजी दूतावासमा सम्बन्धित भएका शिवशंकर सिंह र मीर मुन्सीले गरेका हुन् । यसै अनुबादमा एक भूमिका लेखी उनले यसलाई ‘नेपालको इतिहास’(History of Nepal)भन्ने नामकरण गरी बेलायतको क्याब्रिजबाट सन् १८७७ मा छपाए। उनलाई यस कार्यमा नेपालका एक नागरिक पण्डित गुणानन्द, जसका बंशज नेपालको इतिहास लेखन कार्यमा थिए र जो त्यसताका पाटनमा बस्दथे,ले सघाउ पुर्याएका थिए ।
यसको तीन बर्षपछि ब्रिटिश दूतावासका डा. वोल्डफिल्डले ‘स्केचेज अफ नेपाल’भनी दुइ खण्डमा नेपालको इतिहास सन् १८८० मा छपाए । यस पुस्तकमा नेपालको इतिहासको अतिरिक्त नेपालको भूगोल सम्बन्धमा पनि ज्यादै गहन अध्यन झल्केको पाइन्छ । उनले आफ्नो पुस्तकमा तत्कालीन नेपालको राजनीतिक र सामाजिक स्थितिको राम्रो र रोचक ढंगले बयान गरेका थिए । यसको अतिरिक्त नेपालमा प्रचलित बुद्ध धर्ममा उनको एक लामो निबन्ध छ, जसलाई बिद्वानहरुले यो निबन्ध आफ्नै प्रकारको छ भनी भन्दछन् ।
त्यसपछि अरु पनि पाश्चात्य देशहरु नेपालप्रति आकर्षित हुन थाले । बिभिन्न साम्राज्यबादी देशहरुले पूर्बका आ–आफ्ना उपनिवेश तथा अधीनका राष्ट्रहरुको इतिहास, सामाजिक, धार्मिक, राजनीतिक तथा भौगोलिक स्थितिहरुको सोध गराई प्रकाशित गराउन थालेपछि यूरोपमा एक संस्थाको बिकास भएर आयो । त्यो हो पूर्बी अध्ययन मण्डल । अनि यूरोपमा पर्बेली बिद्वान(Orientalists) को जमात तयार हुन थाल्यो । यही पूर्बेली बिद्वानहरु माध्ये फ्रान्सका सिल्भयान लेभी पनि एक थिए । उनी बीसौं शताब्दीको शुरुमा नेपाल आएर १९०५ मा उनले नेपालको इतिहास दुइ खण्डमा फान्सिसी भाषामा छपाए । फ्रान्सिसी साम्राज्यबादको त्यसताका नेपालमा कुनै स्वार्थ नभएको हुँदा होला – उनको पुस्तक नेपालको आर्थिक,राजनीतिक, सामाजिक, धार्मिक आदि स्थिति बुझ्न सबभन्दा उपयोगी छ । नेपालको आफ्नै स्वतन्त्र परम्परा छ र यो भारतको अङ्ग हुनै सक्तैन भन्ने कुराबाट नै उनले नेपालकाे बारेमा लेखन शुरु गरेका छन्, तर दुर्भाग्यबस अहिलेसम्म यो पुस्तक अग्रेजी तथा नेपालीमा छापिएको छैन ।
सिल्भ्यान लेभीले नेपालको स्वतन्त्रताको बिषयमा जोड दिई लेखेपछि अग्रेज र राणा शासकहरुको दोस्तीमा खलल पर्ने भएको हुँदा राणाहरु अग्रेजी साम्राज्यबादका पक्का साथी हुने भनी लेखाउन आवश्यक परेको थियो । त्यस कार्यलाई पर्सिभल ल्याण्डन नामक अग्रेजले पूरा गरे ।
अहिलेसम्मका बिद्वानहरुले नेपालको बंशावलीहरुको खोजी गरी त्यसलाई उल्थागरी प्रकाशित गर्ने जुन काम गरे – त्यसबाट नेपालको इतिहासलाई अझै गहिरो अध्ययन गर्ने मनोबृत्ति जागेर आयो । भारतमा त्यसबखत शिलालेखहरुको खोजबिन र नयाँ नयाँ ब्याख्या हुन थालेको थियो । त्यसैले गर्दा भारतका एक बिद्वान पं.भगवनलाल इन्द्रजीको ध्यान यसतर्फ आकर्षित भयो । नेपालका शिलालेखहरुको खोजी गरी मानदेब प्रथमको चाँगुनारायणको शिलालेखसहीत अन्य १४ वटा शिलालेख जम्मा गरी लिच्छबी कालका १५ वटा शिलालेख ‘नेपालका शिलालेखहरु’ अर्थात् ‘इन्स्क्रिप्सन अफ नेपाल’(Incriptions Of Nepal)भन्ने पुस्तक छपाए । त्यसको छ बर्ष पछि अर्थात् सन् १८८६ मा अग्रेज प्राध्यापक सिसिल वाण्डलले त्यही युगका अर्को ६ वटा अभिलेखहरु प्रकाशमा ल्याए । त्यसको पनि २२ बर्ष पछि सन् १९०८ मा फ्रान्सिसी प्राध्यापक सिल्भ्यान लेभीले त्यसै युगका अरु २१ वटा शिलालेख प्रकाशमा ल्याए । नेपालको इतिहासको खोजमा यो एक कदम अगाडि बढेको मान्नुपर्दछ । पहिलेको आधार बंशावली थियो भने अब शिलालेखहरु हुन थाले । त्यसको ब्याख्या हुनथाल्यो । इतिहासले पनि अब तर्क बितर्कको बाटो लिन थाल्यो ।
नेपाल चीन र भारत बीच भएको हुँदा आदि कालदेखि नेपालको सम्बन्ध दुबै देशसँग रहेर आएको छ । यी दुबै देशका इतिहासा तथा शिलालेखहरु नेपालको उल्लेख भएको छ । मध्य एशिया गजनी र पेशावरको बाटो गरी सन् ६२९मा भारत पुगेका चिनीयाँ यात्री हुएन साङ्ग, त्यसको १४ बर्ष पछि सन् ६३४ मा नेपालको बाटो गरी भारत पसेका चिनीयाँ यात्री लि पू पाउ र त्यसको १४ बर्षसम्म अर्थात् ६५७ सम्म नेपालको बाटो गरी भारत चीन यात्रा गर्ने चिनीया राजदूतहरुले चीनको ताङ्ग बंशको इतिहास अर्थात् बंशावलीमा नेपालका राजा नरेन्द्रदेवको राजदरबारको बिस्तृत बयान गरेका छन् । उनीहरुको लेखाईले तत्कालीन नेपालको भौगोलिक स्थिति,दरबारको भब्यता, बन्द ब्यापार, साहित्य, कला आदिमा प्रकाश पार्दछ । अहिलेसम्म पनि नेपालीहरुले त्यस बिषयमा मूल पाठ पढी त्यसको ब्याख्या गर्ने काम भएको छैन । अहिलेसम्म हामीले अग्रेजी अनुबादबाट नै पैंचो लिई आफ्नो काम चलाइराखेका छौं । यसको अध्ययन हुन अति आवश्यक छ ।
भारतका पौराणिक साहित्य बौद्ध तथा जैन साहित्यहरुमा पनि नेपालको उल्लेख आउँदछ । भारतको एक प्रसिद्ध राजनीतिक पुस्तक कौटिल्यको अर्थशास्त्रमा नेपालको उल्लेख यस रुपमा भएको छ कि नेपाल उपत्यका तिब्बत र भारतको बीचमा ऊनीको ठूलो ब्यापारिक केन्द्र थियो । त्यसपछि समुद्र गुप्तले आफ्नो इल्लाहबादको शिलालेखमा नेपाल भारत साम्राज्यको सीमाबर्ती राज्य थियो भन्ने लेखेका छन् । पछि नेपालमा सबर्ण हिन्दू धर्मको प्रभाव बढ्दै जाँदा नेपालका राजबंशहरुले आ–आफ्नो मंगोल बंशलाई त्यागी रघुबंशी भनी जुन घोषणा गरेका थिए त्यसको खण्डन गौरदास बसाकले गरेका छन् । उनले आफ्नो पुस्तक बुद्ध बिहारमा टिप्पणी(Comment On Buddha Bihar)नामक पुस्तकमा मल्लबंशी राजाहरुको दाबी गरेको रघुबंशीको खण्डन गरी जातिय र साँस्कृतिक समानता उनीहरुको उत्तरी छिमेकीसँग छ भनी स्पष्ट लेखेका छन् । त्यसपछि काशीप्रसाद जैसवालले चीन र भारतका बीच नेपालको बैदेशिक सम्बन्ध परम्परागत रुपले नै तटस्थ नीति भएर आएको छ भनेका छन् । मैले भनेको छु कि महापण्डित राहुलजीले पनि नेपालको एक इतिहास लेखेका थिए । यो प्रकाशमा आएको छैन तर पटनाको कुनै एक प्रेसमा त्यसै थन्कियो भन्ने सुन्दछु । उनीसँग ब्यक्तिगतरुपमा लेखकको कुरा हुँदा उनी नेपालको स्वतन्त्र अस्तित्व रहेर आएको छ भन्ने सत्य कुरासँग सहमत छैनन् ।
अब हामीले आफ्नो देशको इतिहासकारहरुको सम्वन्धमा पनि केही कुरा भन्नु पर्छ । सात सालपूर्बदेखि नेपालको इतिहासकारको रुपमा नाम चलेका ईश्वरीप्रसाद उपाध्याय, रामजीप्रसाद, डिल्लीरमण तथा बालचन्द्र शर्मा आदि हुन् – उनीहरुको मूख्य बिशेषता नै बिदेशी इतिहासकारहरुले लेखेका इतिहासहरुको नेपाली जनताले बुझ्ने भाषा–नेपाली भाषमा अनुबादकोरुपमा प्रस्तुत गर्नु हाे । बिदेशीहरुले नेपालको जुन परिचय बिदेशमा दिएका थिए त्यसको अनुबाद नेपाली भाषामा प्रस्तुत गरे । यसमा कुनै शंका छैन कि यसमा उनीहरुले केही राष्ट्रिय अभिमानलाई त्यसमा पनि बिशेष गरेर सुगौली सन्धिपूर्बका बीरहरुको बीरगाथा गाए ।
हजारौं बर्ष पुरानो आफ्नो सभ्यता र सँस्कृतिको इतिहासले युक्त भएको नेपालको आफ्नो राष्ट्रिय परम्पराबाट एकातिर राणाशाही र अग्रेज नेपाललाई अन्तर्राष्ट्रिय जगतबाट बिल्कुलै अलग गरी नेपालको भूत र भबिष्य दुबैलाई अन्धकार बनाउने कोशिश गरे । राणाशाहीको एक शताब्दीको राज्यमा नेपालका बिद्वान पण्डित तथा गुभाज्यूहरुको काम केवल अग्रेजी साम्राज्यबादका बुद्धिजीवीहरुको जो नेपालमा आए, सघाउ गर्ने एक कारिन्दाकोरुपमा मात्र देखिन गयो । तर सात सालको क्रान्तिको फलस्वरुप राणाशाहीको अन्त्य भए पछि आफ्नो देशको हर क्षेत्रमा अनुसन्धान गर्ने कार्य शुरु भएको छ । इतिहासको क्षेत्र पनि यसमा सामेल भएको छ । त्यसको अतिरिक्त नेपाल अन्तर्राष्ट्रिय रंगमञ्चमा पनि देखा परेको हुनाले बिश्वका साना ठूला धेरैजसो राष्ट्रहरुले नेपालको सम्वन्धमा दिलचस्पी देखाई नेपाल सम्बन्धि साहित्यहरु प्रकाशमा ल्याउन थालेका छन् ।
श्रीबाबुराम आचार्यले आफ्नो मृत्युभन्दा पहिले पृथ्वीनारायण शाहको जीवनी र केही ऐतिहासिक लेखहरु छाडेर जानु भएको छ । राणाहरुको समयदेखि भित्रभित्रै नेपालको इतिहासमा उहाले चाख लिनु भएको थियो । अतः उहाँलाई नेपालको इतिहासका धेरै कुराको जानकारी थियो । यसै सिलसिलामा उहाँको आँखाको ज्योति पनि समाप्त भएको थियो । यस्तो पुरुषको सम्मानको निम्ति इतिहासशिरोमणी पदबीले बिभूषित गर्नुभन्दा उहाका सम्पूर्ण कुराको टेपरिकर्ड गर्न आवश्यक थियाे । उहाँको मृत्युको साथ उहाँको दिल दिमागमा भएका कुराहरु पनि गए । यो दुःखको कुरा हो । त्यसपछि पं.नयराज पन्तको पहलमा नेपालमा ‘इतिहास संशोधन मण्डल’ गठन भयो । यसको मूख्य काम नै अभिलेख, ताम्रपत्र, शिलापत्र, भोजपत्र र अन्य प्रकाशमा नआएका ऐतिहासिक बस्तुहरुको खोजबिन गरी प्रकाशमा ल्याउनु थियो ।
अब आएर ‘पूर्णिमा’ नामक केवल इतिहास लिप्त भएको पत्रिका पनि छापिन थालेको छ । अहिले आएर 'नेपाल एशियाली अध्ययन संस्थान'को स्थापना पनि नेपालको बिश्वबिद्यालयमा कायम भएकोछ । धनबज्र बज्राचार्यद्वारा संकलन र सम्पादन गरिएको ‘लिच्छबीकालीन अभिलेख’ अति नै महत्वपूर्ण दस्ताबेज छ – लिच्छबी कालको अध्ययनको निम्ति । त्यसको साथै नेपाल महात्यमा तथा पशुपति पुराण जस्ता पौराणिक ग्रन्थहरु पनि प्राप्त भएका तथ्य तथ्यांकहरु समावेश गरी आफ्ना किताबहरुको आकार ठूलो बनाएका छन् । नेपालको भूमि ब्यबस्था र नेपाली आर्थिक इतिहासको एक अध्ययन(A Study of Nepali Economic History)१७६८—१८४६) जस्ता पुस्तकहरु लेखी नेपाली इतिहासलाई भौतिबादी दृष्टिकोणले ब्याख्या गर्ने आधालाई बढाएका छन् ।
राणाशाहीको अन्त्यपछि पेरिचको मध्यकालीन नेपालले मल्ल कालको प्रकार बढाएको छ । डिस्कभरी अफ मल्लले सुदुर पश्चिमको मल्ल राज्यका अबशेषहरु पत्ता लगाएको छ र नोलीको नेप्लिज इन्स्कृप्सन अफ गुप्त क्यारेक्टर (Nepalese Inscriptions OF Gupta Charater)ले लिच्छबी कालको अध्ययनलाई अझै सुगम बनाएको छ । नेपालको आदिम इतिहासको अतिरिक्त बिशेषगरी जातिहरुको बिशेषगरी कबिला जातिहरुको बिषयमा पनि केही पुस्तकहरु प्रकाशमा आउन थालेका छन् । यसको अतिरिक्त नेपालसँग दौत्य सम्वन्ध भएका देशहरुले नेपालको तत्कालीन राजनीतिक स्थिति र जनबादी आन्दोलनलाई प्रमुख गरी धेरै नै किताबहरु प्रकाशमा ल्याएका छन् ।
एकातिर अन्तराष्ट्रिय जगतमा नेपालको जानकारीको चाख बढ्दो छ भने अर्कोतिर नेपालमै पनि आफ्नो इतिहास जान्ने सुन्ने र लेख्ने चाख बढ्न थालेको छ । यो शुभ लक्षण हो । यस्तो अबस्थामा हामीले नेपालको बिषयमा लेख्ने लेखकहरुमा जुन गलत धारणाहरु देखिएका छन्, तिनको बिरोध गर्ने सही आधारमा हामीले नेपाली समाजको एक ऐतिहासिक सर्बेक्षणा गर्ने कुरा आबश्यक भएर आएको छ ।
हम्रो देशको इतिहासले हाम्रा देशका जनताको चेतना बृद्धि गर्नमा ठूला सैद्धान्तिक र राजनीतिक हतियारको काम गर्दछ । कारण आजको नेपाल हिजोको नेपालको बच्चा र भावी नेपालको बीज हो । अतः इतिहास न एक बिबरण हो न राजबंश्को क्रमागत लेख, न त समाजमा घटेका घटनाहरुको क्रमागत संकलन नै हो । इतिहास मूख्यतः सप्रमाण सामाजिक संगठन हो जसमा कुनै निश्चित नियमानुसार संगठन र बिघटनको प्रकृया चालु भइरहेको हुन्छ । यो सामाजिक कृया एक अन्तहीन रचनात्मक कृया हो, त्यही संगठन र बिघटनको क्रियाले गर्दा समाजमा हमेशा एक शक्तिको नाश र अर्को शक्तिको बिकास भइरहेको हुन्छ । कुनै पनि समाजको उत्पादनको ब्यवस्थामा परिबर्तन आउनका साथै समाजको अन्य सम्पूर्ण ढाँचामा त्यसको छाप पर्न थाल्दछ र तिनमा पनि परिबर्तनको लक्षण देखा पर्दछ । उत्पादनको ब्यवस्थाबाट उत्पन्न हुने संगठन र बिघटनको क्रिया नै समाज बिकासको नियम हो । यस क्रियाको जानकारी भएको खण्डमा सचेतनरुपबाट समाजमा परिबर्तन ल्याउन सकिनेछ ।त्यसो भएको हुनाले इतिहासले समाजको परिबर्तनमा एक मूख्य हतियारको रुपमा काम गर्दछ । त्यसै भएको हुनाले शोषक बर्गका प्रतिनिधिहरुले इतिहासलाई तोडमोड गरी गलत किसिमले पेश गरेका छन् ।
अधिकांश बिदेशी नेपाली इतिहासकारहरुले नेपालको समाजप्रति गलत धारणा दिएका छन् कि नेपाल र भारत साँस्कृतिक दृष्टिकोणले एकै हो ।त्यो धारणा यति बलियो रुपमा रहन गएको छ कि यसको शिकार स्वयं नेपालका इतिहासकारहरु पनि नभएका होइनन् । यस गलत धारणा अन्तरगत अचेलका केही भारतीय लेखकहरुले नेपालको इतिहास एक किसिमले हिन्दूको इतिहास भने पनि हुन्छ भनी स्पष्ट शब्दमा किटी लेखेका छन् । यसको प्रतिबादमा नेपालमा अचले एक अन्धराष्ट्रबादी धारणा जागरण गराइएको छ । अतः भारतको सबै प्रकारले बिरोध गर्नु नै नेपाल र नेपालीको अस्तित्व जोगाउनु हो । अतः नेपाली जनताको आजको मूख्य कुरा नै भारत बिरोधी संघर्ष गर्नु हो । यसरी इतिहासको धारालाई गलत मोड दिई दुइ देशका जनता आज जागृतिको पथमा लागेको बेलामा उनीहरुको आन्दोलनलाई बंग्याउने कुचेष्टा दुबै देशका शोषक बर्गका बुद्धिजीवीहरुले गर्दैछन् । अतः आज नेपाली समाजको ऐतिहासिक सर्बेक्षण गरी बास्तबिक कुरा जन समक्ष ल्याउनु परेको छ । यस अनुसार हाम्रो नेपाली समाजले कति प्रकारका उत्पादनका अबस्थाहरु पार गरेर आएको छ र अहिले कुन अबस्थामा छ र अब हामी कतापट्टि कसरी अगाडि बढ्ने भन्ने कुरा यसबाट स्पष्ट हुनेछ । कारण इतिहासको काम सामाजको ब्याख्या गर्नु मात्रै होइन, यसको परिबर्तनको मार्ग दर्शन गराउनु र त्यसमा सक्रियरुपले भाग लिनु पनि हो ।
यस दृष्टिकोण र आवश्यकताले प्रेरित भएर म यतापट्टि अग्रसर भएको हुँ । यो पहिलो प्रयास भएको हुँदा यसले आजको आवश्यकतालाई सम्पूर्णरुपले पूरा गर्न नसके पनि आबश्यकता तिर यो पहिलो कदम हुनेछ । त्यसैमा मलाई सन्तोष छ ।
(नेपाली कम्युनिष्ट आन्दोलनका मार्गदर्शक तथा नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता कमरेड पुष्पलालले मार्क्सबादी द्वन्द्वात्मक भाैतिकबाद तथा ऐतिहासिक भौतिकबादको सही आधारमा सही दृष्टिकोणले नेपालको सर्बेक्षण नगरी नेपाली क्रान्तिलाई सही दिशामा सही किसिमले अगाडि बढाउन सकिने छैन भन्ने कुरा ठम्याएर यस्तो सर्बेक्षण लेख्ने अठोट गर्नु भएको थियो । तर उहाँको असमयमै देहाबसान हुँनजादा हामी त्यो उहाँको महत्वपूर्ण कृतिबाट त बिमुख हुन पुग्यौ नै । तर उहाले त्यो लेख्न अग्रसर हुनु भएको सर्बेक्षणको भूमिका नै यो महत्वपूर्ण लेख हो । यसले इतिहासलाई कसरी पढ्नु,बुझ्नु र ग्रहण गर्नु पर्दछ र त्यसले क्रान्तिलाई कसरी सहयोग पुर्याउँदछ भन्ने अत्यन्तै महत्वपूर्ण कुरा यसमा दर्शाउनु भएको छ । उहाँकाे याे सारगभिर्त दिग्दर्नप्रति हामी अनुगृहीत छाैं – सम्पादक )
नेपालपत्र संवाददाता