काठमाडौं । सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गोविन्दबहादुर कार्कीलाई नेपाल सरकारको मुख्यसचिवमा नियुक्त गरेको छ।बुधबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई मुख्यसचिवमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षा, विज्ञान तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिएका हुन्।
बैठकले सुरज शाक्यलाई काठमाडौं उपत्यका विकास प्राधिकरणको विकास आयुक्तमा नियुक्त गर्ने निर्णय पनि गरेको छ। यस्तै, गेटा अस्पताल, कैलालीलाई शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालका रूपमा सञ्चालन गर्न स्वीकृति प्रदान गरिएको छ।
मन्त्रिपरिषद्ले विदेशी शैक्षिक कार्यक्रम सञ्चालन तथा नियमन नियमावली, २०८३, शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा सञ्चालन तथा व्यवस्थापन नियमावली, २०८३ र कारागार नियमावली, २०८३ स्वीकृत गरेको छ। त्यसैगरी, सरकारले मानव अधिकार सम्बन्धी छैटौँ कार्ययोजना र भ्रष्टाचारविरुद्धको दोस्रो रणनीतिक योजना पनि स्वीकृत गर्ने निर्णय गरेको छ।