शुक्रबार, कार्तिक ७ गते २०८३

घरजग्गा कारोबार चलायमान, कारोबार रकम १८४ अर्ब नाघ्यो


आषाढ २३, २०८३ मंगलबार
घरजग्गा कारोबार चलायमान, कारोबार रकम १८४ अर्ब नाघ्यो

 

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमास (माघ–चैत्र) मा नेपालको घरजग्गा बजारमा उल्लेख्य सुधार देखिएको छ। नेपाल राष्ट्र बैंकले भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांकका आधारमा सार्वजनिक गरेको प्रतिवेदनअनुसार अधिकांश सूचकहरूमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा उल्लेखनीय वृद्धि भएको छ।

प्रतिवेदनअनुसार तेस्रो त्रैमासमा देशभर घरजग्गा किनबेचको कुल संख्या ६.४२ प्रतिशतले बढेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा भने कारोबार ४.५२ प्रतिशतले घटेको थियो। त्यस अवधिमा लिखत पारितको संख्या ९.६२ प्रतिशत र राजीनामामार्फत भएका कारोबार १२.१७ प्रतिशतले वृद्धि भएका छन्।

कारोबार भएको कुल क्षेत्रफल पनि ११.६० प्रतिशतले विस्तार भएको छ। यस अवधिमा देशभर करिब १८३ अर्ब ९० करोड रुपैयाँ बराबरको घरजग्गा कारोबार भएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको करिब १०० अर्ब ७ करोड रुपैयाँको तुलनामा निकै उच्च हो।

सरकारको राजस्व संकलनमा पनि सकारात्मक प्रभाव परेको छ। घरजग्गा कारोबारबाट उठ्ने राजस्व २३.७२ प्रतिशत र पुँजीगत लाभकर ३१.४२ प्रतिशतले बढेको छ। यस्तै, घरजग्गा क्षेत्रमा प्रवाह भएको बैंक ऋण पनि ५.५५ प्रतिशतले वृद्धि भएको प्रतिवेदनले देखाएको छ।

प्रदेशगत रूपमा हेर्दा बागमती प्रदेशमा राजीनामामार्फत हुने घरजग्गा कारोबार सबैभन्दा धेरै ३३.०१ प्रतिशतले बढेको छ। विपरीत, मधेश प्रदेशमा भने यस्तो कारोबार ४.७९ प्रतिशतले घटेको छ। यद्यपि कारोबारको कुल मूल्य भने सातै प्रदेशमा बढेको छ। बागमतीमा कारोबार रकम १३१.५२ प्रतिशतले वृद्धि हुँदा मधेशमा पनि २२.६७ प्रतिशतले वृद्धि भएको छ।

महानगरपालिकामध्ये काठमाडौं महानगरमा घरजग्गा कारोबार सबैभन्दा तीव्र रूपमा बढेको छ। यहाँ कारोबार संख्या १०८.४२ प्रतिशतले वृद्धि भएको छ। त्यसपछि पोखरा, ललितपुर, वीरगञ्ज, भरतपुर र विराटनगर महानगरको क्रम रहेको छ। कारोबारको कुल मूल्यमा पनि काठमाडौं महानगरले सबैभन्दा ठूलो वृद्धि दर्ता गरेको प्रतिवेदनमा उल्लेख छ।

समग्रमा घरजग्गा बजारमा सुस्ताएको अवस्था क्रमशः हट्दै गएको संकेत प्रतिवेदनले गरेको छ। कारोबार संख्या, कारोबार रकम, राजस्व संकलन र बैंक ऋण प्रवाहजस्ता प्रमुख सूचकमा आएको सुधारले बजारमा चलायमान हुने क्रम बढ्दै गएको देखिएको छ।