बुधबार, भाद्र ३ गते २०८३

सहकारी संकटबीच विश्वासको उदाहरण बन्यो वीरेन्द्रनगर साकोसः भरोसा, सुशासन र समर्पणका २५ वर्ष


आषाढ २३, २०८३ मंगलबार
सहकारी संकटबीच विश्वासको उदाहरण बन्यो वीरेन्द्रनगर साकोसः भरोसा, सुशासन र समर्पणका २५ वर्ष

 

वीरेन्द्रनगर–६ सुर्खेतमा मुख्य कार्यालय रहेको वीरेन्द्रनगर बचत तथा ऋण सहकारी संस्थाले २५औँ स्थापना दिवस विविध कार्यक्रम आयोजना गरी मनाएको छ। रजत जयन्ती वर्षको अवसरमा आयोजित कार्यक्रममा संस्थाले सदस्यहरुलाई सम्मान गर्नुका साथै २५ वर्षे ‘स्मृति सङ्गालो’ विमोचन समेत गरेको छ। संस्थाका अध्यक्ष बमबहादुर बिसीको अध्यक्षतामा आयोजित कार्यक्रममा कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बिनोद कुमार शाहको प्रमुख आतिथ्यता रहेको थियो । 

कार्यक्रमका प्रमुख अतिथि शाहले सुर्खेत जिल्लाको सन्दर्भमा सहकारी अभियान समग्र रूपमा सन्तोषजनक रहेको भए पनि अन्य जिल्लामा देखिएका सहकारीसम्बन्धी समस्याका कारण आमसदस्यमा सहकारीप्रतिको विश्वास केही कमजोर बन्दै गएको धारणा राखे। उनले आगामी दिनमा सहकारी संस्थाहरूले सदस्यमैत्री वित्तीय तथा गैरवित्तीय गतिविधिलाई अझ प्रभावकारी रूपमा सञ्चालन गर्दै सदस्यहरूको हकहित संरक्षण, संस्थागत साख अभिवृद्धि तथा सहकारीप्रतिको जनविश्वास कायम राख्न विशेष ध्यान दिनुपर्नेमा जोड दिए ।  त्यसका लागि संस्थाका पदाधिकारी, सञ्चालक तथा कर्मचारीहरूले सुशासन, पारदर्शिता, उत्तरदायित्व र निष्ठापूर्वक आफ्नो जिम्मेवारी निर्वाह गर्दै संस्थाका गतिविधि सञ्चालन गर्नुपर्ने उनको भनाइ छ । 

मन्त्री शाहले रजत वर्षको अवसरमा शुभकामना व्यक्त गर्दै वीरेन्द्रनगर सहकारी कर्णाली प्रदेशको मात्र नभई नेपालकै उत्कृष्ट बचत तथा ऋण सहकारी संस्थामध्ये एकका रूपमा आफ्नो विशिष्ट पहिचान स्थापित गर्न सफल भएको जनाए। आगामी दिनमा संस्था अझ सुदृढ, विश्वासिलो र सदस्यकेन्द्रित सेवामार्फत थप सफलताको उचाइमा पुग्ने विश्वास उनले व्यक्त गरे । 

birendranagar udghatan 2.jpg

कार्यक्रममा सहकारी महासंघका सञ्चालक हरिहरनाथ योगी, राष्ट्रिय सहकारी बैंक लिमिटेडका सञ्चालक कालिप्रसाद महतारा, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सहकारी रजिस्ट्रार खिमानन्द अर्याल, जिल्ला सहकारी संघ, जिल्ला बचत तथा ऋण सहकारी संघ, नेफ्स्कून तथा सुर्खेत जिल्लाका विभिन्न बहुउद्देश्यीय सहकारी संस्था र बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष एवं प्रतिनिधिहरूले शुभकामना मन्तव्य व्यक्त गर्दै संस्थाले २५ वर्षको यात्रामा हासिल गरेका उपलब्धिको प्रशंसा गरेका थिए । उनी हरूले संस्थाले आगामी दिनमा पनि सदस्यमुखी, पारदर्शी र दिगो सहकारी सेवामार्फत अझ उत्कृष्ट सफलता हासिल गर्दै अघि बढ्न शुभकामना व्यक्त गरे । 

वक्ताहरूले वीरेन्द्रनगर सहकारी संस्था कर्णाली प्रदेशकै उत्कृष्ट सहकारी संस्थाका रूपमा स्थापित हुन सफल भएको उल्लेख गर्दै यसको असल अभ्यास, सुशासन, पारदर्शिता तथा सदस्यकेन्द्रित कार्यशैलीबाट सुर्खेतका अन्य सहकारी संस्थाहरूले समेत प्रेरणा लिनुपर्ने धारणा राखे। उनीहरूले पछिल्लो समय केही सहकारी संस्थामा देखिएका समस्याका कारण आमसमुदायमा सहकारीप्रतिको विश्वास कमजोर बन्दै गएको सन्दर्भमा वीरेन्द्रनगर साकोसले सञ्चालन गर्दै आएका प्रभावकारी वित्तीय तथा गैरवित्तीय सेवाहरूले सदस्यहरूको विश्वास पुनःस्थापित गर्न तथा सहकारी अभियानलाई थप सुदृढ बनाउन महत्त्वपूर्ण योगदान पुर्‍याएको जनाए ।  

कार्यक्रममा संस्थाको २५ वर्षे गौरवपूर्ण यात्रा, उपलब्धि तथा गतिविधिहरू समेटिएको ‘२५ वर्षे स्मृति सङ्गालो’ नामक स्मारिकाको प्रमुख अतिथि शाहले हस्ताक्षर गरी औपचारिक रूपमा विमोचन गरेका थिए । त्यसैगरी, संस्थाको स्थापना कालदेखि हालसम्मका प्रमुख गतिविधि, उपलब्धि, सेवा विस्तार तथा विकास यात्रालाई समेटेर तयार गरिएको भिडियो डकुमेन्ट्रीसमेत कार्यक्रममा सार्वजनिक तथा प्रदर्शन गरिएको थियो। उक्त डकुमेन्ट्रीमार्फत संस्थाको २५ वर्षको ऐतिहासिक यात्रा, योगदान र उपलब्धिहरूलाई सहभागीमाझ प्रभावकारी रूपमा प्रस्तुत गरिएको थियो। सो अवसरमा संस्थाका सञ्चालक समिति, लेखा सुपरिवेक्षण समितिका पदाधिकारी तथा सदस्यहरू, सल्लाहकारहरू, कर्मचारीहरू तथा संस्थाका मेरुदण्डका रूपमा रहेका आदरणीय शेयर सदस्यहरूको उत्साहजनक र सक्रिय सहभागिता रहेको थियो।

birendranagar udghatan 3.jpg

सो अवसरमा संस्थाको उद्देश्य प्राप्ति, व्यावसायिक विकास, साख अभिविद्धि र संस्थागत सुदृढीकरणमा योगदान पुर्‍याउने संस्थापक अध्यक्ष, पूर्व पदाधिकारी, पूर्व सञ्चालक, सल्लाहकार, एकीकरणमा सहभागी संस्थाका पूर्व अध्यक्ष, कर्मचारीहरूलाई रजत सेवा पदक तथा कर्मचारी दीर्घ सेवा पदक विधाअन्तर्गत २८ जना व्यक्तिलाई सम्मान गरिएको थियो। त्यसैगरी, सदस्यतर्फ विभिन्न विधामा छनोट भएका ४३० जना सदस्यलाई संस्थाको आगामी २५औँ वार्षिक साधारणसभाको अवसरमा सम्मान गरिने जानकारी दिइयो । 

कार्यक्रमको समापन गर्दै सभाध्यक्ष तथा संस्थाका अध्यक्ष बि.सी.ले संस्थाले स्थापना कालदेखि नै सदस्यमैत्री सेवा प्रवाह तथा सदस्यहरूको हकहितलाई केन्द्रमा राखी आफ्ना गतिविधिहरू सञ्चालन गर्दै आएको बताए । उनले संस्थाले सुरुदेखि नै दीर्घकालीन व्यावसायिक तथा रणनीतिक योजना निर्माण गरी सोही अनुरूप संस्थागत गतिविधिहरू सञ्चालन गर्ने अभ्यासलाई निरन्तरता दिएको उल्लेख गरे । अध्यक्ष्य बि.सी.ले आगामी दिनमा पनि सुशासन, पारदर्शिता, उत्तरदायित्व तथा आधुनिक प्रविधिको उच्चतम प्रयोगमार्फत सदस्यलाई गुणस्तरीय सेवा प्रदान गर्दै सदस्यहरूको जीवनस्तर उकास्न संस्था निरन्तर प्रतिबद्धता जनाए । 

संस्थाले रजत जयन्ती मनाउन सफल हुनुमा सदस्यहरूले संस्थाप्रति राखेको अटल विश्वास, भरोसा, साथ र सहयोग नै प्रमुख आधार रहेको उल्लेख गर्दै संस्थापक सदस्यहरू, पूर्व अध्यक्षहरू, एकिकरणमा सामेल सहकारी संस्था र संस्थाका पदाधिकारी, पूर्व सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, सल्लाहकार तथा कर्मचारीहरूको समर्पण, अथक मेहनत र योगदानप्रति उनले कृतज्ञता व्यक्त गरे । संस्थाको २५ वर्षे यात्रामा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा साथ, सहयोग र योगदान पुर्‍याउने सम्पूर्ण शेयर सदस्य, शुभेच्छुक, नियामक निकाय, सहकारी अभियानका अभियन्ताहरूप्रति हार्दिक आभार व्यक्त गर्दै आगामी दिनमा पनि यही विश्वास, साथ र सहयोग निरन्तर रहने अपेक्षा उनले राखे । 

कार्यक्रमको सञ्चालन संस्थाका प्रमुख कार्यकारी अधिकृत छत्रबहादुर थापाले गरेका थिए । संस्थामा पुर्‍याएको दीर्घकालीन तथा विशिष्ट योगदानको कदरस्वरूप थापालाई रजत सेवा पदक प्रदान गरी सम्मान गरिएको थियो। प्रमुख कार्यकारी अधिकृत थापाले विगत २५ वर्षदेखि संस्थामा निरन्तर सेवा गर्दै आएका छन्। संस्थाले विभिन्न चुनौतीपूर्ण परिस्थितिको सामना गरिरहेको समयमा समेत उनले करिब ८ वर्षसम्म बेतलबी रूपमा सेवा प्रदान गरेका थिए। संस्थाको संरक्षण, सुदृढीकरण तथा वर्तमान अवस्थासम्मको विकास यात्रामा उनले पुर्‍याएको समर्पण, नेतृत्व र योगदानको उच्च मूल्याङ्कन गर्दै संस्थाले सीइओ थापालाई रजत सेवा पदकबाट सम्मान गरेको हो।

birendranagar udghatan 4.jpg