बुधबार, भाद्र ३ गते २०८३

आर्थिक वृद्धि ३.५१ प्रतिशत हुने तथ्याङ्क कार्यालयको प्रक्षेपण


आषाढ २२, २०८३ सोमबार
आर्थिक वृद्धि ३.५१ प्रतिशत हुने तथ्याङ्क कार्यालयको प्रक्षेपण

चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासमा नेपालको अर्थतन्त्र ३.५१ प्रतिशतले विस्तार हुने अनुमान गरिएको छ। राष्ट्रिय तथ्यांक कार्यालयले सोमबार सार्वजनिक गरेको राष्ट्रिय लेखा अनुमानअनुसार आधारभूत मूल्यमा गरिएको उक्त अनुमानमा अर्थतन्त्रका अधिकांश क्षेत्रमा सुधार देखिए पनि कृषि उत्पादनमा आएको गिरावट, निर्माण गतिविधिको सुस्तता तथा औद्योगिक उत्पादन कमजोर रहँदा आर्थिक वृद्धिदर अपेक्षाभन्दा कम रहेको देखिएको हो।

कार्यालयका अनुसार समीक्षा अवधिमा विद्युत् उत्पादन तथा वितरण, बैंकिङ प्रणालीमा निक्षेप संकलन र कर्जा प्रवाह, निर्जीवन बिमा प्रिमियम संकलन तथा व्यापार सेवामा आएको सुधारले आर्थिक वृद्धिलाई मुख्य रूपमा टेवा दिएको छ। तर निर्माण सामग्रीको आयात घट्नु, धान उत्पादनमा कमी आउनु तथा केही औद्योगिक वस्तुको घरेलु उत्पादन घट्नुले समग्र वृद्धिदरलाई सीमित बनाएको कार्यालयको निष्कर्ष छ।

यस अवधिमा अर्थतन्त्रका १८ औद्योगिक वर्गीकरणमध्ये १६ वटाको कुल मूल्य अभिवृद्धि सकारात्मक रहने अनुमान गरिएको छ। सबैभन्दा उच्च वृद्धि विद्युत्, ग्यास, वाफ तथा वातानुकूलित आपूर्ति क्षेत्रमा २४.८८ प्रतिशत रहने अनुमान छ। जलविद्युत् उत्पादन विस्तार र विद्युत् आपूर्तिमा सुधारले यस क्षेत्रमा उल्लेखनीय वृद्धि भएको कार्यालयले जनाएको छ। त्यसपछि वित्तीय तथा बिमा क्षेत्र १०.२७ प्रतिशतले विस्तार हुने अनुमान गरिएको छ। बैंक तथा वित्तीय संस्थामा निक्षेप वृद्धि, कर्जा प्रवाहमा सुधार तथा निर्जीवन बिमा व्यवसाय विस्तारले यस क्षेत्रको वृद्धिमा योगदान दिएको उल्लेख छ। यस्तै, यातायात तथा भण्डारण क्षेत्रको वृद्धिदर ७.८३ प्रतिशत रहने अनुमान गरिएको छ। आयात–निर्यात गतिविधि तथा आन्तरिक ढुवानीमा आएको सुधारले यस क्षेत्रलाई सहयोग पुगेको देखिएको छ। 

अर्थतन्त्रको दोस्रो ठूलो योगदानकर्ता थोक तथा खुद्रा व्यापार क्षेत्र ५.२५ प्रतिशतले विस्तार हुने प्रारम्भिक अनुमान छ। केही उपभोग्य वस्तुको आयात वृद्धि, व्यापार कारोबार विस्तार तथा सेवा क्षेत्रको चलायमान अवस्थाले व्यापार क्षेत्रलाई सकारात्मक बनाएको कार्यालयले जनाएको छ। सबैभन्दा ठूलो हिस्सा ओगटेको कृषि, वन तथा मत्स्य क्षेत्रको वृद्धिदर भने १.५८ प्रतिशतमा सीमित रहने अनुमान छ। धान उत्पादनमा उल्लेखनीय गिरावट आए पनि पशुपालन, तरकारी, फलफूल तथा वनजन्य उत्पादनमा भएको सामान्य वृद्धिले कृषि क्षेत्रलाई ऋणात्मक हुनबाट जोगाएको कार्यालयको विश्लेषण छ।

अर्कोतर्फ, सार्वजनिक प्रशासन तथा रक्षा क्षेत्र १.५९ प्रतिशतले खुम्चिने अनुमान गरिएको छ। औद्योगिक उत्पादन क्षेत्र पनि ०.५४ प्रतिशतले घट्ने अनुमान गरिएको छ। उत्पादनमूलक उद्योगमा कमजोर गतिविधि तथा निर्माणसँग सम्बन्धित उद्योगको उत्पादनमा कमी आउँदा औद्योगिक क्षेत्र अझै पूर्ण रूपमा पुनरुत्थान हुन नसकेको तथ्यांकले देखाएको छ।   कार्यालयका अनुसार निर्माण सामग्रीको आयात घटेको, औद्योगिक उत्पादन अपेक्षाअनुसार बढ्न नसकेको तथा कृषि उत्पादनमा विशेषगरी धानबाली कमजोर रहेकाले अर्थतन्त्रमा सुधारका संकेत देखिए पनि समग्र वृद्धिदर मध्यम स्तरमै सीमित भएको हो।

कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आर्थिक गतिविधिमा सुधार देखिए पनि विस्तारको गति अझै असन्तोषजनक छ। बैंकिङ प्रणालीमा पर्याप्त तरलता, वित्तीय कारोबार विस्तार तथा विद्युत् उत्पादनमा उल्लेख्य वृद्धि भए पनि उत्पादनमूलक क्षेत्र र कृषि क्षेत्रले अपेक्षित गति लिन नसक्दा अर्थतन्त्रको समग्र विस्तार सीमित भएको देखिन्छ।