काठमाडौं, नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले आज २० अर्ब रुपैयाँ बराबरको एक वर्ष अवधिको नेपाल राष्ट्र बैंक ऋणपत्र जारी गर्ने भएको छ। राष्ट्र बैंकले सार्वजनिक गरेको सूचनाअनुसार ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४ ‘घ’ नामक उक्त ऋणपत्रका लागि असार २२ गते अपराह्न ३ बजेसम्म अनलाइन बिडिङ प्रणालीमार्फत बोलकबोल गर्न सकिनेछ। सोही दिन ऋणपत्र निष्कासन गरिने व्यवस्था गरिएको छ।
यस ऋणपत्रको अवधि एक वर्ष रहनेछ भने यसको साँवा २०८४ असार २२ गते भुक्तानी गरिनेछ। ब्याजदर भने बोलकबोल प्रक्रियाबाट निर्धारण हुनेछ र ब्याज अर्धवार्षिक रूपमा भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ।
बोलकबोलमा न्यूनतम ५ करोड रुपैयाँ र सोभन्दा माथि ५ करोड रुपैयाँले निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म आवेदन दिन सकिनेछ। एउटै सहभागीले फरक–फरक ब्याजदरमा पनि बोलकबोल गर्न सक्ने व्यवस्था गरिएको छ। राष्ट्र बैंकका अनुसार उक्त ऋणपत्रलाई नेपाल राष्ट्र बैंक तथा अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा समेत प्रयोग गर्न सकिनेछ।
नेपालपत्र संवाददाता