भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव मदन भूजेलले सहकारी क्षेत्रका लागि दुई छुट्टा छुट्टै ऐन ल्याउन लागेको बताएका छन् । राष्ट्रिय सहकारी महासंघले आयोजना गरेको १०४औं अन्तराष्ट्र्रिय सहकारी दिवसको अवसरमा बोल्दै उनले बचत ऋणका लागि छुट्टै ऐन ल्याउन लागेकाले अभियानको तर्फबाट समेत सुझाव दिन आग्रह गरे । सचिव भुजेलले सरकारले बचत तथा ऋण र अन्य प्रकृतिका सहकारीका लागि छुट्टाछुट्टै ऐन ल्याउन सार्वजनिक सूचना जारी गरेकाले अभियानको सुझाव माग गरे ।
राष्ट्रिय सहकारी नियमन प्राधिकरणलाई प्रभावकारी बनाउन छुट्टै ऐनको ड्राफ्ट गर्न थालिएको उनले प्रष्ट पारे । बचत तथा ऋण सहकारीको नियमनको लागि नयाँ ऐन ल्याउने जनाउँदै सरकारको काम वातावरण बनाइदिने मात्र भएको उनको भनाई छ । उनले भने, ‘सरकारले आवश्यक नीति निमार्ण गर्ने हो तर संस्था सञ्चालन गर्ने भनेको तपाईंहरुले नै हो । अभियानको साथ सहयोग र सल्लाह सुझावको आधारमा सरकारले ऐन नियम बनाउँछ ।’
नेपालको अर्थतन्त्रमा सहकारी क्षेत्रको योगदान ठुलो रहेको भन्दै उनले कुल जनसंख्याको एक तिहाई सहकारीमा आवद्ध भएको उल्लेख गरे । सहकारी मार्फत् पुँजी निर्माण, उद्यम व्यवसायमा वृद्धि, रोजगारी सृजना, उत्पादन र उत्पादकत्वमा समेत वृद्धि भएको उनले जनाए । तर समाजमा रहेका केही गलत सहकारीका कारण राम्रो काम गर्ने सहकारीकर्मी पनि शिर झुकाएर हिँड्नु परेको उनको भनाई छ ।
समस्याग्रस्त सहकारीको विषयमा आफुलाई बोल्न मन नभएपनि जहाँ गए पनि यही विषय पहिला आउने भन्दै सचिव भुजेलले हरेक सभा समारोहमा यो विषय बढी चर्चा हुने जनाए । आगामी दिनमा सहकारीमा समस्या आउन नदिने गरी काम गर्न उनको आग्रह छ । अहिले सहकारीले बचत तथा ऋणको मात्र कारोबार गरिराखेको आरोप लाग्ने गरेको भन्दै अब सहकारीहरुलाई उत्पादनमा लगाउन उनले सुझाए । उत्पादन वृद्धि, रोजगारी सृजना र उद्यमशीलता विकास जस्ता क्षेत्रमा सहकारीहरु लाग्न उनले जोड दिए ।
अर्कोतर्फ सहकारीमा वित्तीय पारदर्शिता र सुशासन कायम गर्दै समुदायका सबै मानिसलाई समेटेर काम गर्नुपर्ने आवश्यकता उनले औंल्याए । बैंक तथा वित्तीय संस्था पुग्न नसकेको र आर्थिक गतिविधि सुस्त भएको ठाउँमा सहकारीको आवश्यकता अझ बढी भएको उनको भनाई छ । समुदायलाई लाभ दिने गरी काम गर्न जोड दिँदै उनले सहकारी मूल्य, मान्यता र सिद्धान्तमा विचलन आएको दावी गरे । सामाजिक न्याय, समानता र आत्मनिर्भर समाज निर्माणको लागि सहकारीले काम गर्नुपर्नेमा उनले जोड दिए ।
नेपालपत्र संवाददाता