नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)ले प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि आवेदन आह्वान गरेको छ। झापाको कांकडभिट्टामा मुख्य कार्यालय रहेको संस्थाले चार वर्षे करार सेवाका लागि योग्य नेपाली नागरिकबाट आगामी असार ३० गतेसम्म दरखास्त मागेको हो।
सूचना अनुसार आवेदकको उमेर ५५ वर्ष ननाघेको हुनुपर्नेछ। शैक्षिक योग्यता, अनुभव, आवश्यक कागजात, आवेदन प्रक्रिया तथा दस्तुरसम्बन्धी विस्तृत जानकारी संस्थाको आधिकारिक वेबसाइटबाट प्राप्त गर्न सकिने जनाएको छ।
सीईओ पदका लागि मासिक १ लाख ५० हजार रुपैयाँ तलब, ३० हजार रुपैयाँ मासिक भत्ता तथा २० हजार रुपैयाँ आवास सुविधा उपलब्ध गराइनेछ। अन्य सेवा–सुविधा सञ्चालक समितिले तोकेबमोजिम हुने संस्थाले जनाएको छ। उम्मेदवार छनोट अन्तर्वार्ता र व्यावसायिक योजनाको प्रस्तुतीकरणको मूल्यांकनका आधारमा गरिनेछ।
वि.सं. २०५० सालमा स्थापना भएको एनएमसीको कार्यक्षेत्र झापा, इलाम र मोरङ जिल्लामा फैलिएको छ। संस्थाले बचत तथा ऋण सेवासँगै डेरी, चिया, प्याकेजिङ उद्योग तथा विभिन्न कृषि उद्यम सञ्चालन गर्दै आएको छ। हाल संस्थामा १ लाख ५० हजारभन्दा बढी सदस्य रहेका छन्।
