शुक्रबार, कार्तिक ७ गते २०८३

आज ३५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्दै राष्ट्र बैंक


आषाढ १६, २०८३ मंगलबार
आज ३५ अर्ब रुपैयाँ बराबरको  ऋणपत्र जारी गर्दै राष्ट्र बैंक

काठमाण्डाै,  नेपाल राष्ट्र बैंकले आज (असार १६ गते) ३५ अर्ब रुपैयाँ बराबरको एक वर्षे ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४ ‘क’’ बोलकबोलमार्फत जारी गर्ने भएको छ। राष्ट्र बैंकले सार्वजनिक गरेको सूचनाअनुसार ऋणपत्रको बोलकबोल आज मध्याह्न ३ बजेसम्म अनलाइन बिडिङ प्रणालीमार्फत हुनेछ। बोलकबोल सम्पन्न भएपछि सोही दिन ऋणपत्र निष्कासन गरिनेछ।

यो ऋणपत्रको अवधि एक वर्षको हुनेछ। यसको साँवा २०८४ असार १६ गते फिर्ता गरिनेछ भने ब्याज अर्धवार्षिक रूपमा भुक्तानी हुनेछ। ऋणपत्रको ब्याजदर भने बोलकबोल प्रक्रियाबाट निर्धारण गरिने राष्ट्र बैंकले जनाएको छ। ऋणपत्रमा न्यूनतम ५ करोड रुपैयाँदेखि बोलकबोल गर्न सकिनेछ। त्यसपछि ५ करोड रुपैयाँको गुणकमा कुल आह्वान रकमसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ। यस बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था (काउन्टरपार्टी) मात्र सहभागी हुन पाउनेछन्।

राष्ट्र बैंकका अनुसार ऋणपत्रको बाँडफाँट गर्दा सबैभन्दा कम ब्याजदरबाट क्रमशः माथि जाँदै आह्वान गरिएको रकम पूरा हुने बिन्दुसम्मका बोल स्वीकार गरिनेछ। सो बिन्दुमा कायम हुने ब्याजदरलाई ‘एकल ब्याजदर’ मानेर सो दर वा सोभन्दा कम ब्याजदरमा आवेदन दिने सबैलाई त्यही दरमा ऋणपत्र बिक्री गरिनेछ। यदि एउटै ब्याजदरमा माग बढी भएमा समानुपातिक रूपमा बाँडफाँट गरिने व्यवस्था छ। खुला बजार कारोबार सञ्चालन समितिलाई सम्पूर्ण वा आंशिक बोल स्वीकार वा अस्वीकार गर्ने अधिकार रहने राष्ट्र बैंकले जनाएको छ।

निष्कासनको दिन स्वीकृत रकम सम्बन्धित बैंक तथा वित्तीय संस्थाको नेपाल राष्ट्र बैंकमा रहेको खाताबाट स्वतः कट्टा गरिनेछ। खातामा पर्याप्त मौज्दात नभएमा स्वीकृत बोल रद्द गरिनुका साथै स्वीकृत रकमको २.५ प्रतिशत हर्जाना लाग्ने र सम्बन्धित संस्थालाई ६ महिनासम्म खुला बजार कारोबार तथा ब्याजदर करिडोरअन्तर्गतका कुनै पनि बोलकबोलमा सहभागी हुन नपाइने व्यवस्था गरिएको छ। राष्ट्र बैंकले जारी गरेको यो ऋणपत्र नेपाल राष्ट्र बैंक तथा अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा समेत प्रयोग गर्न सकिनेछ।