बुधबार, भाद्र ३ गते २०८३

पुष्पलाल र लेनिन : रगतले कोरेको सङ्कल्प


आषाढ १५, २०८३ सोमबार
पुष्पलाल र लेनिन : रगतले कोरेको सङ्कल्प
babulal.jpg
बाबुलाल भण्डारी 
मानिसहरू जन्मजात नेता हुँदैनन्- उनीहरूलाई समयले जन्माउँछ, पीडाले बलियो बनाउँछ र अन्यायले महान् सङ्कल्पमा रूपान्तरण गर्छ । कहिलेकाहीँ गोलीले एउटा जीवन अन्त्य गर्छ, तर त्यसै एउटा गोलीले व्यक्तिलाई मात्र ढाल्दैन सङ्गसङ्गै सिङ्गो देश र युगको दिशा नै बदलिदिन्छ ।
संसारको एउटा कुनामा भोल्गा नदीको किनारमा हुर्किएका भ्लादिमिर इलिइच उल्यानोभ (लेनिन) र अर्को कुनामा हिमालयको काखमा जन्मिएका पुष्पलाल श्रेष्ठ- यी दुई फरक भूगोल र कालखण्डका नायकहरूलाई एउटै रक्ताम्मे सूत्रले जोडेको देखिन्छ : आफ्ना प्यारा सहोदर दाजुहरूको सहादत र त्यसबाट प्रस्फुटित प्रतिशोधको राँको ।
रुसमा जार शाहीको निरङ्कुशता विरुद्ध क्रान्तिको बिगुल फुक्ने प्रयास गर्दा लेनिनका दाजु अलेक्जेन्डर उल्यानोभलाई सन् १८८७ मा अन्यायपूर्वक फाँसी दिइयो । त्यो घटनाले एउटा परिवार मात्र शोकमा डुबेन, कलिला भाइ लेनिनको हृदयमा जार सत्ता विरुद्ध घृणा र विद्रोहको ज्वाला पनि प्रज्वलित गरिदियो। उनले प्रतिशोधलाई व्यक्तिगत घृणामा होइन, सामाजिक रूपान्तरणको वैचारिक सङ्कल्पमा बदलिदिए । एउटा अमूक व्यक्तिलाई हटाएर मात्र अन्याय हट्दैन; अन्याय जन्माउने समुचा संरचनालाई ढाल्न वैज्ञानिक समाजवादको नयाँ मार्ग तय गर्नुपर्छ भन्ने अठोट सहित उनी कम्मर कसेर उठे र त्यत्रो साम्राज्यलाई धुलिशात गरे !
नेपालमा पनि इतिहासले यस्तै एउटा दृष्य दोहर्यायो । राणा शासनले अमर शहीद गङ्गालाल श्रेष्ठलाई शोभा भगवती किनारामा गोली हानेर मृत्युदण्ड दियो । मृत्यु अघि गङ्गालालले पुष्पलालसङ्ग बोलेका "भाइ माइला, मैले बालेको प्रजातन्त्रको यो दियोलाई निभ्न नदिनू !” भन्ने मार्मिक उद्गारले पुष्पलालको पनि जीवनधारा बदलिदियो । उनले बन्दुकको सट्टा विचार उठाए अनि क्रोधलाई वैचारिक अनुशासनमा, पीडालाई जनमुक्तिको अभियानमा, र व्यक्तिगत शोकलाई राष्ट्रिय राजनीतिक चेतनामा रूपान्तरण गरे । यही एउटा युगान्तकारी सङ्कल्पको बीउ बन्यो । अर्थात् त्यही सहादतको जगमा उभिएरै पुष्पलाल वि.सं. २००६ मा नेपाल कम्युनिष्ट पार्टीको संस्थापक महासचिव र कम्युनिस्ट आन्दोलनका शूत्रधार बन्न गए ।
यसरी दुवै नायकहरूको जीवनलाई नयाँ गति र दिशा दिने मोडहरू आश्चर्यजनक रूपमा समान देखिन्छन् । दुवैका दाजुहरू निरङ्कुश सत्ताको क्रूर बलिवेदीमा चढाइए । तर त्यही बलिवेदीको जगबाट एउटा यस्तो आँधी पैदा भयो जसले व्यवस्था बदल्ने सम्मको परिणाम ल्यायो ! लेनिन र पुष्पलालको जीवनले यही अमर सन्देश दिन्छ- रगतले कहिलेकाहीँ इतिहास मात्र रङ्ग्याउँदैन, त्यसले भविष्यको युगान्तकारी दिशासमेत कोरिदिन्छ ।
आज क. पुष्पलाललाई सम्झँदा हामी केवल एउटा राजनीतिक दलका संस्थापकलाई होइन, पीडालाई विचारमा रूपान्तरण गर्ने दुर्लभ साहसलाई सम्मान गरिरहेका हुन्छौँ ।
आज असार १५ मा युगचिन्तक माइल्दाइ क. पुष्पलालको जन्म जयन्तिका अवसरमा दुवै क्रान्तिनायकहरू प्रति भावपूर्ण श्रद्धासुमन !