शुक्रबार, कार्तिक ७ गते २०८३

ललितपुर महानगरको बजेट ७ अर्ब ४८ करोड, अधुरा योजना पूरा र सम्पदा संरक्षणमा जोड


आषाढ ११, २०८३ बिहीबार
ललितपुर महानगरको बजेट ७ अर्ब ४८ करोड, अधुरा योजना पूरा र सम्पदा संरक्षणमा जोड

ललितपुर । ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सात अर्ब ४८ करोड ८७ लाख ८० हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ। उपप्रमुख मञ्जली शाक्य वज्राचार्यले बुधबार नगर सभामा बजेट पेश गर्दै चालुतर्फ तीन अर्ब २५ करोड १८ लाख र पुँजीगततर्फ चार अर्ब २३ करोड ६९ लाख रुपैयाँ विनियोजन गरिएको जानकारी दिनुभयो।

महानगरले बजेटका लागि सङ्घीय सरकारबाट एक अर्ब ३६ करोड ५३ लाख, बागमती प्रदेश सरकारबाट १७ करोड ६३ लाख, आन्तरिक आयबाट तीन अर्ब ३५ करोड ५० लाख तथा अन्तरसरकारी अख्तियारीमार्फत एक अर्ब छ करोड २० लाख रुपैयाँ प्राप्त हुने अनुमान गरेको छ। बजेटमा अपुग हुने एक अर्ब ४७ करोड रुपैयाँ नगद मौज्दातबाट व्यवस्थापन गरिने जनाएको छ।

आगामी वर्षको बजेटले अधुरा पूर्वाधार आयोजना सम्पन्न गर्ने, सम्पदा संरक्षण, हरियाली प्रवर्द्धन, विपद् जोखिम न्यूनीकरण तथा महानगरलाई थप सूचना प्रविधिमैत्री बनाउने कार्यक्रमलाई प्राथमिकतामा राखेको छ। नीति तथा कार्यक्रममा नगर गौरवका आयोजना, विद्युत् तथा सडकबत्ती व्यवस्थापन, सिसिटिभी विस्तार, खानेपानी तथा ढल व्यवस्थापन, सहरी विकास, सरसफाइ र फोहोरमैला व्यवस्थापनलाई समेत प्राथमिकता दिइएको छ।

महानगरले सामाजिक तथा आर्थिक प्रोत्साहनका कार्यक्रमसमेत अघि सारेको छ। एकल महिला, दलित, अपाङ्गता भएका व्यक्ति वा समूहद्वारा सञ्चालित व्यवसाय दर्तामा ५० प्रतिशत शुल्क छुट दिने, नर्सरी, फलफूल तथा तरकारी खेती गर्ने कृषकलाई जग्गा बहाल करमा छुट प्रदान गर्ने र विश्व सम्पदा क्षेत्रभित्र मापदण्डअनुसार निर्माण गरिएका घरलाई सम्पत्ति करमा सहुलियत दिने व्यवस्था प्रस्ताव गरिएको छ। निजी क्षेत्रबाट सार्वजनिक पार्किङ व्यवस्थापनलाई प्रोत्साहन गर्न नक्सापास दस्तुरमा छुट दिने नीति पनि बजेटमा समावेश गरिएको छ।