काठमाडौं । बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले ७० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन उपकरण जारी गर्ने भएको छ।
राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले जारी गरेको सूचनाअनुसार २०८३ असार १० गते ७९ दिन अवधिको निक्षेप संकलन उपकरणका लागि बोलकबोल निष्काशन गरेकाे हाे। बोलकबोल सोही दिन दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ प्रणालीमार्फत हुनेछ। उक्त रकमकाे साँवा तथा ब्याज भुक्तानी २०८३ भदौ २६ गते गरिने राष्ट्र बैंकले जनाएको छ।
यस निक्षेप संकलन उपकरणको ब्याजदर बोलकबोल प्रक्रियाबाट निर्धारण हुनेछ। सहभागी संस्थाहरूले एउटै वा फरक–फरक ब्याजदरमा एकभन्दा बढी बोलकबोल समेत गर्न सक्ने व्यवस्था गरिएको छ।
राष्ट्र बैंकले न्यूनतम १० करोड रुपैयाँदेखि बोलकबोल गर्न सकिने जनाएको छ। अधिकतम भने कुल आह्वान गरिएको ७० अर्ब रुपैयाँसम्म आवेदन दिन सकिनेछ, तर रकम ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी प्रस्ताव पेश गर्नुपर्नेछ। यो उपकरण नेपाल राष्ट्र बैंक बाहेक अन्य बैंक तथा वित्तीय संस्थामा समेत धितोका रूपमा प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ। बोलकबोल प्रक्रियामा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले मात्र सहभागिता जनाउन पाउनेछन्।
नेपालपत्र संवाददाता