काठमाडौं । नेपाल राष्ट्र बैंकले अपाङ्गता भएका व्यक्तिहरूलाई बैंकिङ तथा वित्तीय सेवामा सहज पहुँच सुनिश्चित गर्न बैंक तथा वित्तीय संस्थाहरूलाई विभिन्न व्यवस्था कार्यान्वयन गर्न निर्देशन दिएको छ।
राष्ट्र बैंकको वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाले सार्वजनिक गरेको ‘वित्तीय चेतनाकालागि’ सन्देश अनुसार एकीकृत निर्देशन, २०८१ को दफा ४ बमोजिम बैंक तथा वित्तीय संस्थाहरूले अपाङ्गतामैत्री बैंकिङ सेवाको व्यवस्था गर्नुपर्ने उल्लेख गरिएको छ।
निर्देशनअनुसार ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा साक्षर नभएका सेवाग्राहीलाई विशेष प्राथमिकतामा राखी सहज रूपमा वित्तीय सेवा उपलब्ध गराउनुपर्नेछ। यसका साथै एटीएम सेवामा दृष्टिविहीनमैत्री सुविधा विस्तार गर्न बैंकहरूलाई आग्रह गरिएको छ।
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई ब्रेल संकेत, स्पर्शमार्फत सञ्चालन गर्न मिल्ने बटन (ट्याक्टाइल फिचर) तथा अडियो सपोर्टयुक्त कम्तीमा एक एटीएम स्थापना गर्न निर्देशन दिएको छ। प्रत्येक प्रदेशमा कम्तीमा एक शाखा अपाङ्गतामैत्री बनाउनुपर्ने व्यवस्था पनि गरिएको छ।
त्यस्तै, अपाङ्गता भएका व्यक्तिले एटीएम, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङलगायत डिजिटल बैंकिङ सेवा सहज रूपमा प्रयोग गर्न सक्ने वातावरण तयार गर्न आवश्यक पूर्वाधार विकास गर्नुपर्ने उल्लेख छ। बैंकहरूले आफ्नो वेबसाइट र मोबाइल बैंकिङ एपलाई दृष्टिविहीन तथा अन्य अपाङ्गता भएका सेवाग्राहीले समेत प्रयोग गर्न सक्ने गरी विकास गर्नुपर्नेछ। राष्ट्र बैंकले डेबिट तथा क्रेडिट कार्डमा दृष्टिविहीनमैत्री ‘ट्याक्टाइल फिचर’ समावेश गर्नुपर्ने व्यवस्था समेत गरेको छ।
राष्ट्र बैंकका अनुसार यी व्यवस्थाले अपाङ्गता भएका व्यक्तिहरूको वित्तीय पहुँच विस्तार हुनुका साथै वित्तीय समावेशिता प्रवर्द्धन गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। बैंकिङ सेवा सबै नागरिकका लागि समान र पहुँचयोग्य बनाउने उद्देश्यले यस्ता प्रावधान कार्यान्वयनमा ल्याइएको राष्ट्र बैंकले जनाएको छ।
नेपालपत्र संवाददाता