ललितपुर । सहकारी विभागका रजिष्ट्रार बाबुराम गौतमले सहकारीको मुल्य, मान्यता र सिद्धान्त रटान गर्ने भन्दा पनि परिपालना आवश्यक रहेको बताएका छन् ।
सहकारी महासंघले आयोजना गरेको अन्तर्राष्ट्रिय सहकारी महिला सम्मेलनको समापन कार्यक्रममा बोल्दै उनले सिद्धान्तको परिपालनासँगै सदस्यको हितलाई प्राथमिकता दिएकै कारण महिला सहकारीहरुमा समस्या नआएको उल्लेख गरे । वित्तीय पारदर्शिता कायम गरी विधिसम्मत् सञ्चालन भए सहकारीमा समस्या नआउने उनको तर्क छ ।
स्वःनियमन र स्वः अनुशासनमा जति कमजोरी हुँदै गयो, त्यति नै नियामक हावी हुँदै जाने उनले प्रष्ट पारे । नियामक हावी हुँदै गएपछि सहकारीको मर्म मर्ने भएकाले इमादारिता र वित्तीय अनुशासनमा रहेर संस्था सञ्चालन गर्न उनले सबैलाई आग्रह गरे ।
सहकारी क्षेत्रमा बहुनियामक, क्षेत्र र सीमा निर्धारण, बचतको सुरक्षा र स्वार्थको द्वन्द्व जस्ता थुप्रै विषयमा आवाज उठिराखेको भन्दै उनले त्यसलाई सम्बोधन गर्न आवश्यक रहेको जनाए । सहकारी क्षेत्रमा चुनौती र अवसर दुबै रहेको भन्दै रजिष्ट्रार गौतमले यो क्षेत्रलाई दिगो रुपमा सञ्चालन गर्न तालिम शिक्षामार्फत् क्षमता विकास गरेर जानुपर्नेमा जोड दिए ।
गलत गर्नेलाई दण्डित गर्ने र राम्रा सहकारीलाई प्रवर्धन गर्ने काम नियामकको भएको उनले बताए । इमानदारिता र पारदर्शिता अरुलाई देखाउने विषय भन्दा पनि व्यवहारिकरुपमा लागु गर्न उनको आग्रह छ । सहकारी क्षेत्रमा सुधार आफैंबाट गर्न आवश्यक रहेको भन्दै उनले अरुलाई दोष लगाएर उन्मूक्ति नपाइने जनाए ।
विभागले राम्रा नराम्रा सबै सहकारीलाई हेर्नुपर्ने कानूनी बाध्यता रहेको र एक जना सदस्य मात्रै पीडित हुँदा समेत अभियानको गरिमा माथि नै आँच आउने उनको भनाई छ । अहिले सहकारीका कारण लाखौं सदस्य पीडित बनेकाले विश्वासको वातावरण गुमेको उनले बताए । सहकारी क्षेत्रमा जागरण र क्षमता विकाससँगै अब शुद्धीकरणको अभियान चाल्न आवश्यक रहेको उनले उल्लेख गरे । यो बर्षलाई सदस्य पहिचान बर्षको रुपमा लैजाने भन्दै आ–आफ्नो संस्थामा आवद्ध सदस्यहरुको सही पहिचान गर्न उनको सुझाव छ । जहाँ वित्तीय कारोबार हुन्छ , त्यहाँ बदमासी हनु सक्ने भन्दै उनले सहकारीलाई कानूनले बाँध्न आवश्यक रहेको जनाए ।
सहकारीले महिला सशक्तिकरणमा जोड दिँदै नेतृत्वमा स्थापित गर्ने सामुहिक यात्रा पुरा गर्न सो सम्मेलन माइलस्टोन भएको उनले बताए । सम्मेलनले सहकारी क्षेत्रलाई अझ उचाईमा पु¥याउन टेवा पुग्ने उनले विश्वास व्यक्त गरे । महिला सहकारीमा कुनै समस्या नआउनु सकरात्मक पक्ष भएको भन्दै रजिष्ट्रार गौतमले ‘लिगल फ्रेमवर्क’ मा नै महिलाले सहकारी संस्थाको नेतृत्व गर्ने प्रणालीको विकास गर्नुपर्ने उनले सुझाए ।
नेपालपत्र संवाददाता