शुक्रबार, कार्तिक ७ गते २०८३

११ बुँदे घोषणापत्र जारी गर्दै सकियाे अन्तर्राष्ट्रिय सहकारी महिला सम्मेलन


आषाढ ७, २०८३ आइतबार
११ बुँदे घोषणापत्र जारी गर्दै सकियाे अन्तर्राष्ट्रिय सहकारी महिला सम्मेलन
 
ललितपुर । राष्ट्रिय सहकारी महासंघले आयोजना गरेको अन्तर्राष्ट्रिय सहकारी महिला सम्मेलन ११ बुँदे काठमाडौँ घोषणा पत्र जारी गर्दै सम्पन्न भएको छ । महासंघले भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सहयोगमा ललितपुरमा आयोजना गरेको दुई दिने सम्मेलन आज सम्पन्न भएको हो ।

महासंघका कार्यवाहक अध्यक्ष रमेश प्रसाद पोखरेलको अध्यक्षतामा आयोजित समापन कार्यक्रममा उपाध्यक्ष खेम बहादुर पाठकले ११ बुँदे घोषणापत्र वाचन गरेर सुनाएका हुन् । कार्यक्रममा महासंघको पूर्व अध्यक्षद्वय केशव प्रसाद बडाल र मिनराज कडेलको समेत उपस्थिति रहेको थियो । साथै, संघीय सहकारी विभागका रजिष्ट्रार बाबुराम गौतम र राष्ट्रिय योजना आयोगकी पूर्व सदस्य डा. बिमला पौडेलको आतिथ्य रहेको थियो ।

सम्मेलनमा स्वदेश तथा विदेशका महिला सहकारी अभियानकर्मी, सरकारी निकाय, विभिन्न संघ/संस्थाका प्रतिनिधि, विकास साझेदार, महिला उद्यमी र अनुसन्धानकर्ताहरुको उत्साहजनक सहभागिता रहेको थियो ।

सहभागीहरुले घोषणापत्रमार्फत सहकारी क्षेत्रमा लैंगिक उत्तरदायी नीति निर्माण गर्ने, महिला सशक्तीकरण गर्ने र लैंगिक समानता कायम गर्दै दिगो विकास हासिल गर्ने सामूहिक प्रतिबद्धता जनाएका हुन् । घोषणापत्रमा सहकारीका उच्च व्यवस्थापकीय तह र समितिहरुमा महिलाको निर्णायक भूमिका सुनिश्चित गर्न नीतिगत सुधार गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।

यस्तै दिगो कृषि र खाद्य सुरक्षाका लागि महिला किसानहरुको भूमि, प्राकृतिक स्रोत र उत्पादनका साधनमा कानुनी तथा व्यावहारिक स्वामित्व स्थापित गर्न पैरवी गर्ने निर्णय सम्मेलनले गरेको छ । महिला उद्यमीहरुको दक्षता बढाउन स्थानीय तहसम्म डिजिटल कारोबार र उन्नत वित्तीय साक्षरताका कार्यक्रम लैजाने तथा युवा सहभागिता बढाउन विशेष जोड दिइने घोषणापत्रमा उल्लेख छ ।

यसैगरी, सहकारीद्वारा उत्पादित सामग्रीको गुणस्तर वृद्धि, ब्रान्डिङ र प्याकेजिङ गरी अन्तर्राष्ट्रिय बजार श्रृङ्खलामा सिधा पहुँच पुर्याउन सरकारी–सहकारी–निजी साझेदारी मोडललाई प्रवद्र्धन गरिने उल्लेख छ । राज्यका तीनै तहका सरकार र सहकारी संस्थाहरुका योजनालाई लैंगिक उत्तरदायी बनाउँदै महिला लक्षित कार्यक्रममा विशेष बजेट ल्याउन वकालत गर्ने सहभागीहरुले वचनवद्धता गरेका छन् । त्यसैगरी जलवायु परिवर्तनको मारमा परेका महिला किसानको उत्थानशीलताका लागि पर्यावरणमैत्री र प्राङ्गारिक खेती प्रणालीलाई प्रोत्साहन गरिने प्रतिबद्धता पत्रमा समेटिएको छ।  

महिलाहरुको परम्परागत सीपलाई आधुनिक व्यवसायमा रुपान्तरण गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकायहरुसंग समन्वय गरेर विशिष्टीकृत तालिम दिने र उनीहरुको सामाजिक सुरक्षा, प्रजनन स्वास्थ्य तथा मानसिक स्वास्थ्यको अधिकार रक्षाका लागि एकीकृत रुपमा अघि बढ्ने घोषणा गरिएको छ। संयुक्त राष्ट्र संघले सन् २०२६ लाई अन्तर्राष्ट्रिय महिला किसान वर्ष घोषणा गरेको सन्दर्भमा यो सम्मेलनले विश्वभरका महिला किसान र सहकारीकर्मीहरूबीच प्रविधि र ज्ञान हस्तान्तरणका लागि सहकार्य सबल बनाउने संकल्प गरेको छ ।

दिगो विकास लक्ष्य प्राप्तिका लागि सरकार र विकास साझेदारहरुसँग मिलेर काम गर्ने प्रतिबद्धता समेत जनाइएको छ । घोषणापत्रमार्फत हाल सहकारी क्षेत्रमा देखिएका समस्याहरू प्रति पनि गम्भीर चासो व्यक्त गरिएको छ। समस्याग्रस्त सहकारीहरुबाट सर्वसाधारण सदस्यहरूको बचत सुरक्षित रुपमा फिर्ता पाउनुपर्ने र ऋण असुलीका लागि सरोकारवालाहरुले तदारुकता देखाउनुपर्ने जोडदार माग गरिएको छ ।

यसैगरी अन्त्यमा महिला उद्यमीका उत्पादनहरुको प्रशोधन, बजारीकरण र उपभोगमा प्राथमिकता दिँदै तीनै तहका सरकार समक्ष न्यून कर र अनुदान उपलब्ध गराउन विशेष पहल गर्ने निर्णयका साथ सम्मेलन समापन भएको छ । महासंघले सहकारी क्षेत्रमा संलग्न महिला किसानहरुको योगदान र प्रभावलाई उजागर गर्ने मूल उद्देश्यले असार ६ र ७ गते ‘नेतृत्वमा नारी : समृद्धिमा सहकारी’ भन्ने नारासहित सम्मेलन आयोजना गरेको हो ।