शुक्रबार, कार्तिक ७ गते २०८३

मैत्रीय साकोसको कुल वासलात ३५ करोड १९ लाख

मंसिर १५, २०७८ बुधबार
मैत्रीय साकोसको कुल वासलात ३५ करोड १९ लाख

 

भक्तपुरको बालकोटमा रहेको मैत्रीय बचत तथा ऋण सहकारी संस्थाले सहकारीहरुबीचको अस्वस्थ प्रतिस्पर्धाबाट टाढिँदै सहकारी ऐन नियमलाई पालना गर्दै संस्थागत सुशासनमा रहेर सदस्यहरुको आर्थिक सशक्तिकरणका लागि काम गर्दै आएको जनाएको छ । संस्थाको हालै सम्पन्न १४औं वार्षिक साधारणसभामा बोल्दै अध्यक्ष बालमुकुन्द उपाध्यायले सो कुरा बताएका हुन् ।  

मुलुकको गरिबी न्यूनिकरण र समग्र आर्थिकसामाजिक विकासमा सहकारीको योगदान बढ्दै गएको भएपनि सहकारी क्षेत्रको विकास र प्रवद्र्धनका लागि सहकारी ऐनमा रहेका केहि प्रावधानलाई संशोधन गर्नुपर्ने उनले बताए । संस्थाले सदस्यहरुको सहभागितामूलक सक्रिय सहभागितको अपेक्षा गरेको र सदस्यहरुकै सहभागिताले सबल र उत्कृष्ट संस्था बन्नेमा आफु विश्वस्त रहेको उनले बताए । 

त्यसैगरी सचिव सुमन सिलवालले आर्थिक वर्ष २०७७।७८ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाले सदस्यहरुलाई कोभिड १९ ब्याज सहुलियत, सदस्य राहत कार्यक्रम, बर्थडेमा केक उपहार जस्ता थुप्रै सुविधा सदस्यलाई प्रदान गर्दै आएको बताउ । चालु आ.व.मा शेयर पुँजी ३ करोड बचत संकलन ३० करोड र ऋण लगानी २९ करोड पुर्‍याउने लक्ष्य राखिएको उनले बताए । त्यसैगरी ऋण लगानी वृद्धि गर्न सुलभ र सहुलियत ब्याजदर कायम गरी लगानीका नयाँ क्षेत्र पहिचान गरिने, कर्मचारीको क्षमता अभिवृद्धिका लागि उत्प्रेरणात्मक भ्रमण र तालिमको व्यवस्था मिलाउने र ऋणको किस्ता एवं ब्याज समयमै बुझाउने ऋणी सदस्यलाई उत्प्रेरणा जगाउने नीति लिइने उनले जानकारी दिए । 

संस्थका कोषाध्यक्ष दिवाकर सिलवालले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै गत असार मसान्तसम्म शेयरपुँजी २ करोड ७२ लाख, बचत संकलन २८ करोड ७८ लाख, जगेडा कोषमा ८० लाख र अन्य कोषमा २ करोड ३३ लाख रहेको छ भने ऋण लगानी २५ करोड ४९ लाख रहेको जानकारी दिए । असार मसान्तसम्म संस्थाको कुल वासलात ३५ करोड १९ लाख पुगेको छ ।